आज बजार ४.९७ अंकले बढेर २११६.६५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्समा ०.५३ अंकले बढेर ४०१.१६ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजो तुलनामा घटेर पौने २ अर्ब रुपैयाँ बढीको भएको छ।
शाइन रेसुंगा डेलभपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा लगानीकर्ता अन्यौलमा पर्दा बजारले गति लिन नसकेको बताउँछन्। ‘लगानीकर्तामा सरकारमा फेरबदल हुने आशंका बढेको देखिन्छ’, उनले भने, ‘तर, सरकारकै कारण बजारमा ठूलो प्रभाव पर्दैन।’
बिष्टले आउँदो चैतसम्ममा बजार २५०० माथि नै पुग्ने बताउँछन्। ‘किनकि हाल बैंकिङ प्रणालीमा २०० अर्बभन्दा बढी अधिक तरलता जम्मा हुँदैछ’, उनले भने, ‘फागुनदेखि बैंकहरुले होम लोन, अटो लोनलगायतका लागि मार्केटिङ गर्नेछन्।’
बजार जानकार दामोदर गजुरेल पनि राजनीतिक कारणले नै लगानीकर्ता अन्यौलमा रहेको बताउँछन्। ‘आज किन्ने र बेच्ने दुवै आक्रामक नहुँदा बजारमा खासै ठूलो उतारचढाव हुन सकेन’, उनले भने, ‘प्राविधिक रुपमा पनि बजारको २०८० देखि २१०० को विन्दुसम्म बलियो सपोर्ट देखिन्छ र बजारले बटम टेस्ट गर्दै गरेको देखिन्छ।’
अहिलेको अवस्थालाई बजार शक्ति सञ्चय तथा एक्युमुलेसन गर्दै गरेको पनि भने बुझ्न सकिने गजुरेको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.५६ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूहमा १.२४ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०५ प्रतिशत, वित्त समूहमा ०.५५ प्रतिशत, जलविद्युत समूहमा ०.१४ प्रतिशत, जीवन बीमा मसूहमा ०.८१ प्रतिशत, उत्पादन तथा प्रशासन समूहमा ०.५५ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.२२ प्रतिशतको बढोत्तरी भएको छ।
आज लगानी समूह सर्वाधिक ०.५४ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह ०.३३ प्रतिशतले घट्दा म्युचुअल फन्ड समूहमा ०.३२ प्रतिशत, अन्य समूहमा ०.०८ प्रतिशत र व्यापार समूहमा ०.१६ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६१ कम्पनीका ५० लाख २४ हजार ३८१ कित्ता सेयर १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल बैंकको सर्वाधिक ५ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ४ करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ४ करोड ७६ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ३९ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ करोड ६ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ९८ लाख रुपैयाँ, अपी पावरको ३ करोड ९४ लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावरको ३ करोड ९१ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ८७ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ३ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज आदर्श लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन सगरमाथा इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19