काठमाण्डौ । सेयर बजारमा सोमबार सामान्य सुधार आएको छ। 

आज बजार ५.५४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८४४.०२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८८ अंकले बढेर ३४९.६६ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर ९१ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार प्रकाश रजौरे सर्वोच्चको फैसलासँगै नयाँ स्टक एक्सचेन्ज र ब्रोकर आउने सम्भावना देखेर लगानीकर्ताहरुले बजार बढ्ने आशा पलाएकोले आज बजार सम्हालिएको बताउँछन्। ‘केही दिनदेखि बैंकहरुको खराब कर्जा बढ्ने वास्तविकभन्दा पनि हल्ला बढी चलेकोले बजारलाई घटाउन दबाब दिँदै आएको थियो’, उनले भने। 

नियमनकारी निकायहरु हिजो कसिएका नीतिहरुमा केही परिवर्तन गरी बजारलाई सकारात्मक बनाउने हिसाबले नीतिहरु ल्याएमा बजार लयमा फर्किने रजौरे बताउँछन्। 

सक्रिय लगानीकर्ता निमानन्द कँडेल आजसम्म चैत मसान्तको प्रभाव रहेकोले सर्वोच्च अदालतको सेबोनको पक्षमा फैसला आए पनि बजार ठूलो अंकले बढ्न नसकेको बताउँछन्। ‘वैशाखदेखि ब्याजदर के हुने र नीतिगत व्यवस्थामा परिवर्तन आउला कि नआउला भन्ने अन्यौलताका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेकोले बजारमा खरिदचाप नपरेको देखिन्छ’, उनले भने।

अबको १–२ दिनमा चैत मसान्तको प्रभाव सकिने, ब्याजदरबारेमा पनि टुंगो लाग्ने र अर्थ मन्त्रालयबाट बजारसम्बन्धी राम्रो खबर आउने भएकोले बजार पनि सकारात्मक लयमा फर्किने कँडेल बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.७१ अंकले उकालो लागेको छ। व्यापार समूह १.३० अंकले बढ्दा बैंकिङ समूहमा ०.३५ प्रतिशत, विकास बैंक समूहमा ०.५४ प्रतिशत, जलविद्युत समूहमा ०.२५ प्रतिशत, लगानी समूहमा ०.१४ प्रतिशत, जीवन बीमा समूहमा ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३८ प्रतिशत, लघुवित्त समूहमा ०.२० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३७ प्रतिशत र अन्य समूहमा ०.०४ प्रतिशतको बढोत्तरी भएको छ। 

आज वित्त समूह भने ०.११ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६१ कम्पनीका २९ लाख ६० हजार ८६३ कित्ता सेयर ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ६ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको आज एनआईसी एसिया बैंकको २ करोड ७० लाख रुपैयाँ, नबिल बैंकको २ करोड ७० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड २४ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको १ करोड ८२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ८० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १ करोड ६६ लाख रुपैयाँ, चिलिमे जलविद्युतको १ करोड ५४ लाख रुपैयाँ र अपी पावरको १ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन सानिमा मिडिल तमोर हाइड्रोपावर र कालिञ्चोक दर्शनका सेयरधनीहरु मालामाल भए। सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा कालिञ्चोक दर्शनको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ। 

आज ग्लोबल आइएमई लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।