– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालकै इतिहासमा पहिलोपटक संघीय संसदमा सेयर बजारमा फुलटाइमरका रुपमा सक्रिय रहेका एक लगानीकर्ता प्रवेश गरेका छन्। ती लगानीकर्ता हुन्, हरि ढकाल। 

ढकाल लामो समयदेखि सेयर बजारमा सक्रिय रुपमा कारोबार गर्दै आइरहेका छन्। सेयर बजारको विकास र विस्तारका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरु नेतृत्व गरेका व्यक्ति हुन्, ढकाल। 

ढकाल पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न)मा आबद्ध छन्। यही पार्टीबाट ढकालले चितवन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई भारी मतान्तरले पछि पार्दै विजयी भए।

ढकालले आज संघीय संसदमा प्रतिनिधिसभा सदस्यका रुपमा सपथ ग्रहण गरेका छन्। 

ढकालको संसदमा प्रवेशलाई लिएर लगानीकर्ताहरुले निकै चासोका साथ हरेका छन्। पछिल्लो समय पुँजीबजारमा देखिएका विकृति र विसंगति पन्छाउन ढकालले पहल गर्ने आशा उनीहरुमा छ। 

बिजशालासँगको कुराकानीका क्रममा ढकालले संसदमा पुँजीबजाका मुद्दाहरु सशक्त ढंगले उठाउने बताए। ‘पुँजीबजारका बेथितिका विषयमा मलाई राम्रै जानकारी छ, पटक–पटक सडक आन्दोलनमा होमिएको पनि हुँ’, उनले भने, ‘अहिले संसदमा पुगेको छु, अब यहाँबाट पुँजीबजारको विकास र वितारका साथ आवाज उठाउनेछु।’ 

आन्दोलनकै क्रममा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडालाई पुँजीबजार सुधारका लागि ५८ बुँदे मागसहितको ज्ञापनपत्र आफूले नै बुझाएको ढकालले दाबी गरे। ‘तर, अहिलेसम्म पनि ती सबै मागहरु पूर्ण रुपमा पूरा भएका छैनन्’, उनले भने, ‘पूरा हुन बाँकी माग कार्यान्वयनमा ल्याउन अब संसदबाट आवाज उठाउनेछु।’

नेपालको पुँजीबजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आफ्नो ठाउँमा पहल गर्ने पनि ढकालले बताए। 

नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार ढकालको संसद प्रवेशले लगानीकर्तामा आशा जागेको बताउँछन्। ‘ढकाल पनि पूर्ण रुपमा बजारमै लागेका मान्छे हुन्, उनकै नेतृत्वमा पटकपटक पुँजीबजार सुधारका लागि आन्दोलनहरु पनि भए’, उनले भने, ‘अहिले उनी संसदमा पुगेका छन्, लगानीकर्तालाई आशा छ कि अब उनले पुँजीबजारको विकास र सुदृढीकरणका लागि ठूलो भूमिका खेल्नेछन्।’

ढकालले पुँजीबजार सुधारका लागि गरेका आन्दोलनकै कारण प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहज जित निकाल्न सकेको रौनियारले बताए। ‘अब पुँजीबजारको स्थायित्वका लागि आन्दोलन होइन उनले नीति निर्माण अहम भूमिका निर्वाह गर्नुपर्छ’, रौनियारले सुझाव दिँदै भने, ‘लगानीकर्ताको हकहित र वृत्ति विकासका लागि ढकाल लाग्नुपर्छ। किनकि पुँजीबजार भनेको देशकै मेरुदण्ड हो। ५४ लाख लगानीकर्ताको भविष्य जोडिएको छ।’