– अनन्त्य सुन्दर

काठमाण्डौ । सेयर बजारका ३२ वर्षीय सक्रिय लगानीकर्ता प्रकाश तिवारी हाल सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। 

कांग्रेसका प्रदेश सभापतिसमेत रहेका तिवारी निकट प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङलाई पराजित गर्दै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्। नेपाली सेयर बजार बुझेको र कहलिएका लगानीकर्तामध्येका एक तिवारी ह्याथवे फाइनान्स कम्पनी र रेडिसन होटेलका निर्देशकसमेत रहेका छन्। अन्तर्राष्ट्रियस्तरको कलेजबाट एमबीए गरेका तिवारीसँग बजारमा लगानीकर्ताले लगानी गर्नुअघि लगानी रणनीतिबारे सुझावका साथै सरसल्लाहसमेत लिने गरेका छन्।

तिवारी गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँका आमनागरिकलाई पुँजीबजारमा कनेक्ट गर्नका लागि आवश्यक गृहकार्य गर्ने बताउँछन्। ‘अहिले धेरै दाजुभाइ दिदीबहिनी विभिन्न सिलसिलामा विदेशमा रहनुभएको छ’, तिवारी भन्छन्, ‘उहाँहरुले पठाएको पुँजीको उचित परिचालन नभएको देखिन्छ। त्यसैले आवश्यक संयन्त्र बनाएर उक्त पुँजीको सही परिचालन गर्न आवश्यक छ।’ 

‘उक्त पुँजी परिचालन गर्नका लागि गाउँपालिकाले लगानी गर्नका लागि आवश्यक संयन्त्र बनाई गाउँपालिकाले आफ्नै इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गर्न आवश्यक छ’, तिवारीले भने, ‘अहिले धेरै मानिस सेयर बजारमा जोडिनुभएको छ। तर, लगानीकर्तामा सेयर बजारमा लगानी गर्दा आवश्यक हुने ज्ञानका साथै सचेतना नभएको देखिन्छ। त्यसैले गाउँपालिका कार्यालयमा नै सेयर बजारबारे सल्लाह साथै सुझाव दिने उद्देश्यका साथ छुट्टै निकाय खडा गर्ने योजना छ।’

वित्तीय साक्षरता कमी भएकाले कक्षा ८, ९, १०, ११ र १२ को स्थानीय तहले निर्धारण गर्ने पाठ्यक्रममा वित्तीय साक्षरता समावेश गरिने तिवारीले बताए। ‘त्यसका लागि आवश्यक गृहकार्य भइसकेको छ’, उनले भने।