– प्रकाश न्यौपाने

काठमाण्डौ । सेयर बजारमा गरिने लगानी जोखिमपूर्ण हुन्छ। बजारको राम्रो अध्ययन गरेरमात्र लगानी गर्नुपर्छ। 

न्यून विन्दुमा झरेको सेयर बजार अहिले फर्किने तरखर गर्दैछ। अर्थतन्त्र कमजोर भएको भनेर राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गर्दा ३२०० बाट १८०० आसपाससम्म झरेको बजारमा पछिल्लो समय केही सुधार हुँदै गएको हो। 

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल अहिलेको सरकार र अर्थमन्त्री बजारप्रति सकारात्मक रहेकोमा लगानीकर्ताको विश्वास बढ्न थालेको बताउँछिन्। ‘नीति तथा कार्यक्रममा पनि बजारलाई प्राथमिकता दिनुले लगानीकर्ताको मनोबल बढेको देखिन्छ’, उनले भनिन्, ‘बजार न्यून विन्दुमा झरेका कारण पनि लगानीकर्ताले खरिदको अवसर मान्दा बजार अहिले बढ्न थालेको छ।’

बजार घटाउने समाचारहरु अब सकिएको पोख्रेलको ठम्याइ छ। ‘अहिले सबैतिरबाट सकारात्मक खबर आइरहेका छन्’, उनले भनिन्, ‘ब्याजदर देखिने गरी नघटे पनि केही न केही घटेको छ। अब ब्याजदर पनि विस्तारै घट्दै जाने विश्वासमा पनि लगानीकर्ता अहिलेदेखि नै सेयर खरिदमा लाग्दा बजार बढेको हो।’

लगानीकर्तालाई आउने बजेटले पनि बजारलाई सम्बोधन गर्ने विश्वास रहेको पोख्रेल बताउँछिन्। ‘एनआरएनलाई भित्र्याउने कुरा पनि छ, नयाँ ब्रोकर कम्पनीहरुले लाइसेन्स पाउन थालेका छन्’, उनले भनिन्, ‘यिनै कुराले लगानीकर्ताको मनोबल बढ्दै गएको देखिन्छ।’

यतिबेला आर्थिक सहजताभन्दा पनि लगानीकर्ताको मनोबल उच्च भएकै कारण बजार बढेको पोख्रेलको बुझाइ छ। 

बजार जानकार केशव कोइराला (काका) उच्च विन्दुमा पुगेको ब्याजदर केही घटिसकेकोले पनि बजार सकारात्मक बन्न थालेको बताउँछन्। ‘अझै ब्याजदर घट्दै जानेछ’, उनले भने, ‘ब्याजदर उच्च विन्दुमा पुगेका बेला बजार न्यून विन्दुमा झरेको थियो। अब ब्याजदर विस्तारै घट्दै जान्छ र बजार पनि त्यसैगरी बढ्दै जानेछ।’ 

अहिलेको बजार बढाइ पनि यसैको संकेत रहेको कोइराला बताउँछन्। ‘सरकारको विकास खर्च बढ्दै जाँदा तरलता पनि सहज हुँदै गएको छ’, उनले भने, ‘यसले पनि बजार बढ्नलाई टेवा पुगेको छ।’

नयाँ ब्रोकर थपिनुले पनि बजारमा माहोल बनेको कोइरालाको बुझाइ छ। ‘नयाँ स्टक एक्सचेन्ज र ब्रोकरका लागि रकमको जोेडजाम गर्न ठूला लगानीकर्ताहरुले ठूलै मात्रामा सेयर बिक्रीमा राखेकाले पछिल्लो समय बजार १८०० को आसपास आएको थियो’, उनले भने, ‘अहिले ती कामका लागि पनि रकमको जोहो भइसकेकोले सेयर बिक्री रोकिएको छ। केही नयाँ रकम पनि बजारमा आएकोले बजारमा माहोल बन्दै गएको छ।’

अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नबनेका कारण पनि सबै क्षेत्रबाट सेयर बजारमै लगानी भित्रिँदै जाने कोइरालाको तर्क छ। ‘अब बजारले नयाँ–नयाँ उचाइ बनाउँदै जानेछ’, उनले भने। 

अब आउने मौद्रिक नीतिले बजारलाई खुकुलो बनाउन सक्ने आशा पनि गर्न सकिने कोइराला बताउँछन्। ‘बजारमा सानातिना करेक्सन आइरहे पनि अन्ततः बजारले १८०० लाई नै न्यून विन्दु बनाएको मलाई लाग्छ’, उनले भने, ‘त्यसैले अब लगानी गर्न डराउन हुँदैन।’