काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा पोजिटिभ सेन्टिमेट क्रियट गर्नका लागि राष्ट्रबैंकका कतिपय बजारप्रतिकूल नीतिहरु समेत संसोधन गरिने आश्वासन दिएका छन् । 

बजारका केही अग्रज सेयर लगानीकर्ता, ब्रोकर तथा मर्चेन्ट बैंकरका प्रतिनिधिहरुसँगको सोमबार भएको भेटमा अर्थमन्त्री डा. महतले त्यस्तो आश्वासन दिएका हुन् । 

उनले राष्ट्रबैंकले लिएको कतिपय नीतिका कारण सेयर बजारका लगानीकर्ताको सेन्टिमेन्ट बिग्रिएकोतर्फ संकेत गर्दै ती विषयमा यथासम्भव सुधारका लागि राष्ट्रबैंकसँग प्रारम्भिक चरणको छलफल भइसकेको र अब विस्तृत छलफल गरी आवश्यक निर्णयमा पुग्ने वातावरण बनाइने बताए । 

‘लगानीको माहौल सकारात्मक छैन । यसलाई पोजिटिभ सेन्टीमेन्टमा ढाल्नुपर्ने मुख्य चुनौति छ । सबैतिर निराशाको मात्र कुरा गर्दा त्यही दिशातर्फ अर्थतन्त्र उन्मुख हुने जोखिम बढ्छ, त्यसकारण यसलाई सकारात्मक बाटोमा लानुपर्छ । त्यसमा सेयर बजारको भूमिका महत्वपूर्ण छ । यसमा संस्थागत समस्या होस् या राष्ट्रबैंकका कतिपय नीतिले प्रभाव पारेको कुरा नै किन नहोस्, सबै प्रतिकूल नीतिहरु पनि संसोधन हुन्छ । अन्य नीतिगत कुराहरुलाई पनि मध्यनजर गरी सम्बन्धित सबैसँग छलफल गर्छौ र सेयर लगानीकर्ताको मनोबल समेत उकास्ने खालका व्यवस्था लिएर आउँछौं ।’अर्थमन्त्री डा. महतले भने–‘सेयर बजारलाई अप्ठ्यारो पारेको नीतिगत कुराको संसोधनका लागि राष्ट्रबैंकसँग प्रारम्भिक कुरा भइसकेको छ । व्यक्तिगत रुपमा कसलाई लाभ हानी भन्दा पनि समग्रमा अर्थतन्त्र चलायमान गराउनका लागि के गर्नुपर्छ त्यसमा हामी तयार छौं ।’

सेयर बजारमा सानादेखि ठूला गरी निकै ठूलो जनसंख्या जोडिएको उल्लेख गर्दै यस विषयमा सरकार सम्वेदनशील रहेको उनको भनाई थियो । ‘सुधारका जायज सबै सम्भव उपायहरुमा हामी जान्छौ, जसले बजारमा पोजिटिभ सेन्टिमेन्ट सिर्जना गर्न मद्दत गरोस् ।’ उनले थपे–‘यसमा म लागि पर्छु । सम्बन्धित स्टेक होल्डर, नियामक निकाय, लगानीकर्ता लगायत सबै क्षेत्रको सहयोगको आवश्यकता छ । आवश्यकता अनुसार तपाईहरुसँग पनि अन्तरक्रिया हुन्छ ।’