– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । केही समयदेखि घटेको सेयर बजारमा आज हरियाली छाएको छ। बजार उच्च अंकको वृद्धिका साथ २००० को विन्दु माथि पुगेको छ। 

लामो समयदेखि बजार घटेपछि लगानीकर्ताहरु ब्रोकर हाउसदेखि क्लब हाउससम्म निकै प्यानिक रहेको देखिन्छन्। चुनावपछि बनेको सरकारमा अन्यौल्ता छाउनु तथा बजारमैत्री भनेर चिनिएका तत्कालीन अर्थमन्त्री विष्णु पौडेल सरकारबाट बाहिरिएपछि पुँजीबजारमा पनि अन्यौलता छाएको छ। तर, आज राष्ट्रपतिको चुनाव हुँदै गर्दा र सरकारले छिट्टै पूर्णता पाउने भएपछि लगानीकर्ताको मनोबल बढेको छ। 

आज खासगरी नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले झिनो मात्रामा भए पनि बचतको ब्याज घटाउने निर्णय गरेको छ। योसँगै कर्जाको ब्याज पनि सामान्य रुपमा घट्ने देखिन्छ। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष एवं सेक्योर्ड सेक्युरिटिज  (स्टक ब्रोकर नं. ३६)का सञ्चालक सन्तोष मैनाली अब सेयर बजारमा मडारिएको कालो  बादल हट्दै जाने बताउँछन्। ‘यसको संकेत आज भएको बैंकको ब्याजदर घटाउने निर्णयले पनि गरेको छ’, उनले भने। 

मैनालीको विचारमा ब्याजदर घट्दै जाँदा सेयर बजार बढ्ने विगतको ट्रेन्ड नै हो। आजको  घटाउने निर्णयले अब ब्याजदर पिकबाट ओरालो लाग्छ भन्न सकिने उनको भनाइ छ। ‘अब ब्याजदर घटेपछि सेयर लोन पनि आउँछ’, उनले भने। 

समग्रमा भन्नुपर्दा अब सेयर बजारका खराब दिन सकिएको भन्न सकिने मैनालीको तर्क छ। 

भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४ का सञ्चालक राजकुमार तिमिल्सिना पनि बजार अब सकारात्मक नै हुनेमा ढुक्क देखिन्छन्। तिमिल्सिना अहिलेको तरलता सहजताका लागि पनि सेयर बजार चलयमान हुनुपर्नेमा जोड दिन्छन्। 

नियामकले १२ करोडको क्यापजस्ता नीतिमा पुनर्विचार गर्नैपर्ने तिमिल्सिनाको भनाइ छ। ‘ब्याजदर सबैखाले निक्षेपमा घटाउने निर्णय भएको भए राम्रै हुने थियो’, उनले भने, ‘तर, पनि बचतको मात्रै घटेको ब्याजले पनि बजारलाई सकारात्मक नै हुनेछ।’

आजको राष्ट्रपतिको चुनावपछिको सिनारियोले पनि पुँजीबजारलाई सकारात्मक प्रभाव नै पार्ने तिमिल्सिनाको विचार छ। 

उता आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७) का सञ्चालक गुणनिधि भुसाल पनि बजार अब  सकारात्मक नै हुने बताउँछन्। ‘बजारमा ठूलै बढोत्तरी आउनलाई भने नीतिगत सुधार नै हुनुपर्छ’, उनले भने, ‘तर, पनि अब वैशाखबाट बैंकहरुको बेसरेट पनि घट्दै जाँदा ब्याजदर घट्दै जाने र सेयर बजारले लय समात्नेछ।’