काठमाण्डौ । सेयर बजारको गिरावटले बुधबार पनि निरन्तरता पाएको छ।
आज बजार ८.११ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१५६.२० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.०५ अंकले घटेर ४०९.११ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल मौद्रिक नीति लगानीकर्ताहरुले आशा गरेअनुरुप नआउँदा बजार घटेको बताउँछन्। ‘कर्जाको ब्याजदर अझै सस्तो नभइसकेकोले पनि लगानीकर्ताले थप पैसा बजारमा ल्याउन नसकेको अवस्था छ’, उनले भने, ‘तरलता सहज भएका बैंकहरुले सेयर कर्जा प्रवाह नगर्ने र सेयर कर्जा गर्नेहरुको पुँजी कोष टाइट भएकोले पनि सेयर लोन बजारमा आइहाल्ने अवस्था छैन।’
लगानीकर्ताहरुले अहिले कम्पनीहरुको चौथो त्रैमासको रिपोर्ट कुरेर बसिरहेको अवस्था रहेको लम्साल बताउँछन्। ‘यद्यपि भोलि वा आगामी साताबाट बजार सम्हालिन सक्छ’, उनले भने।
बजार जानकार दामोदर गजुरेल बजारमा नाफा बुक भएको बताउँछन्। ‘गत आइतबार बजार ठूलो अंकले बढेको थियो, त्यसैको करेक्सन आजसम्म चलिरहेको छ’, उनले भने, ‘अब २१४० सम्म बजारको करेक्सन हुन सक्छ।’
गजुरेलले पनि ढिलोमा आइतबारसम्म बजार सम्हालिन सक्ने बताए।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।
यो दिन अन्य समूह सर्वाधिक ०.७० प्रतिशतले उकालो लागेको छ। म्युचुअल फन्ड समूह ०.३७ प्रतिशतले बढ्दा वित्त समूहमा ०.०८ प्रतिशतको बढोत्तरी भएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.४२ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ०.९२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०४ प्रतिशत, विकास बैंक समूहमा ०.४६ प्रतिशत, लगानी समूहमा ०.६४ प्रतिशत, जीवन बीमा समूहमा ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८३ प्रतिशत, लघुवित्त समूहमा ०.७६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७५ प्रतिशत र व्यापार समूहमा ०.८१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६० कम्पनीका ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७७० रुपैयाँको कारोबार भएको छ।
यो दिन ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको सर्वाधिक १५ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ९ करोड ४९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको ८ करोड रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ६ करोड ९७ लाख रुपैयाँ, एभरेस्ट बैंकको ६ करोड ८९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ६२ लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सको ६ करोड ४० लाख रुपैयाँ, सोल्टी होटेलको ५ करोड ९३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ४१ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको ५ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज किसान लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन जाल्पा सामुदायिक लघुवित्त र युनिलिभर नेपालका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ६ प्रतिशतले बढी ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19