काठमाण्डौ । लगातार ओरालो लागिरहेको सेयर बजार मंगलबार उकालो लागेको छ। 

बजार आज २१.३० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३४.०४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.८३ अंकले बढेर ३७६.१७ को विन्दुमा पुगेको छ। कारोबार रकम ९२ करोड रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार तल्लो विन्दुबाट फर्केको बताउँछन्। ‘यसले घट्ने क्रम रोकिएको संकेत गर्छ’, उनले भने। 

चालु आर्थिक वर्षमा नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकर लाइसेन्स वितरण हुने सकारात्मक विषय पनि रहेको ढकालले बताए। ‘यसले व्यवसायी बढ्ने नै हो’, उनले भने। 

अब चुनाव पनि आउँदै गरेकोले सरकार, उम्मेदवार र सरोकारवाला सबैले खर्च गर्ने हुँदा तरलता पनि सहज हुने ढकालको भनाइ छ। ‘बैंकको बेस रेट पनि घट्ने हुँदा ब्याजदर बढ्ने सम्भावना छैन’, उनले भने, ‘त्यसैले सेयर बजार भविष्य सुनौलो रहेको छ।’

सक्रिय लगानीकर्ता निमानन्द कँडेल बजार धेरै दिनदेखि घटेकोले आज बढेको बताउँछन्। ‘आज नेसनल लाइफ इन्स्योरेन्सले राम्रै लाभांश घोषणा गरेका कारण पनि लगानीकर्ताहरुको मनोबल बढेको छ’, उनले भने, ‘उनीहरुले बैंकमा पैसा राख्नुभन्दा अहिले सेयर बजारमा लगानी गर्नु उचित हुने ठानेको महसुस भएको छ।’

लाभांशको सिजन सुरु भएकोले पनि बजार अब विस्तार माथि लाग्ने कँडेलको भनाइ छ। ‘केही लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा बस्दा भोलुम बढ्न नसकेको हो’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन वित्त समूह सर्वाधिक २.१३ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.८७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.८४ प्रतिशत, व्यापार समूहमा १.५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.१६ प्रतिशत, विकास बैंक समूहमा १.७५ प्रतिशत, जलविद्युत समूहमा ०.९७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७५ प्रतिशत, अन्य समूहमा १.१५ प्रतिशत, लघुवित्त समूहमा १.२४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७६ प्रतिशत र लगानी समूहमा १.५७ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार ४१० रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नबिल बैंकको सर्वाधिक ५ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ५ करोड ६३ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३ करोड ८४ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ७३ लाख रुपैयाँ, अपी पावरको २ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड १६ लाख रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको १ करोड ८२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १ करोड ६८ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ५९ लाख रुपैयाँ र नेपाल टेलिकमको १ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज बोटलर्स नेपाल (बालाजु)का सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ।