– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सेयर बजारले हालसम्मकै उच्च ३१९८ को विन्दु चुमेको पनि २५ महिना भइसकेको छ। २०७८ साल भदौ २ गते उच्च विन्दु र करिब २२ अर्ब रुपैयाँको कारोबार भएपछि खसेको बजार पुनः लयमा फर्किन सकेको छैन। 

यसबीच बजारले तीनपटक २२०० सम्म पुगेपछि त्यहाँबाट माथि जान सकेको अवस्था भने छैन। यो अवधिमा करिब १५ खर्ब अर्थात् १ वर्षको बजेटबराबरको सम्पत्ति लगानीकर्ताले गुमाइसकेका छन्। यसबीच लगानीकर्ताको सम्पत्ति एक चौथाइले घटेको छ। 

अहिले दोस्रो बजारमा २ लाखभन्दा बढी पूर्णकालीन लगानीकर्ता छन्। उनीहरुले सेयर बजारलाई नै आफ्नो मुख्य पेसा बनाएका छन्। पहिलेजस्तो प्राथमिक सेयरबाट अहिले जीवन गुजारा हुने अवस्था पनि छैन। किनकि १४ लाखभन्दा बढी आवेदन पर्दा आईपीओमा सेयर पर्न भाग्यकै भर पर्नुपर्ने अवस्था छ। 

सेयर बजारलाई नै मुख्य पेसा बनाउनेलाई अहिले घर गुजाराको नै समस्या परेको स्वयं लगानीकर्ता बताउँछन्। ‘अहिले महँगीले जीरा र चिनीको मूल्य आकासिएको छ। सेयरको भाउ भने घटेको छ’, ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले भने, ‘अहिले १ कित्ता सेयर बेच्दा १ किलो चिनी पनि आउँदैन। जीराको कुरा त कहाँ हो कहाँ ?’

ब्रोकर हाउसमै भेटिएका अर्का पुराना लगानीकर्ताले भने, ‘मेरो त घरव्यवहारकै कारण छोरा, छोरी र परिवारसँग दैनिक झगडा हुन थालेको छ। पहिलेकै लगानी पनि डुबेको छ। होला कि भनेर अघिल्लो महिना यताउता गरेर ५ लाख रुपैयाँजति हालेको थिएँ, त्यो पनि आधाआधी भएको छ।’

ती लगानीकर्ताले १० वर्षपहिले बजारमा ५० लाख रुपैयाँजति हालेकोमा घटेर आधा भएको तीतो अनुभव पनि सुनाए। ‘अघिल्लो बुलमा बढेर साँवा आएको थियो। बजारमा नेप्से बढेर ४५०० पुग्छ भन्ने हल्ला चल्यो’, निराश हुँदै ती लगानीकर्ताले भने, ‘होला त बल्ल साँवा आएको छ भनेर मैले बेचिनँ। त्यसपछि घटेको बजार अहिलेसम्म माथि उठ्न सकेको छैन। झिकौँ लगानी घटेर आधा भएको छ। राखौँ झनै घट्ने चिन्ता छ।’ 

अहिले सेयर बजारमा लगानी ‘चुहिने गाग्री’जस्तै भएको ती लगानीकर्ताले बताए। ‘अरु काम पनि गर्न मन लाग्दैन’, ती लगानीकर्ताले भने, ‘समस्या अहिले के भयो भने ५० लाख रुपैयाँले जग्गा पनि आउँदैन। केही होला भनेर सेयर बजारमा हाल्यो आधा हुन्छ।’ 

यी लगानीकर्ता उदाहरण पात्रा मात्रै हुन्। सेयर बजारमात्रै हेरेर बस्ने करिब २ लाखभन्दा बढी लगानीकर्ताको पीडा अहिले उस्तै छ। कतिपय लगानीकर्ताले तेल हाल्न र किस्ता बुझाउनै नसकेर गाडी नै बेचेका छन्। कति त घरभाडा नै तिर्न नसकेर मध्यरातमा नै भागेका कथा पनि ब्रोकर हाउसमा सुन्न पाइन्छ। केही त बजारमा टिक्न नसकेर विदेश नै पलायन भएका पनि छन्।