– प्रेम वली

हुन त ट्रेड गर्नेलाई सेयर बजारमा प्रवेश गर्न जहिले पनि अवसर हुन सक्छ। तर, लगानी गर्नेलाई पक्कै पनि अनुकूल बजारको आवश्यकता हुन्छ। बजार घटेको बेला राम्रा–राम्रा कम्पनी छनौट गरेर किनेर राख्न सक्दा बजार बढेको बेला (बुलिस बजारमा) मनग्य कमाउन सक्नेमा कुनै शंका छैन। त्यसो भए लगानीको समय कहिले हुन सक्छ भन्ने पनि हुन सक्छ। 

त्यसका लागि मार्केटबारे नजिकबाट अध्ययन अनुसन्धान गर्नु अति जरुरी हुन्छ। अहिले बजारलाई हेर्दा करिब ३२०० बाट झरेको अवस्था छ। १८०६ देखि १८१५ बीच बजारले धेरैपटक टेस्ट गरेकोले अब बजारको बियरिस बेस सकिएको हो कि जस्तो देखिन्छ। विगतमा १८८१ को बुलिसपछि ११०२ सम्म आउँदा ४१ प्रतिशत घटेको थियो। ३१९८ बाट बजार झर्दा पनि ४३ प्रतिशत घटेको अवस्था छ। यसबाट पनि अब बियरिस सकिएकोजस्तो देखिन्छ। समय अवधिलाई पनि हेर्दा बियरिस समय २२ महिना भएकाले अब बियरिस समय सकिन लागेको जस्तो छ। यसकारण पनि अब २–३ वर्षको लगानी योजना बनाएर राम्रा कम्पनीमा लगानी गर्न सकिन्छ।

कम्पनीहरुको मूल्य हेर्दा

एकातिर बियरिसको समयावधि हेर्दा पनि लगानी अनुकूल समय देखिन्छ भने कम्पनीहरुको मूल्य हेर्दा पनि लगानी अवसर बनेको देखिन्छ। हरेक कम्पनीको मूल्य ५० प्रतिशतदेखि झन्डै ८० प्रतिशत घटेको अवस्था छ। कमजोर कम्पनीमात्र नभएर राम्रा र बलिया कम्पनीहरुको सेयरभाउ पनि घटेको अवस्था छ। त्यसकारण पैसा हुँदा राम्रा कम्पनी छनोट गरेर ढुक्कले लगानी गर्ने अवस्था बनेको छ। 

अब बुलिसमा कुन सेक्टर चल्न सक्छ। त्यो कुरा बुझेर अध्ययन–अनुसन्धान गरेर त्यही सेक्टरका राम्रा र बलिया कम्पनीमा लगानी गर्न सक्दा कम रिस्क र कम तनावमा राम्रो मुनाफा आर्जन हुन सक्छ। तर पोर्ट्फोलिओ मिलाउदा सबै सेक्टरका राम्रा बलिया कम्पनीमा लगानी गर्न सक्दा आफ्नो पोर्टफोलियो पनि बलियो हुन्छ। हरेक बुलिस समयमा फरक–फरक सेक्टर चलेको इतिहास भएकाले अब चल्ने सेक्टरमा बढी लगानी गर्न सके राम्रो मुनाफा हुन सक्छ।

के अहिले लोन लिएर सेयर किन्दा हुन्छ ? 

बजारले बुलिस ट्रेन्ड समातेको अझै कन्फर्म भएको अवस्था छैन। अहिले बजार टेस्टमै छ। अहिले लोन लिएर लगानी गर्दा बजार कदाकदाचित साइडवेज गयो भने ब्याज धेरै तिर्नुपर्ने अवस्था हुन सक्छ। ब्याज पनि खासै नघटेकोले ऋण लिएर लगानी गर्नु बढी रिस्क देखिन्छ। अहिले लोन लिएरभन्दा पनि आफूसँग भएको पैसा लगानी गर्ने समय चाहिँ पक्कै भएको देखिन्छ। बजारले बुलिस ट्रेन्ड समातेर बुलिस जोनमा प्रवेश गरेपछि चाहिँ रिस्क म्यानेज गरेर लोन लिएर लगानी गर्न सकिनेछ।  

के अब बजार उकालो लाग्ने अवस्था हो ?

बजार सकारात्मक हुने धेरै फ्याक्टर हुन सक्छन्। तर, अहिलेसम्मको ट्रेन्ड हेर्दा ब्याज दर र तरलता महत्वपूर्ण देखिन्छ। अहिले बैंकहरुको तरलता सहज बन्दै गएको र ब्याजमा पनि सुधारको संकेत देखिएकाले सेयर बजार पनि विस्तारै उकालो लाग्ने संकेत देखिन्छ। 

राजनीतिक अवस्थाबाहेक देशको अन्य कुरा पनि सुधार बन्दै गएको अवस्थाले सेयर बजार सकारात्मक हुने देखिन्छ। मिलिजुली सरकार भए पनि यो लामो समय जानसके यसले देशको आर्थिक कुरामात्र होइन सेयर बजारलाई उकालो लाग्न साकारात्मक प्रभाव पार्नेछ। 

नेपाल धितो बोर्डले नयाँ ब्रोकर थपेर सबै लगानीकर्तामा सेयर बजारको पहुँच बढाउने काम गर्दैछ। आर्थिक अवस्था सुधारोन्मुख भएको बेला राष्ट्र बैंक पनि साकारात्मक बन्ने अवस्था देखिएकाले यसले पनि बजार बढ्न थप बल पुग्ने देखिन्छ। 

अन्त्यमा, अहिलेको सेयर बजारको सबै अवस्थालाई नियल्दा लगानीको अवसर देखिन्छ। तर, लगानी गर्दा हल्लाको भरभन्दा पनि राम्रो अनुभवी व्यक्ति वा ब्रोकरसँग सल्लाहको भरमा सस्ता, राम्रा सेक्टर र कम्पनी लगानी गर्नुपर्छ भन्ने मेरो धारणा हो। दोस्रो बजार बढी जोखिम पनि हुने भएकाले आफू बजारबारे राम्रो अनुभवी र जानकार नहुँदासम्म ठूलो लगानीको रिस्क मोल्नुहुँदैन। भनिन्छ– क्लास रुम र मार्केट रुममा धेरै भिन्नता छ। त्यसैले अनुभव पनि लिँदै लगानी पनि बढाउँदै जादा पक्कै सफल बन्दै गइन्छ। 

(नोटः लेखक ओली लामो समयदेखि सेयर बजारमा सक्रिय रुपमा कारोबार गर्दै आएका छन्। यो लेख उनको व्यक्तिगत विचार हो।)