काठमाडौं । सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्न थालेपछि नेपालमा डिम्याट खाताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । 

विभिन्न कम्पनीले निष्कासन गर्ने आईपीओमा आवेदन दिन र सेयर कारोबार गर्नका लागि डिम्याट खाता र मेरो सेयर आवश्यक पर्छ। सोही कारण पनि पछिल्लो समय डिम्याट खाता र मेरो सेयरको संख्या बढेको हो।

पछिल्लो समय आईपीओ भर्ने लगानीकर्ताको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बिहीबारसम्ममा डिम्याट खाताको संख्या ५९ लाख ४७ हजार ७७९ पुगेको  भने मेरो सेयरका प्रयोगकर्ताको संख्या ५० लाख ७ हजार ७०७ पुगेको छ ।
 
आईपीओमा आवेदन दिन, हकप्रद सेयर भर्न र ईडीआईएस गर्न मेरो सेयरबाट सजिलो हुने भएकाले डिम्याट र मेरो सेयर खाता खोल्नेको संख्या पनि बढेको हो ।डिम्याट खाता नभएका व्यक्तिले प्राथमिक सेयर भर्न पनि पाउँदैनन्। अनलाइनबाट सबै कारोबार गर्न मिल्ने सहज प्रविधि बनेपछि प्राथमिक वा दोस्रो बजारका लगानीकर्तालाई मेरो सेयर अकाउन्ट अनिवार्य छ । 

हाल एक जनाले २ ओटासम्म डिम्याट खाता खोल्न गर्न पाउने व्यवस्था छ । सिडिएससीका अनुसार हाल १०१ संस्थाहरूले डिपी सेवा प्रदान गर्दै आइरहेका छन । हालसम्ममा ११ अर्ब ३५ करोड १७ लाख ४८ हजारभन्दा बढी कित्ता सेयर डिम्याट भइसकेको छ ।

७६ वटा कम्पनी क्लियरिङ सदस्य रहेका छन् । लगानीकर्ताले हाल ४३ वटा बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बाका माध्यमबाट साधारण सेयरमा आवेदन दिन सक्नेछन् ।

 

सिडिएससीका अनुसार बजार बढेपछि नयाँ लगानीकर्ता पनि थपिन्छन्।पछिल्लो समय निरन्तर सार्वजनिक शेयर निष्कासनमा आइरहेका विभिन्न कम्पनीको आईपीओमा सर्वसाधारणको आकर्षण रहेको छ ।