काठमाण्डौ । सीडीएससीले एकीकृत कारोबारका लागि प्रभु बैंक र ग्लोबल आईएमई बैंकले बैंकिङ सेवा बन्द गर्दा सेयर बजारको सेटलमेन्ट प्रभावित हुने भएपछि बैंकहरुलाई छलफलमा डाकेको छ। 

धितोपत्र बजारमा सेटलमेन्ट बैंकको रुपमा काम गरिरहेका प्रभु बैक र ग्लोबल आईएमई बैंंकले बैंकिङ सेवा एकीकृत कारोबारका लागि डाटा माइग्रेसन गर्न बैंकिङ सेवा बन्द गर्न लागेका हुन्। प्रभु र ग्लोबल आइएमईसँगै सिद्धार्थ बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक गरी चारवटा बैंकले क्लियरिङ बैंकको काम गर्दै आएका छन्।

डाटा माइग्रेसनका लागि बैंकिङ सेवा बन्द गर्दा सेयर कारोबारको सेटलमेन्ट प्रभावित हुने भएपछि प्रभु बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई समस्या निराकरणका लागि विकल्प निकाल्न छलफलका लागि डाकिएको सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले बताए। 

कारोबारको राफसाफमा समस्या आउन सक्ने देखिएपछि ती बैंकलाई आज छलफलमा डाकिएको आचार्यले बताए। ‘ब्रोकरको खाता तिनै बैंकमा रहेकोले आइतबार र सोमबार राफसाफमा समस्या आउन सक्छ’, उनले भने, ‘डाटा माइग्रेसनकै कारण बैंकिङ सेवा बन्द हुँदा सेयर बजारको कारोबार प्रभावित हुन नदिन बैकल्पिक व्यवस्था गर्न छलफल केन्द्रित हुनेछ’, उनले भने। 

बैंक अफ काठमाण्डूसँग मर्जर प्रक्रिया पूरा गरी ग्लोबल आईएमई बैंकले भोलि सोमबारबाट एकीकृत कारोबार सुरु गर्दैछ। यसका लागि बैंकले आइतबार बैंकिङ कारोबार बन्द गरेको छ । 

उता सेञ्चुरी बैंकलाई गाभेको प्रभु बैंकले एकीकृत कारोबारका लागि डाटा माइग्रेसन गर्न मंगलबार बिहानसम्म सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने जनाएको छ।