काठमाण्डौ । लगातार ४ दिनदेखि बढेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार झिनो करेक्सन आएको छ। 

बजार आज १.३१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१६३.९२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले बढेर ४१०.५२ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर ३ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार केशव कोइराला (काका) बजार नयाँ हाई लगाउन खोजेको बताउँछन्। ‘बैंक र हाइड्रो अहिले तल्लो विन्दुमा छन्’, उनले भने, ‘अब आगामी साताबाट हाइड्रो चल्यो भने बजार नयाँ उचाइतिर लम्किन्छ।’

चालु आर्थिक वर्षको मौद्रिक नीति बजारलाई असर गर्ने गरी नराम्रो नआउने कोइरालाको भनाइ छ। ‘मौद्रिक नीति राम्रो आएको खण्डमा बजार छिटो गति लिन सक्छ’, उनले भने, ‘मौद्रिक नीतिमार्फत पुँजीबजारका लागि अहिले लिइएका नीतिहरुमा कुनै परिवर्तन नभए पनि बजार माथि नै जान्छ। किनकि ती नीतिगत व्यवस्थाहरुले बजारले पचाइसकेको छ।’

अर्का बजार जानकार कविराज तिमिल्सिना अहिले लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतीक्षामा रहेको बताउँछन्। ‘ठूला लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा देखिन्छन्’, उनले भने, ‘त्यसैले बजारमा भोलुम कम आएको छ।’

अब विस्तारै बैंकहरुको ऋण प्रवाह पनि बढ्दै जाने हुँदा बजार माथि नै जाने तिमिल्सिनाको भनाइ छ। ‘किनकि अन्य लगानीका क्षेत्र संकुचित भएका छन्। लगानीका विकल्प छैनन्’, उनले भने, ‘दसैँ–तिहारसम्म बजार माथि नै जान्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ६.३५ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.३९ प्रतिशत बढ्दा जलविद्युत समूहमा ०.९४ प्रतिशत, विकास बैंकमा ०.२६ प्रतिशत र बैंकिङ समूहमा ०.०९ प्रतिशतको बढोत्तरी भएको छ। 

आज म्युचुअल फन्ड समूह सर्वाधिक १.२१ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १.१२ प्रतिशतले घट्दा वित्त समूहमा ०.७९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३६ प्रतिशत, लगानी समूहमा ०.४३ प्रतिशत, जीवन बीमा समूहमा ०.९९ प्रतिशत, लघुवित्त समूहमा ०.६१ प्रतिशत र अन्य समूहमा ०.४८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्से सूचीकृतमध्ये २६४ कम्पनीका ८४ लाख २४ हजार १०८ कित्ता सेयर ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक १४ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको ९ करोड ३४ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख रुपैयाँ, ज्योति विकास बैंकको ८ करोड ३३ लाख रुपैयाँ, नबिल बैंकको ७ करोड ७७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ८२ लाख रुपैयाँ, एसटीसीको ६ करोड ३० लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड ९४ लाख रुपैयाँ, कुमारी बैंकको ५ करोड ८९ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज बिशाल बजार कम्पनी र लिबर्टी इनर्जीका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

यो दिन सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।