– प्रकाश न्यौपाने

काठमाण्डौ । एउटा भनाइ छ–‘विनाशले विकास पनि सँगै ल्याउँछ।’ नेपालमा पनि कोरोनाकालको विनाशले प्रविधिमा ठूलो फड्को मारेको छ। जसका कारण नेपालमा पछिल्लो समय प्रविधिको भरपूर उपयोग भइरहेको छ।

नेपालको पुँजीबजारमा लगानी गर्न र सेयर कारोबार गर्न ब्रोकर हाउस धाउनुपर्ने समयको अन्त्य भएको छ। ठूलो संख्यामा नयाँ लगानीकर्ता बजार प्रवेश गरेका छन्। जसका कारण २०७८ भदौ २ गते सेयर बजारले ३२०० को उच्च विन्दुको रेकर्ड बनाएको थियो।

अहिले बजार करिब १२०० अंकले घटेको छ। ३२०० को विन्दु आसपासमा बजार छिरेर लगानी गरेकाहरुलाई अहिले ठूलो घाटा भएको छ। 

बजार र कम्पनीले उच्च विन्दु बनाएका बेला बजार छिर्ने लगानीकर्ताको संख्या बढी हुने गर्छ। तर, बजार र कम्पनी घटेर न्यून विन्दुमा आएको बेला बजार छिर्ने लगानीकर्ताहरुले भने राम्रो नाफा कमाउने प्रबल सम्भावना हुन्छ। 

पछिल्लो एक वर्षको तथ्यांकमात्रै हेर्ने हो भने नबिल बैंकको सेयरभाउ १०९२ रुपैयाँबाट घटेर ६४७ रुपैयाँमा झरेको छ। यो बैंकको सेयरभाउमा करिब ४१ प्रतिशतको गिरावट आएको छ। 

यही अवधिमा शिवम सिमेन्टको मूल्यमा पनि ६४ प्रतिशत बढीको गिरावट आएको छ। यो एक वर्षभित्र शिवम सिमेन्टको सेयरभाउ पनि १२७१ रुपैयाँबाट घटेर ४५५ रुपैयाँमा आएको छ। 

त्यस्तै यो अवधिमा ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य पनि १६५२ रुपैयाँबाट ७६० रुपैयाँमा झरेको छ। यो लघुवित्तको सेयरभाउमा करिब ५४ प्रतिशतको गिरावट आएको छ। 

नेपाल टेलिकमको सेयरभाउ यो एक वर्षको अवधिमा करिब ५२ प्रतिशतले घटेको छ। यो कम्पनीको सेयरमूल्य १७१५ रुपैयाँबाट घटेर ८२४ रुपैयाँमा झरेको छ। 

नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि यो अवधिमा १२७४ रुपैयाँबाट ६८२ रुपैयाँमा झरेको छ। यो हिसाबले सेयरमूल्य ४६ प्रतिशत बढीले घटेको छ। 

एचआईडीसीएलको सेयरमूल्य पनि एक वर्षको अवधिमा ३०७ रुपैयाँबाट घटेर २०२ रुपैयाँमा झरेको छ। यो कम्पनीको सेयरभाउ पनि ३४ प्रतिशत बढीले ओरालो लागेको छ। 

यी त उदाहरणमात्रै हुन्। पछिल्लो एक वर्षको अवधिमा अधिकांश कम्पनीको सेयरभाउ ३० प्रतिशतदेखि ७० प्रतिशतसम्म तल आएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बजार न्यून विन्दुमा झरेकोले अब लगानीका लागि उपयुक्त समय रहेको बताउँछन्। ‘बजार उच्च विन्दुबाट करिब ३८ प्रतिशत झरिसकेको छ’, उनले भने, ‘राम्रा कम्पनीहरुको सेयरमूल्य पनि ६० प्रतिशतसम्म झरेको छ। त्यसैले यतिबेला राम्रा र बलिया कम्पनीमा लगानी गर्न उपयुक्त समय आएको हो।’

कोरोना र रुस–युक्रेन युद्धले थला परेको विश्व अर्थतन्त्रमा केही आशालाग्दा सिग्नल देखिन थालेको पनि ढकालको भनाइ छ। ‘हरेकपटकको बियरिसमा अर्थतन्त्र कमजोर हुने केही न केही फन्डा आएकै हुन्छ’, उनले भने, ‘केही समयपछि फेरि त्यसलाई पचाएर अर्थतन्त्र माथि उठ्छ र सेयर बजारले विस्तारै नयाँ हाई बनाउँदै जान्छ।’

अहिले थला परेको अर्थतन्त्र उठेर हिँड्न लागेको अवस्था रहेको ढकालको तर्क छ। ‘देशले ५ वर्षका लागि नयाँ राष्ट्रपति पाएको छ। सरकारले पनि अब छिट्टै पूर्णता पाउनेछ’, उनले भने, ‘अहिले अर्थतन्त्र पनि सुधार हुँदै गएको छ। त्यसैले बजारको माहोललाई सकारात्मक बन्ने निश्चित छ।’ 

ढकालले उच्च विन्दुमा पुगेको कर्जाको ब्याजदर पनि वैशाखदेखि नै घट्ने बताए। ‘त्यसपछि बैंकबाट सहज रुपमा कर्जा उपलब्ध हुनेछ’, उनले भने। 

अधिकांश कम्पनीहरुले लाभांश घोषणा गरिसकेकोले माघ–फागुन जहिले पनि सेयर बजारका लागि अफ सिजन हुने गरेको ढकाल बताउँछन्। ‘चैतबाट फेरि बजारमा रौनक फर्किन्छ’, उनले भने, ‘त्यसैले अहिलेदेखि नै बजारमा लगानी गर्न सुरु गर्नुपर्छ।’ 

अहिलेको अवस्थामा आफूसँग भएको रकमले बजारमा धेरै घटेका राम्रा र बलिया कम्पनी छानेर खरिद गरेर दीर्घकालका लागि राख्नेले राम्रै मुनाफा कमाउने ढकालको भनाइ छ। ‘अब पनि खरिद नगरे बजारमा लगानी गर्न ढिलो हुन्छ’, उनले भने, ‘किनकि अब बजार बढ्ने नै हो। अहिले लगानी नगर्नेहरु पछुताउनुको विकल्प रहँदैन।’