काठमाण्डौ । पैसाले पैसा कमाउने सपना जोकोही देख्छ । तर सही रणनीति, जानकारी र योजना नभएका कारण जोसुकैले यो सपना साकार बनाउन सक्दैन । पछिल्लो समय नेपालमा सेयरमा लगानी गर्नेहरु बढेका छन्, तर राम्रो जानकारी र सुझबुझको अभावमा उनीहरुको लगानी फसेको छ । राम्रो नाफाको आशामा ठूलो लगानी गर्दा धेरै डूबेका पनि छन् । 

छिमेकी देश भारतमा यस्ता व्यक्ति छन्, जसले सेयर बजारमा केही हजारबाट कारोबार सुरु गरेका थिए र आज तिनीहरु करोडौं रुपैयाँको पोर्टफोलियोको मालिक छन् । यस्ता सफल व्यक्तिहरुको रणनीति, उनीहरुको टिप्स र लगानीको शैली पछ्याएर तपाईंले पनि सेयर बजारको लगानीलाई सुरक्षित ढंगले नाफामा रुपान्तरण गर्न मद्धत पुग्नेछ । 

राकेश झुनझुनवाला
राकेश झुन्झुन्वाला भारतीय सेयर बजारमा एक स्थापित नाम हो । उनी ८ हजार रुपैयाँ लिएर यो क्षेत्रमा प्रवेश गरेका थिए । हाल उनी भारतको स्टक मार्केटका सबैभन्दा ठूला लगानीकर्ता बन्न सफल भएका छन् । आज झुन्झुन्वालाको कुल पोर्टफोलियो ९९८२ करोड रुपैयाँको छ । झुन्झुन्वालाको पोर्टफोलियोमा ७ रुपैयाँदेखि ३ हजार २ सय रुपैयाँसम्मको सेयर छ । भारतका वारेन बफेको नामले समेत परिचित राकेशले स्टक मार्केटको हरेक उतारचढाव भोगेका छन्, देखेका छन् । सन् २०११ डिसेम्बरसम्मको अवधिमा झुन्झुन्वालाको खरीद गरेको सेयरहरुको मूल्यमा ३० प्रतिशतसम्मको गिरावट देखिएको थियो । तर फेरि बिस्तारै–बिस्तारै उनले पुरानो रणनीति परिवर्तन गरे र घाटालाई मुनाफामा बदल्न सफल भए । 

झुन्झुन्वालाको टिप्स
-लगानी गर्ने समयमा आफैंप्रति बढी भरोसा हुन जरुरी छ । 
-साना सेयरलाई नजरअन्दाज गर्ने गल्ती गर्नुहुन्न । 
-बजार उकालो लाग्दा सबैलाई फाइदा हुन्छ भन्ने कुरा बुझौं । 
-मन्दीको समयमा पोर्टफोलियोमा सबैभन्दा बढी ध्यान दिन आवश्यक हुन्छ ।
-सेयरलार्ई कम मुनाफामा बिक्री गर्ने हतारो गर्नुहुन्न । 
-आफ्नो पोर्टफोलियोलाई विविधकरण गर्नुहोस्, अर्थात विविध क्षेत्रको सेयरमा लगानी गर्नुहोस् ।
-दैनिक कम्तीमा २ पटक आफ्नो पोर्र्टफोलियोको जाँच गर्नुहोस् । 
-सही मौका मिलेपछि मात्र पैसा लगाउनुहोस् । 
-रिटर्नमा केन्द्रीत हुनुहोस् । लगानी गर्नु भन्दा बढी महत्वपूर्ण त्यसमा तपाईलाई कति रिटर्न आउँछ भन्ने हो । 

रमेश दमानी


रमेश दमानी भारतका ठूला लगानीकर्तामध्येका एक हुन् । उनलाई भारतीय सेयर बजारका केही स्मार्ट लगानीकर्तामध्येमा गनिन्छ । फोब्र्स पत्रिकाका अनुसार सन् २०१४–१५ मा दमानीको कुल नेटवर्थ १०७२० करोड आँकलन गरिएको छ । दमानी भारतीय सेयर बजारमा त्यो बेलादेखि लगानी गरिरहेका छन्, जुन बेला भारतीय सेयरबजार परिसूचक(सेन्सेक्स) मात्र ६०० अंकमा सीमित थियो । आज उनको पोर्टफोलियोमा ती सबै कम्पनी सामेल छन्, जसले निकै ठूलो नाफा लगानीकर्तालाई दिन सफल भएका छन् । यिनको रणनीतिलाई बुझेर तपाईंले पनि सेयर बजारमा लगानी गरी धनी बन्ने सपना साकार पार्न सक्नुहुन्छ । 

रमेशको टिप्स
-छोटो अवधिका लागि पैसा लगानी नगर्नुहोस् । 
-हरेक क्षेत्रको सेयरमा नजर लगाउने गर्नुहोस् । 
-पोर्टफोलियोमा नगदको प्रयोग निकै कम गर्नुहोस् । 
-कुनै पनि कम्पनीमा पैसा लगाउनुअघि त्यसको ब्यालेन्ससिट अवश्य चेक गर्नुहोस् । 
-सेयर खरीद गर्नुभन्दा बढी त्यसलाई कुन समयमा बेच्न जरुरी र फाइदाजनक हुन्छ, त्यसमा बढी ध्यान केन्द्रीत गर्नुपर्छ । 
-लगानी रणनीति बनाउनुभन्दाअघि तपाईं निश्चित गर्नुहोस् कि तपाई सेयरमा कति लगानी गर्न गइरहनुभएको छ ।
-कुनै पनि सेयर खरीद गर्नुअघि नै तय गर्नुहोस् कि तपाईंले कम्तीमा कति अवधिमा त्यो बिक्री गर्नुपर्नेछ वा गर्नुहुनेछ । 

रामदेव अग्रवाल


भारतीय सेयर बजारका बादशाहमध्येका एक रामदेव अग्रवाल, मोतीलाल ओसवाल कम्पनीका मालिक हुन् । उनको लगानी रणनीति निकै राम्रो मानिन्छ । सन् १९९७ मा जब यिनले हिरो होण्डाको सेयर खरीद गरेका थिए, त्यसबेला कम्पनीको मार्केट क्याप केवल १ हजार करोड भारुको थियो । तर सन् २०१६, १९ जुनसम्मको अवधिमा कम्पनीको मार्केट क्याप ५० करोड भन्दा बढी भइसकेको छ । अग्रवालको कम्पनी मोतीलाल ओसवालको कुल नेटवर्थ १२८० करोड रुपैयाँ भन्दा बढी रहेको छ । 

अग्रवालको टिप्स
-सेयर र अन्य चिजको खरिदारी फरक हो भन्ने बुझ्नुहोस् । 
-सोचविचार नगरी हावाको भरमा कुनै पनि सेयरमा लगानी नगर्नुहोस् ।
-सेयरको गुणस्तर, कम्पनीको ग्रोथ, उसको लङ टर्म प्रवृति वा ट्रेण्डमाथि रिसर्च गर्नुहोस् । 
-सट्टेबाजीबाट बचेर खरीद गर्नुहोस् । 
-सेयर छनौट गर्नुअघि कम्पनीको आम्दानी र फण्डामेन्टल अवश्यक चेक गर्नुहोस् । 
-ब्रोकिङ हाउसको कुशल फण्ड मेनेजर्सलाई मात्र छनौट गर्नुहोस् । 
-यदि तपाईंको सेयरमा धेरै उतारचढाव भइरहेको छ भने नअत्तालिनुहोस् । 

डाली  खन्ना


भारतीय सेयर मार्केटमा डाली खन्ना एक यस्तो नाम हो, जसको टिप्स र रणनीति अपनाएर तपाई पनि बजारमा राम्रो कमाई गर्न सक्नुहुन्छ । खन्नाको पोर्टफोलियोले बितेको १० महिनाको अवधिमा ५० प्रतिशत भन्दा बढी रिटर्न दिन सफल भएको छ । 

खन्नाको टिप्स
-माग हेरेर सेयर छनौट गर्नुहोस् ।
-सेयरमा अर्जुनदृष्टि लगाउनुहोस् । 
-धेरै नाफाको लोभमा नफस्नुहोस् । 
-घाटालाई समेत संभावनामा राखेर मात्र हिसाबकिताब गर्नुहोस् । 

-बिजशाला/एजेन्सी