काठमाण्डौ । सेयर बजारको लगातारको गिरावटमा ब्रेक लागेको छ।
धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार १७.९५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २२५६.५७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.८० अंकले बढेर ४३६.३५ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ।
स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्की ब्याजदर बढ्छ भन्ने गभर्नरको पछिल्लो अभिव्यक्तिले बजारलाई प्रभाव पारेको बताउँछन्। ‘तर, बजार धेरै नै घटिसकेको थियो, आज २२०० को बटमबाट फर्केको छ’, उनले भने, ‘बजारमा कम्पनीहरुका सेयरमूल्य धेरै नै तल आइसकेकाले आज खरिदचाप देखिएको छ।’
सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला प्राविधिक रुपमा २२०० विन्दुको सपोर्ट लिएर बजार फर्किएको बताउँछन्। ‘बजारले लगभग बटम बनाएको देखिन्छ’, उनले भने, ‘त्यसैले बजार बाउन्स हुने आशा गर्न सकिन्छ।’
निर्वाचन पनि नजिकिएसँगै त्यसको सकारात्मक प्रभाव पनि परेको हुन सक्ने बास्तोला बताउँछन्। ‘अहिले लगानीकर्ताहरुको मनोबल गिरेकाले सरकारका साथै नियामक निकायहरूले मनोबल वृद्धि गर्न नीतिगत सुधार आवश्यक छ’, उनले भने, ‘बजेटमा पनि पुँजीबजारलाई प्राथमिकतामा राख्न आवश्यक छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ । यो दिन एउटा समूहमा रातो पोतिएको छ भने एउटा समूह स्थिर रहेको छ।
यो दिन वित्त समूह सर्वाधिक ३.३५ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह २.८४ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.२४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.५ प्रतिशत, जलविद्युत समूहमा २.७१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२२ प्रतिशत, अन्य समूहमा २.११ प्रतिशत, जीवन बीमा समूहमा ०.३३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४६ प्रतिशत र लगानी समूहमा २.०५ प्रतिशतको बढोत्तरी भएको छ।
आज बैंकिङ समूहमा ०.१७ प्रतिशतको गिरावट आएको छ भने लघुवित्त समूह स्थिर रहेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ३३ लाख ४१ हजार २१४ कित्ता सेयर १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नागरिक लगानी कोषको सर्वाधिक ७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४ करोड ६० लाख रुपैयाँबराबरको नबिल बैंकको ४ करोड १५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ६७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ५८ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड २७ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको संस्थापक सेयरको ३ करोड १९ लाख रुपैयाँ, एनएमबि बैंकको संस्थापक सेयरको २ करोड ६९ लाख रुपैयाँ, निफ्राको २ करोड ६२ लाख रुपैयाँ र छिमेक लघुवित्तको २ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
आज उन्नति सहकार्य लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago