काठमाण्डौ । सेयर बजारमा सोमबार भारी गिरावट आएको छ।
आज बजारमा ७७.०१ अंकको पहिरो गएको हो। योसँगै नेप्से परिसूचक १९१५.६१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १३.०३ अंकले घटेर ३६६.८६ को विन्दुमा ओर्लेको छ। कारोबार सवा २ अर्ब रुपैयाँ बढीको भएको छ।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला गभर्नरकै बोलीका कारण बजार घटेको बताउँछन्। ‘यसमा केही खेलाडीले पनि खेलेको देखिन्छ’, उनले भने, ‘नियम बनाउनेले नै लगानीकर्ता त्रर्साएका छन्। त्यसैले लगानीकर्ताले आत्तिएर सेयर बेचेको देखिन्छ।’
धितोपत्र बोर्डको धितोपत्र व्यवसायी नियमावलीमा भएको संशोधन ब्रोकरहरुको असहमति र लबिङले पनि बजार घट्नुको कारण बनेको बास्तोला बताउँछन्। नियामक निकायले नै वित्तीय क्षेत्रमा आतंक मच्चाएको उनको भनाइ छ।
सक्रिय लगानीकर्ता महेश रिजाल गभर्नरको नेगेटिभ रोलमा केही नेताको भाषणले पनि लगानीकर्ता त्रसित बनेको बताउँछन्। ‘अहिले ब्रोकरहरुको पनि नकारात्मक भूमिका देखिएको छ’, उनले भने, ‘असार मसान्तको प्रभाव पनि बजारमा परेको छ।’
भोलिको कारोबारले पनि बजारको आगामी दिनको यात्रा तय गर्न सक्ने रिजाल बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक ५.७८ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ५.७३ प्रतिशतले घट्दा बैंकिङ समूहमा २.७७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.१८ प्रतिशत, विकास बैंक समूहमा ४.४५ प्रतिशत, जलविद्युत समूहमा ५.१९ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.३१ प्रतिशत, अन्य समूहमा ४.७४ प्रतिशत, लघुवित्त समूहमा ४.३ प्रतिशत, जीवन बीमा समूहमा ४.५४ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.४४ प्रतिशत र लगानी समूहमा ४.३१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ६३ लाख १३ हजार ६४१ कित्ता सेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ११ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ८ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको आज अप्पर तामाकोशीको ८ करोड ४१ लाख रुपैयाँ, एसिएन लाइफ इन्स्योरेन्सको ८ करोड १७ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५१ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ५० लाख रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ९६ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ५८ लाख रुपैयाँ, युनाइटेड इदी मर्दीको ५ करोड ४८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सोल्टी होटेलका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ०.५१ प्रतिशतले उकालो लागेको छ।
यो दिन ग्रामीण विकास लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लाग्यो। किसान लघुवित्त, हिमालयन पावर पार्टनर र माउन्टेन हाइड्रोको सेयरभाउ पनि ९ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago