– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीहरुमध्ये माउन्टेन इनर्जी पनि एउटा हो। यो कम्पनीको रन अफ द रिभर मेडेलमा निर्माण भएको जलविद्युत आयोजना पोखराबाट १०० किलोमिटर उत्तरपश्चिम म्याग्दी जिल्लामा रहेको छ।

सन् २०१७ मा निर्माण सुरु भएको यो आयोजनाबाट उत्पादित विद्युत २०७८ को आसारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। यो कम्पनीले हालसम्म ४२ मेगावटको मिस्त्री खोला प्रोजेक्ट र ५ मेगावटको टाडी खोला प्रोजेक्ट सम्पन्न गरिसकेको छ भने १२ मेगावटको मिस्त्री खोला २ निर्माण प्रक्रियामा रहेको छ। 

आधारभूत पक्ष

कम्पनीको चुक्तापुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अन अर्निङ गत वर्षभन्दा दोब्बरले बढेर ३४ करोड ४४ लाख रुपैयाँबाट ८२ करोड ८९ लाख रुपैयाँ पुगेको छ। हाल कम्पनीको प्रतिसेयर आम्दानी २१.७० रुपैयाँ रहेको छ। यस हिसाबले कम्पनीको मूल्य आम्दानी अनुपात ४१.५२ गुणा रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १४२.१२ रुपैयाँ रहेको छ। दोस्रो बजारमा यो कम्पनीको ९०१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्राविधिक पक्ष 

इलिअट वेभका आधारमा

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जाने ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

यो कम्पनीले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल माइनर डिग्रीको वेभ सी चलेको देखिन्छ। यो भनेको कम्पनीको सेयरमूल्यमा करेक्सन चल्दै गरेको भन्ने हो। जसलाई फिवोनासीमा जोडेर हेर्दा ०.६१ प्रतिशतसम्म हुन सक्ने भएकोले यो कम्पनीको सेयर अल्पकालका लागि अझै करेक्नस हुन सक्ने र सेयरमूल्य ८०० रुपैयाँसम्म आउन सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। 

यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा १२४९ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा १०७३ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ९३४ रुपैयाँसम्म तथा ०.६१ प्रतिशतको टेवामा ८०० रुपैयाँसम्म हुन सक्ने देखिन्छ।

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। 

यो लाइनलाई आधार मान्ने हो भने केही गत २ मेमा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियरिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियरिस सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम नेगेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरमूल्यमा करेक्स हुन सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। 

यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ र इन्भर्टेड ह्यम्मर क्यान्डल बनेको छ। यसले अल्पकालका लागि सेयरमूल्यमा केही बढोत्तरीको सम्भावना देखिन्छ। 

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। 

यस कम्पनीको हालको आरएसआई ३० रहेको छ। यो भनेको ओभरसोल्ड जोनमा रहेको छ भन्ने हो। अघिल्लो पटक यो न्यून  विन्दु ३१ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ६८ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १०८३
  • प्रतिरोध २– ११३६
  • प्रतिरोध ३– ११९८

पिभट प्वइन्ट :  १०२१

घटेमा सपोर्ट 

  • सपोर्ट १– ९६८
  • सपोर्ट २– ९०६
  • सपोर्ट ३– ८५३

निष्कर्ष

आधारभूत रुपमा बलियो देखिएको माउन्टेन इनर्जीको सेयरमूल्य पछिल्लो समय लगभग ५० प्रतिशतले डाउन देखिएको छ। विभिन्न दीर्घकालीन औजारमार्फत हेर्दा इलिअट वेभअन्तर्गत वेभ सी चलेको देखिन्छ। यो भनेको करेक्सन लगभग सकिएको भन्ने हो। फिवोनासीमार्फत हेर्दा यस्तो करेक्सन ०.६१ सम्म हुन सक्ने भएकोले यो कम्पनीको सेयरभाउ अझै करेक्सन भएर एकपटक ८०० रुपैयाँसम्म आउन सक्छ। बोलिंगर ब्यान्ड र क्यान्डल स्टिकमार्फत हेर्दा अल्पकालका लागि एकपटक मध्यब्यान्डसम्म छुने गरी बढोत्तरी हुन सक्ने देखिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।