काठमाण्डौ । सेयर बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १६.६७ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८७१.८८ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले घटेर ३५२.७१ को विन्दुमा झरेको छ। कारोबार रकम १ अर्ब रुपैयाँभन्दा तलको मात्रै भएको छ। 

बजार जानकार केशव कोइराला (काका) लगानीकर्ताको मनोबल नबढ्दा बजार घटेको बताउँछन्। ‘नयाँ अर्थमन्त्री नियुक्त भएका छन्, अर्थमन्त्रीले पुँजीबजार सुधारका लागि पहल गर्ने आश्वासन दिएका छन्’, उनले भने, ‘तर, लगानीकर्ताहरुको अब बोलीभन्दा पनि काम गरेरै देखाउनुपर्ने माग छ। त्यसैले नीतिगत सुधार नभएसम्म लगानीकर्ताको मनोबल नबढ्ने देखिन्छ।’

अर्कोतर्फ ठूला लगानीकर्ताहरु बैंकहरुको खराब कर्जा बढेर आउने हल्ला फैलाएर बजार घटाउने र घटेको बजारबाट सेयर खरिद गर्ने दाउमा लागेको कोइरालाको भनाइ छ। ‘यस्ता अफवाहमा परी साना लगानीकर्ताहरुले डराएर सेयर बिक्री गर्दा बजारमा गिरावट आएको हो’, उनले भने, ‘बजारमा फैलाइएको हल्लाजस्तो बैंकहरुको खराब कर्जा धेरै बढ्दैन।’

अब कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट आएपछि मात्रै बजारको लय तय हुने कोइरालाले बताए।

सक्रिय लगानीकर्ता निमानन्द कँडेल बजार घट्नुको मुख्य कारण लगानीकर्ताको आत्मबल कमजोर हुनु नै रहेको बताउँछन्। ‘यतिबेला चैत मसान्तको प्रभाव पनि बजारमा परेको छ’, उनले भने। 

बजार सुधारका लागि नियमनकारी निकायहरुले केही न केही नीतिगत व्यवस्थामा परिमार्जन गर्न आवश्यक रहेको कँडेल बताउँछन्। ‘नीतिगत सुधार र वैशाखबाट बैंकको ब्याजदर घट्ने लगभग निश्चित भएपछि बजारमा खरिदचाप आउनेछ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको छ भने बाँकी सबै १२ वटा समूहमा रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक १.३ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १.१९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७५ प्रतिशत, विकास बैंक समूहमा १ प्रतिशत, वित्त समूहमा ०.७९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५६ प्रतिशत, लगानी समूहमा १.०२ प्रतिशत, जीवन बीमा समूहमा ०.५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०४ प्रतिशत, लघुवित्त समूहमा १.१६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९० प्रतिशत र अन्य समूहमा ०.५६ प्रतिशतको गिरावट आएको छ। 

यो दिन व्यापार समूहमात्रै १.२१ प्रतिशतले उकालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६० कम्पनीका २८ लाख २९ हजार ४२६ कित्ता सेयर ९२ करोड २ लाख ४९ हजार ११.५४ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नबिल बैंकको सर्वाधिक ३ करोड ६२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ९३ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको २ करोड ५३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड १७ लाख रुपैयाँ, अपी पावरको २ करोड ६ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ४ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ करोड ७९ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १ करोड ७३ लाख रुपैयाँ, युनिभर्सल पावरको १ करोड ५७ लाख रुपैयाँ र रिडी पावरको १ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज कालिञ्चोक दर्शनका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन एसियन हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।