काठमाण्डौ । सेयर बजारमा सोमबार दोहोरो अंकको पहिरो गएको छ। 

बजार आज ४८.७३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २३०७.४४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.४५ अंकले घटेर ४४१.७९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम डेढ अर्ब रुपैयाँको हाराहारीमा सीमित बनेको छ। 

बजार जानकार मुक्ति अर्याल जेठमा ब्याजदर बढ्ने हल्लाले आज बजार घटेको बताउँछन्। ‘अन्य कारण केही पनि छैन, ब्याजदर बढ्ने हल्लाले बजारमा प्यानिक सेल आएको देखिन्छ’, उनले भने। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी लगानीकर्ताहरु चुनावमा केन्द्रित हुँदा बजार प्रभावित बनेको बताउँछिन्। ‘चुनावी महौल तातेको छ, अब चुनावपछि बजार बाउन्स हुन सक्छ’, उनले भनिन्। तरलता अझै सहज नभएका कारण बजार प्रभावित बनेको तिवारीको भनाइ छ। ‘चुनावपछि तरलता सहज हुने अवस्था आउन सक्छ’, उनले भनिन्।

प्राविधिक रुपमा २२६० देखि २२८० को विन्दुमा विगतमा बजार बाउन्स भएकोले खरिदकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बुझ्न सकिने तिवारी बताउँछिन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.७ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ३.५८ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०३ प्रतिशत, व्यापार समूहमा १.४१ प्रतिशत, विकास बैंक समूहमा ३.०८ प्रतिशत, वित्त समूहमा ४.२४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.०४ प्रतिशत, अन्य समूहमा ३.३८ प्रतिशत, लघुवित्त समूहमा १.४५ प्रतिशत, जीवन बीमा समूहमा २.७२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६३ प्रतिशत र लगानी समूहमा २.२३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ३९ लाख ७८ हजार ७९ कित्ता सेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४ करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ४ करोड २५ लाख रुपैयाँ, नेपाल फाइनान्सको ४ करोड ५ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको ३ करोड ७४ लाख रुपैयाँ, निफ्राको ३ करोड ७२ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ६० लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड २९ लाख रुपैयाँ, अपी पावरको २ करोड ७९ लाख रुपैयाँ र अप्पर तामाकोशीको २ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यो दिन नेपाल फाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ। युनियन हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।