– प्रेम वली

पुष्पकमल दाहाल ‘प्रचन्ड’ नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पास भएको छ। तत्काल सरकार परिवर्तन हुने सम्भाना पनि कम देखिन्छ। बजेट पास हुनु र सरकारको निरन्तरता पनि सेयर बजारको लागि सकातात्मक कुरा हो।

अहिले बैंकिङ क्षेत्रमा तरलता सहजमात्र होइन अधिक तरलता हुँदै गएको छ। आजभन्दा ३ महिनाअघि बैंकिङ क्षेत्र असहज अवस्थामा थिए भने अहिले तरलता अत्याधिक भएर बैंकिङ क्षेत्र सकस हुने अवस्था आएको देखिन्छ। यी सेयर बजार वृद्धिका लागि सकारात्मक अवस्था हुन्। यसकारण पनि अब बजार माथि जाने नै देखिन्छ। 

अब यो वर्षको ब्याजको अन्तिम किस्ता तिर्ने पनि समय आएकोले बजारमा सेलको प्रेसर आउँछ कि भन्ने पनि हुन सक्छ तर गत हप्ताको कारोबारलाई हेर्दा त्यो पनि पच्न सक्ने अवस्था देखिन्छ। गएको हप्तालाई हेर्दा बजार पुराना खेलाडी जो अनुभवी पनि छ, बजारमा प्रबेश छ कि जस्तो देखिन्छ किनकि उनीहरुलाई यो किन्नलाई अनुकूल समय हो भन्ने कुरामा आत्मविश्वास पनि छ। 

यो साता सेलको प्रेसर आए पनि खरिदकर्ताको पनि राम्रो उपस्थिति हुने देखिन्छ। अब सरकारलाई पुँजीगत खर्च बढाउन सहज हुने भएकाले तरलता दिगो जान सक्छ। ब्याज अझै घट्दै जाने सम्भावना देखिएकाले बेला–बेला करेक्सन हुँदै बजार उकालो लाग्ने सम्भावना देखिन्छ। 

ट्रेड गर्ने कि लगानी ?

लगानी गर्नेले भन्दा ट्रेड गर्ने बजारमा पैसो धेर बनाउन सक्छ तर बजार क्र्यास हुँदा लगानी कर्ताभन्दा ट्रेड गर्नेले ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था हुन सक्छ। लगानीकर्ता सस्तो बजारमा लगानी गरेको छ भने बजार बढेको बेला सेल गर्न सकेन भने पनि उसलाई खास फरक न पर्न सक्छ किनकि लगानी गर्नेले कम्पनीको फन्डामेन्टल अवस्था हेरेर राम्रो कम्पनी छनोट गरेको हुन सक्छ तर ट्रेड गर्नेले त्यो हेर्दैन। जे चलेको छ त्यही हेर्छ। मार्केट क्र्यास भएको बेला उसले बजारबाट निस्कन जानेन भने उसको ठूलै दुर्गति हुन सक्छ।  कमाएको बेला झन धेरै पैसो बनाउने लोभले बजारबाट निकाल्न सकेन भने सडकमै आउने अवस्था हुन सक्छ। 

क्र्यास मार्केटमा नराम्रा कम्पनीहरु बिक्री हुन पनि गाह्रो हुन सक्छ तर दीर्घकालीन लगानीकर्तामा यो रिस्क निकै कम हुन्छ। बजारको टुप्पो कसैलाई थाहा हुँदैन। बुलिस बजारमा ट्रेडरले दिनहुँ लाखौँ पैसा बनाइराख्ने भएकाले बजार जति माथि जान्छ, ऊ झन्–झन् उत्तेजित हुँदै जान्छ। कतिले यस्तो बेला झन लगानी पनि बढाउँदै जाने हुँदा उच्च जोखिम मोलिाखेको हुन्छ। यस्तो अवस्था मार्केट क्र्यास हुँदा ठूलो क्षति हुन सक्छ। 

ट्रेडिङ गर्दा ध्यान पुर्याउने कुरा 

बुलिस बजार ट्रेडिङकर्ताले मनग्गे पैसो बनाउन सक्छ। एउटा हिउँको सानो डल्लोलाई हिउँमा बटारेर जत्रो बल पनि बनाउन सकिएला तर त्यो हिउँको डल्लोलाई त्यसै छाडियो भने घाम लागेपछि पग्लिएर फुटेर पूरै हराउन सक्छ। त्यो हिउँको डल्लोलाई जोगाउन पनि सकिन्छ। त्यसलाई समयमै डिपफ्रिजमा राख्न सक्दा आफूले चाहेको समयसम्म जोगाउन सकिन्छ। ट्रेडिङ गर्नेले पनि राम्रो पैसो बनाएको बेला केही प्रतिशत रकम निकाल्न सके लगानीकर्तालाई सहजमात्र हैन रिस्क म्यानेजमेन्ट गर्न पनि सकिन्छ। 

कति लगानीकर्ताले १० लाख रुपैयाँबाट ट्रेडिङ सुरु गर्छन्। पचासौँ लाख कमाउँदा पनि अझ धेरै बनाउने लोभले बजार होम्मिराखेका हुन्छन्। १० लाख रुपैयाँले ५० लाख रुपैयाँ बन्दा बजार कति माथि पुगिसकेको हुन्छ भन्ने कुरा उनीहरुले बिर्सन सक्छन। अझ ट्रेडिङ गर्नेले राम्रा कम्पनीभन्दा पनि चल्ने कम्पनीमात्र हेर्ने भएकाले त्यस्ता कम्पनीलाई बैंकले लोन पनि नदिने हुँदा कति ट्रेडरले त चर्को ब्याजमा व्यक्तिगत लोन लिएर हाई रिक्समा खेली राखेका हुन्छन्। यस्तो अवस्थामा मार्केट क्र्यास हुँदा नसोचेको घट्ना पनि व्यहोर्ने अवस्था आउन सक्छ। 

त्यसैले लगानीकर्ताले सस्तो बजारमा आफ्नो लगानी योजनाको रकमको ८० प्रतिशत दीर्घकालीन गर्ने र २० प्रतिशत अल्पकालीन गर्नसके रिस्क पनि कम हुने र पैसो पनि कमाउन सकिने अवसर बन्न सक्छ। यदि ट्रेडकर्ताले आफ्नो हरेक ट्रेडको कमाइको २० प्रतिशत निकालेर बैंकमा जम्मा गर्नसके रिस्क पनि घट्दै जाने र खेलाडीले जित्ने सम्भावना पनि दिगो हुने देखिन्छ।

ट्रेड गर्नेले सकेसम्म लोन लिएर खेल्नु हुँदैन। हल्लाको पछि लागेरभन्दा पनि आफ्नो अध्ययन र अनुसन्धानले लगानी गर्दा अझ सफल हुने सम्भावना हुन्छ। भनिन्छ– ट्रेडकर्तामा वास्तविक कमाउने ५ प्रतिशत पनि हुँदैनन्। ९० प्रतिशतभन्दा माथि गुमाउनेहरु नै हुने भएकाले मेरो विचारमा सकेसम्म दीर्घकालीन लगानीकर्ता बन्नु उचित देखिन्छ। 

(नोटः लेखक ओली लामो समयदेखि सेयर बजारमा सक्रिय रुपमा कारोबार गर्दै आएका छन्। यो लेख उनको व्यक्तिगत विचार हो।)