काठमाण्डौ । तीव्र उतारचढावबीच साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले उकालो लागेको छ।
आज बजार ४.५५ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०२७.१९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२८ अंकले घटेर ३८४.०८ को विन्दुमा झरेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार मुक्ति अर्याल राजनीतिक घटनाक्रम र राष्ट्र बैंकले ल्याएको लघुवित्तसम्बन्धी निर्देशनले आज पनि बजारमा दिनभर बिक्रीचाप परेको बताउँछन्। ‘अन्तिम समयमा खरिद चाप बढ्दा बजार सकारात्मक भएर बन्द भएको हो’, उनले भने।
केही लघुवित्त कम्पनीहरुको सेयरभाउ दुई दिनमा २० प्रतिशतसम्म घटेको उल्लेख गर्दै अर्यालले ती लघुवित्तको सेयर खरिद गरेका लगानीकर्ताले आजै १५ प्रतिशतभन्दा बढी नाफा कमाउन सफल भएको बताए। ‘अब राष्ट्रपतिको चुनावसम्म बजार ठूलो उतारचढाव नआउन सक्छ’, उनले भने, ‘त्यसपछि भने बजारले माथिको यात्रा तय गर्न सक्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ।
यो दिन लघुवित्त समूह सर्वाधिक २.७८ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह २.३४ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.८३ प्रतिशत, वित्त समूहमा १.४१ प्रतिशत, जलविद्युत समूहमा ०.७४ प्रतिशत, लगानी समूहमा ०.६० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३१ प्रतिशत र अन्य समूहमा ०.५७ प्रतिशतको बढोत्तरी भएको छ।
आज व्यापार समूह सर्वाधिक १.४० प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह ०.८९ प्रतिशतले घट्दा जीवन बीमा समूहमा ०.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३० प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.०९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ६५ लाख १५ हजार ८५२ कित्ता सेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक १० करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ७ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको आज छिमेक लघुवित्तको ७ करोड १६ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ६ करोड ९६ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ६ करोड ९५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ४४ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४ करोड २५ लाख रुपैयाँ, अपर तामाकोशीको ३ करोड ९४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ९२ लाख रुपैयाँ र युनिभर्सल पावरको ३ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन विजय लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा बढेको छ।
आज जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीहरु धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19