-राजु पौडेल
अहिले अधिकांश नेपाली जनताको पहुँच ईन्टरनेट र सामाजिक सञ्जालमा पुगेको छ, जसले गर्दा धेरै नेपाली जनतालाई सेयर बजारको बारेमा धेरै चासो बढेको छ । तर अधिकांश नेपाली जनताहरुलाई सेयर बजारको बारेमा धेरै ज्ञान र सेयर शिक्षाको अभाव छ, धेरै नेपाली जनतालाई सेयरमा लगानी गर्ने मन छ, तर सेयर र सेयर बजारको बारेमा ज्ञान र बजारमा पहुँच नहुँदा सेयरमा लगानी गर्ने पुँजी र इच्छा हुँदाहुदै पनि लगानी गर्न सकिरहेका छैनन् ।

आज सेयर शिक्षाको पहिलो भागमा सेयरमा लगानी गर्नु अगाडि लगानीकर्ताले बुझ्नैपर्ने तीन कुराहरुको बारेमा जानकारी गराउँदैछु। 

सेयर बजार के हो ? 
सेयर बजार सेयरको कारोवार अर्थात सेयर खरिदबिक्री हुने स्थान हो, जुन स्थानबाट सेयर खरिदबिक्री हुन्छ । यस्तो सेयर खरिदबिक्री गर्ने स्थान कहाँ हुन्छ भन्ने जिज्ञासा धेरै नेपाली जनतालाई छ ।

सेयर किनबेच हुने बजारलाई नै सेयर बजार भनिन्छ । स्टक एक्सचेञ्जले सेयर बजारको काम गर्छ । नेपालको सन्दर्भमा नेपाल स्टक एक्सचेञ्ज अर्थात नेप्से नै एकमात्र सेयर बजार हो ।  किन्ने र बेच्नेको भेट हुन्छ, जहाँ सेयर बिनिमय हुन्छ । उसका ५० वटा दलालहरु मार्फत किनबेचको काम हुन्छ । लगानीकर्ताहरु दलालहरुको कार्यालयमा जान्छन् र निश्चित प्रक्रिया पूरा गरेर सेयर किनबेचको काम गर्छन । ५० वटा सेयर दलालको राजधानी र विभिन्न जिल्लाका थप ४१ ठाउँमा रहेका कार्यालयहरुमा लगानीकर्ताहरु गएर आफ्नो नाम दर्ता गराई सेयर कारोबार गर्न सक्छन् ।

यसरी सेयर खरिदबिक्री हुने स्थान वा ठाँउलाई सेयर बजार भनिन्छ । तर यति नै भनाइले सेयरबजारको बारेमा बुझ्न सकिदैन । सेयर बजारको बारेमा पूर्ण ज्ञान लिनलाई पहिला हामीले सेयर के हो भन्ने बुझ्नुपर्दछ ।

सेयर के हो ?
सेयर भन्नाले कम्पनीको पूँजीको सबैभन्दा सानो ईकाई वा अंश हो । यसको अंकित मूल्य तोकिएको हुन्छ । नेपालमा धेरै जसो कम्पनीको प्रति ईकाई मूल्य १०० रुपैयाँ तोकिएको छ भने कतिपय कम्पनीको १० रुपैयाँ पनि ईकाई मूल्य छ । सोल्टी होटल र सामुहिक लगानी कोषहरुको प्रति ईकाई मूल्य १० रुपैयाँ छ भने अरुको १००रुपैयाँ छ । कुनै कम्पनीको एक करोड चुक्ता पूँजी छ भने यसको पूँजीलाई १०० रुपैयाँले भाग गर्दा एक लाख कित्ता सेयर हुन्छ ।

कम्पनीको सेयर तीन प्रकारका हुन्छन् :  
१. संस्थापक सेयरः कम्पनी स्थापना गर्दा संस्थापकहरुले लिन कबुल गरेको सेयर
२. अग्राधिकार सेयरः कम्पनीले निश्चित प्रकारको लाभांश दिने कबुल गरी बेचेको सेयर
यसमा पनि दुई प्रकारको हुन्छ :
क. साधारणमा परिवर्तन हुने
ख.साधारण सेयरमा परिवर्तन नहुने 
३.साधारण सेयरः सर्बसाधारणमा बिक्री गरिएको सेयर

सेयरपुँजी के हो ?

कम्पनीका मालिकहरुले लगानी गरेको पुँजीलाई सेयरपुँजी भनिन्छ । संयुक्त पुँजी कम्पनी संचालनका लागि ठूलो मात्रामा पुँजीको आवश्यकता पर्दछ । जुन पुँजी संकलन संस्थापक सेयरधनीहरुबाट मात्र सम्भव हुँदैन । कम्पनी स्थापनाका लागि प्रारम्भिक कार्यहरू प्रवद्र्धकहरुबाट सम्पन्न हुन्छ ।

प्रवद्र्धकहरुले कम्पनीको दर्ता गरी कम्पनीको विकास र विस्तारका लागि आफूसँग भएको रकमले नपुग्ने भएपछि पुँजी संकलनका लागि सार्वजनिक रुपमा सेयर आह्वान गर्नुपर्दछ । सेयर आह्वान गर्दा राज्यले तोकेको केही शर्त चाहि पालना गर्नुपर्छ । यसरी कम्पनीको विकास र विस्तारका लागि सेयर बिक्री गरेर संकलन गरेको पुँजीलाई सेयरपुँजी भनिन्छ ।

पुँजी संकलनका लागि सेयर जारी गर्नुअघि कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर सर्वसाधारणमा निश्कासन गर्दा इक्रा नेपालबाट वा अन्य यस्तै एजेन्सीबाट पनि रेटिङ गराउनु पर्दछ । कम्पनीको वित्तीय अवस्थाको सवलताको आधारमा १, २, ३, ४ र ५ नम्बर रेटिङ दिइने गरिन्छ । इक्रा नेपालले कम्पनीको रेटिङ  १, २ र ३ नम्बर दिएको छ भने कम्पनीको वित्तीय अवस्था सबल र राम्रो छ भन्ने बुझिन्छ भने ४ र ५ नम्बर रेटिङ दिएको छ भने कम्पनीको वित्तीय अवस्था सन्तोषजनक छैन भन्ने बुुझ्नुपर्छ ।

युसप्रकार कुनै पनि कम्पनीको प्राथमिक सेयरमा लगानी गर्दा कम्पनीको रेटिङ नम्बर राम्रो भएको कम्पनीमा लगानी गर्दा राम्रो हुन्छ ।

(यो आर्टिकल लेखकका निजी विचार हुन् । )