काठमाण्डौ । सेयर लगानीकर्ताहरुका धितोपत्र बोर्डले नयाँ वर्ष २०७५ को उपहारको रुपमा घरमै बसेर आफ्नो ब्रोकरलाई अनलाइनबाटै खरीदबिक्रीको आदेश दिन पाइने व्यवस्था लागू गरेको छ । 

बोर्डले सबै धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुलाई एक परिपत्र गरी २०७५ सालको सुुरुदेखि नै इन्टरनेटमार्फत धितोपत्र खरीद बिक्रीका लागि आदेश दिनसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो । 

धितोपत्रको कारोबार प्रक्रियालाई थप सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री बनाउन तथा धितोपत्र दलाल व्यवसायीको कार्यालयमा रहने कारोबार सम्बन्धी अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्न हाल उपयोग गरिरहेको ब्रोकर व्याक अफिस सफ्टवेरमा इन्टरनेटमार्पmत प्राप्त धितोपत्र कारोवार गर्न खरिद बिक्री आदेश दिने व्यवस्था गर्न बोर्डले २०७३ फागुन २६ गते परिपत्र गरेको थियो ।

सो व्यवस्थालाई थप परिमार्जित र सुधार गर्दै जाने क्रममा बोर्डले धितोपत्र दलाल व्यवसायी, हाल प्रयोगमा रहेको ब्रोकर व्याक अफिस प्रणाली प्रदायक कम्पनीहरु तथा लगानीकर्ता संघहरुसँग विभिन्न चरणमा विस्तृत छलफल गरेको थियो । सो क्रममा प्राप्त सुझाव अनुरुप हाल प्रयोगमा रहेको ब्रोकर व्याक अफिस सफ्टवेरमा आवश्यक सुधार गरी उक्त सुविधा समावेश गरिएको जानकारी बोर्डमा प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । बोर्डले इच्छुक लगानीकर्ताहरुले नयाँ वर्षको सुरुवातदेखि नै अनलाइन खरीदबिक्रीको आदेश दिनसक्ने सुविधा पाउने प्रष्ट्याएको छ ।

यो व्यवस्थाको कार्यान्वयनसँगै लगानीकर्ताहरुलाई धितोपत्र खरिदबिक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित हुनुपर्ने झञ्झटको अन्त हुने, धितोपत्रको कारोबार प्रक्रिया तथा अभिलेख सम्वन्धी कार्य थप व्यवस्थित सहज, पारदर्शी, सरल, छिटोछरितो र लगानीकर्तामैत्री हुने र निकट भविष्यमा नेप्सेले लागू गर्न लागेको अनलाइन कारोबार प्रणालीको लागि आधार तयार हुने आफूहरुले अपेक्षा राखेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताएका छन् ।