काठमाण्डौ । सेयर लगानीकर्ताबाट लिइने पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग गरिएको छ। 

लगानीकर्ताहरुका छाता संगठनहरु नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। ‘जेठ १५ नेपाल सरकारबाट प्रस्तुत बजेटप्रति हामी लगानीकर्ताका संघसंगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ। 

अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागको पत्र संख्या २०७६/७७, च.नं. १४४, मिति २०७७/३/५ गते नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्रबमोजिम धितोपत्रको कारोबारमा हुने पुँजीगत लाभमा अग्रिम कर असुलीको विवरण तथा विद्युतीय कर प्रणाली (ई–टीडीएस)मार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले आफूलाई पायक पर्ने आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयबाट करचुक्ता प्रमाणपत्र लिन सक्ने निर्देशनविपरीत हालको बजेटमा ‘बुँदा नं. २९ धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्थाः प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रुपमा धितोपत्र, जग्गा तथा घरजग्गा कारोबारको आय विवरण तथा कर दाखिल गर्ने बाँकी रहेको भए आव २०७६–७७ देखि २०७८–७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम संवत २०८० साल चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ । यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सोभन्दा अघिल्ला आर्थिक वर्षहरुको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ’ भनिएको छ।  

उक्त बुँदाबमोजिम आव २०७६–७७ देखि २०७८–७९ सम्मको कारोबार घोषणा गरी कर भुक्तानी गर्ने भनिएको बुँदा कर विभागको मिति २०७७/३/५ को पत्रविपरीत रहेको विज्ञप्तिमा ठहर गरिएको छ। ‘आजका मितिसम्म फर्म वा कम्पनीबाहेक व्यक्तिमार्फत गरिएको कारोबार व्यवसायका रुपमा नरहेको र सोअनुसार कर विवरण बुझाउनुपर्ने शीर्षकमा नरहेको देखिएको हुनाले व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत स्रोतमा कट्टी गरिएको पुँजीगत लाभकरलाई अन्तिम कर नै कायम गरिदिन विज्ञप्तिमार्फत माग गरिएको छ। ‘अन्यथा सेयर बजारमा लगानी गर्ने लाखौँ लगानीकर्ता आन्दोलनमा उत्रन बाध्य हुनेछौँ’, विज्ञप्तिमा चेतावनी दिइएको छ।

यसका साथै अर्थमन्त्रीसँग यस विषयमा हिजो र आज भइरहेको छलफल र अर्थमन्त्रीबाट सकारात्मक आश्वासन प्राप्त भएकोले सम्पूर्ण लगानीकर्ता यस विषम परिस्थितिमा धैर्यता र सुझबुझका साथ हतोत्साहित नभई लगानी पनि विज्ञप्तिमा आग्रह गरिएको छ।