-राजु पौडेल
सेयर शिक्षा भाग-२ मा आईपिओ र एफपिओको बारेमा जानकारी दिंदै यिनमा सि-आस्वा र आस्वाबाट कसरी आवेदन दिने भन्ने बारेमा जानकारी दिने कोशिश गरिएको थियो । हामीलाई आशा छ सेयर शिक्षा भाग-२ बाट प्राथमिक सेयर बजारको बारेमा तपाईहरुले  ज्ञान लिई विभिन्न कम्पनीका आईपिओ र एफपिओमा लगानी गर्नु भयो होला वा गर्नुहुँदैछ नै  होला। अब तपाईलाई प्राथमिक सेयर बजारमा  खरिद गरेको सेयर बिक्री गर्नलाई दोस्रो बजारमा जानुपर्ने हुन्छ । त्यसकारण सेयर शिक्षा भाग-३ मा दोस्रो सेयर बजार र यहाँबाट सेयर कसरी खरीद गर्ने भन्ने बिषयमा जानकारी दिने कोशिश गरिनेछ ।

अधिकांश शिक्षित नेपाली पढे लेखेका शहरिया जनतालाई त सेयर बजारको बारेमा ज्ञान छैन भने अशिक्षित र दूरदराजका जनताको त कुरै छाडौं । ज्यादै न्यून प्रतिशत नेपाली जनताहरुलाई मात्र  सेयर बजारको बारेमा ज्ञान छ । अहिले धेरै नेपाली जनताहरु प्राथमिक सेयर बजारमा आकर्षक भएको देखिएको छ, आईपिओमा पर्ने गरेको आवेदनलाई हेर्दा यही देखिन्छ।  तर अझै पनि दोस्रो बजारको बारेमा अधिकांश नेपाली जनतालाई ज्ञान छैन र दोश्रो बजारसम्म पहुँच पनि छैन। कतिपय अवस्था मा ज्ञान र पहुँच भए पनि दोस्रो बजार प्राथमिक सेयर बजार भन्दा बढी जोखिम हुने भएकाले जोखिम बहन गर्न नचाहने ब्यक्तिहरु यो बजारमा प्रवेश गर्न चाहदैनन् । तर अहिले ईन्टरनेटको पहुँच संगै विभिन्न अनलाइन मिडियाहरु र फेसबुक ग्रुपहरुमा अधिकांश नेपाली नागारिकहरुको पहुँच पुगेकोले विद्यार्थी, गृहिणी तथा सामान्य नागरिकहरुले पनि दोस्रो बजारमा रुचि देखाउन थालेका छन्। दोस्रो बजारको बारेमा गहिरो अध्यन गरेर, बुझेर, कम्पनीको वित्तीय अवस्थाको अध्यन गरेर उपयुक्त समयमा सेयर कारोवार गर्ने हो भने दोस्रो बजार राम्रो अर्थ आर्जन हुने क्षेत्र पनि हो । त्यसैले पनि अहिले धेरै नेपाली नागरिकहरुको दोस्रो बजारप्रति  पनि क्रमशः आकर्षण बढिरहेको पाइन्छ ।

मलाई धेरै मित्र, साथीभाई, आफन्त, क्याम्पस तहका विद्यार्थी भाइबहिनीहरु र गृहिणी दिदीबहिनीहरुले भन्नुहुन्छ दोस्रो बजारमा सेयर कारोवार गर्ने इच्छा छ, तर दोस्रो बजारको बारेमा पिटिक्कै ज्ञान छैन ।  दोस्रो  बजार भनेको के हो ? यो बजारमा सेयर  खरिदबिक्री कसरी गर्ने हो ? यो बजारमा सेयर खरिदबिक्री गर्न के के चाहिन्छ ? दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न कोसँग सम्पर्क राख्ने हो ? कहाँ गएर सेयर खरिद गर्ने हो ? खरिद गरेपछि पैसा कसरी भुक्तानी गर्ने हो ? सेयर बिक्री गरेपछि कसरी पैसा लिने हो ? कस्ता कम्पनीको सेयर किन्दा राम्रो हुन्छ ? आदि  प्रश्नहरु सोधिराख्नुहुन्छ।

आज म सेयर शिक्षा भाग-३ मा  तपाईहरुका विभिन्न जिज्ञासा मेटाउँदै दोस्रो बजार र यो बजारबाट सेयर खरिद बिक्री गर्ने प्रक्रियाहरुको बारेमा जानकारी गराउनेछु ।

दोस्रो बजार भनेको के हो ?
कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्राथमिक बजारमा आईपिओ जारी गरेको १५-२० दिन भित्रमा  लगानीकर्ताहरुलाई सेयर बाँडफाँड गर्दछ । सेयर बाँडफाँड गरेको ४-५ दिनमा प्राथमिक बजारमा जारी गरेको सेयरलाई नेप्सेमा सूचिकृत गर्दछ । प्राथमिक सेयरलाई नेप्सेमा सूचिकृत गरेपछि सेयर खरिदबिक्री गर्ने स्थानलाई दोस्रो बजार भनिन्छ,  त्यही स्थान वा ब्रोकर कम्पनीबाट उक्त कम्पनीको सेयर खरिदबिक्री गर्न सकिन्छ ।

यसप्रकार प्राथमिक बजारमा निष्कासन गरिएको सेयर पुनः बिक्री वा किनबेच गर्ने बजारलाई नै दोस्रो बजार भनिन्छ । नेपालमा नेपाल स्टक एक्सचेञ्ज एकमात्र दोस्रो बजार हो । दोस्रो बजारमा सेयर खरिदबिक्री ब्रोकरको मध्यस्थतामा लगानीकर्ताबीच हुने भएकोले सेयर किनबेचमा कम्पनीसँग कुनै सम्बन्ध रहन्न ।  कानुनत दुई लगानीकर्ता आफैं बसेर एक अर्काबीचको समझदारीमा सेयरको किनबेच सम्भब नहुने भएकाले सेयरको किनबेच गर्दा धितोपत्र बोर्डबाट इजाजत प्राप्त ब्रोकर कम्पनीहरुमा गई उचित प्रक्रिया पूरा गरी खरिदबिक्री आदेश दिनुपर्दछ  । यसै आदेशअनुसार ब्रोकरले सेयर किनबेच गरिदिने काम गर्छ । यसरी सेयर किनबेच गरिदिएबापत ब्रोकरले कानुनले तोकेबमोजिमको कमिसन लिने गर्छन । 

ब्रोकर कम्पनी भनेका के हुन ?
ब्रोकर भनेका धितोपत्र बोर्डबाट धितोपत्र अर्थात सेयरको कारोबार गर्न इजाजत प्राप्त संस्था हुन् । हाल नेपालमा ५० वटा ब्रोकर कम्पनी र तिनका ४७ वटा शाखाहरु नेपालका प्रमुख  शहरहरुमा छन् । तपाईहरुलाई जहाँ पायक पर्छ, त्यहीको राम्रो ब्रोकर कम्पनीबाट सेयर खरिदबिक्री गर्न सक्नुहुन्छ। ब्रोकर कम्पनी  छनौट गर्दा राम्रो, अहिलेसम्म कुनै कारबाहीमा नपरेको कम्पनी छान्नुहोला । 

दोस्रो बजार बाट सेयर खरिदबिक्री गर्दा निम्न चरण पूरा गर्नु पर्छ:
पहिलो चरण

जसरी अहिले प्राथमिक बजारबाट आईपिओ सेयर किन्न सेयरको विवरण राख्ने खाता डिम्याट अनिवार्य चाहिन्छ,  त्यसैगरी  दोस्रो बजारबाट सेयर किनबेच गर्न ब्रोकरलाई आदेश दिनुअघि लगानीकर्ताले डिम्याट खाता खोल्नु पर्दछ । डिम्याट खाताबिना दोस्रो बजारमा पनि सेयर खरिदबिक्री गर्न पाईदैन । त्यसैले लगानीकर्ताको डिम्याट  खाता अनिवार्य हुनुपर्दछ ।

डिम्याट खाता भनेको के हो ?
डिम्याट खाता भनेको सेयरको विवरण राख्ने खाता हो । जसरी बैंकले निक्षेपकर्ताको खाता खोली रकम जम्मा गरिदिने तथा झिक्ने सुविधा दिएको हुन्छ । रकम जम्मा गर्दा बैंकले खातामा जोड्ने र झिक्दा घटाउने काम गर्छ । त्यसैगरी सेयर कारोवार गर्न र सेयर कारोवारको विवरण राख्न केन्द्रिय निक्षेप प्रणालीमा हरेक सेयर लगानीकर्ताले खाता खोली विभिन्न कम्पनीको सेयर जम्मा गर्छन् । केन्द्रिय निक्षेप प्रणाली अर्थात सिडिएस सेयरको बैंक हो । यो डिम्याट खातामा पनि सेयर खरिद गरेपछि  खातामा जोडिने र बिक्री गरेपछी घट्ने हुन्छ । बिक्री गरी बाँकी रहेको सेयर डिम्याट खातामा मौज्दातको रुपमा रहन्छ । 

तपाईहरुले अहिलेसम्म पनि डिम्याट खाता खोल्नु भएको छैन भने आफूलाई पायक पर्ने ठाउँको कुनै पनि बाणिज्य बैंकको शाखा तथा ब्रोकर कम्पनीमा गएर डिम्याट खाता खोल्न सक्नुहुनेछ । यो खाता खोल्नलाई एउटा फोटो, नागरिकताको प्रतिलिपि र १५० रुपैयाँको आवश्यकता पर्दछ र कतिपय बैंकहरुले उक्त बैंकमा बैंक खाता खोल्दा डिम्याट खाता निशुल्क पनि खोलिदिन्छ्न । डिम्याट खाता दुई भन्दा बढी खोल्नु हुँदैन ।

दोस्रो चरण
दोस्रो बजारमा ब्रोकरसँग कारोवार गर्न कारोवार खाता खोल्नु पर्छ, जसका लागि ग्राहक परिचय विवरण(KYC) भर्नुपर्छ।  सेयर खरिदबिक्री गर्न ग्राहक परिचय विवरण खाता, जुन स्थानको ब्रोकर कम्पनीबाट तपाईहरुलाई सेयर खरिद बिक्री गर्न सजिलो हुन्छ, त्यही स्थानको ब्रोकर कम्पनीमा गएर ग्राहक परिचय विवरण भर्न सक्नुहुनेछ । ग्राहक परिचय विवरण जतिवटा ब्रोकर कम्पनीमा पनि भर्न सक्नुहुन्छ । यसका लागि पनि एउटा फोटो र नागरिकताको प्रतिलिपि चाहिन्छ । ग्राहक परिचय विवरण एक ब्रोकरकहाँ एकपटक भरे पुग्छ ।

तेस्रो चरण
अब तपाईले कुन कम्पनीको कति कित्ता सेयर खरिद गर्ने हो ? त्यही ब्रोकर कम्पनीलाई खरिद आदेश दिन सक्नुहुन्छ । अंकित मूल्य १०० भएका सेयर कम्तीमा १० कित्ताका लागि आदेश दिनुपर्छ अर्थात सेयर खरिदबिक्री गर्दा कुल अंकित मुल्य कम्तीमा १००० रुपैयाँ हुने गरीको संख्यामा आदेश दिनुपर्छ । दोस्रो बजारमा सेयर खरिदबिक्री आदेश  दिने समय आईतबारदेखि बिहीवार बिहान ११ बजेदेखि दिउँसो ३ बजेभित्र हो । 

सेयर खरिदबिक्री गर्दा खरिद तथा बिक्री आदेश  फारम भरेर पेश गर्नु पर्दछ  । पहिलोपटक सेयर किन्दा ब्रोकर कम्पनीलाई आफूले खरिद गर्ने सेयर रकमको केही प्रतिशत रकम  अग्रिम  भुक्तानी गर्नु पर्छ  भने  दुई चार पटक कारोवार गरेपछि ब्रोकर कम्पनीसँग राम्रो परिचय र विश्वास भएपछि आगामी दिनमा अग्रिम पैसा भुक्तानी गर्नु पनि  पर्दैन । त्यसपछि तपाईंहरुले फोनबाटै सेयर खरिदबिक्रीको आदेश  दिन सक्नुहुन्छ । सेयर किनेको तीन चार दिनभित्रमा सेयर किनेको पैसा चेकमार्फत ब्रोकर कम्पनीलाई भुक्तानी गर्नु पर्दछ भने सेयर बिक्री गरेपछि सेयर बिक्रीको चेक अर्थात Debit instruction slip बुझाउनु पर्छ, उक्त चेक डिम्याट खाता खोलेको स्थानमा दिन्छ । त्यसै गरी सेयर बिक्री गरेको तीन चार दिनपछि गएर सेयर  बिक्री गरेको रकमको चेक ब्रोकर कम्पनीबाट लिनु पर्दछ । ब्रोकर कम्पनीले तपाईको सेयर खरिद बिक्री गरिदिएबापत निश्चित प्रतिशत कमिसन लिन्छ । ब्रोकर कम्पनी भनेको सेयर खरिदकर्ता र बिक्रेताको बीचमा बसेर काम गर्ने आधिकारिक मान्यताप्राप्त दलाल कम्पनी हो । 

२०७५ साल बैशाख २ गतेदेखि दोस्रो बजारबाट सेयर खरिदबिक्री गर्ने सुविधाको रूपमा सेमीअनलाइन प्रणालीको सुरुवात पनि  भएको छ ।

सेमी-अनलाइन प्रणालीबाट कसरी सेयर खरिदबिक्री गर्ने ?
ब्रोकर ब्याक अफिसमा विकास गरिएको नयाँ प्रबिधिमा लगानीकर्ताले ब्रोकर ब्याकअफिस सफ्टवेयरमा ईन्टरनेटको सहयोगमा मोबाईल, कम्प्युटर, ईमेल र एसएमसमार्फत ब्रोकरको कार्यालयमा सेयर किनबेचको आदेश दिनसक्ने व्यवस्था गरिएको छ । यसका लागि लगानीकर्ताले सम्बन्धित ब्रोकरको कार्यालयबाट संकेत चिन्ह र गोप्य नम्बर पासवर्ड लिनुपर्छ । लगानीकर्ताले यसरी पठाएको विद्युतीय मागलाई सेयर ब्रोकरले नेपाल स्टक एक्सचेञ्जको कारोवार प्रणालीमा प्रविश्ट गरेपछि खरिद आदेश र बिक्री आदेश मिलेमा किनबेच हुनसक्नेछ । 

निकट भबिस्यमा नेप्सेले लागू गर्न लागेको अनलाईन कारोवार प्रणालीका लागि यसलाई पूर्वअभ्यासको रुपमा पनि हेरिएको छ । यो प्रविधिको सुरुवातसँगै लगानीकर्तालाई दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न ज्यादै सहज भएको महसुस गरिएको छ ।

चौथो चरण
कुनै पनि कम्पनीको सेयर दोस्रो बजारबाट खरिद गर्दा हल्लाको भरमा खरिद नगरी  कम्पनीको वित्तीय विवरणको गहिरो अध्यन गरेर राम्रो कम्पनीको मात्र सेयर खरिद गर्नुहोला । 

वित्तीय विवरण सम्बन्धित कम्पनीको website, धितोपत्र तथा नेप्से को धभदकष्तभ, विभिन्न पत्रपत्रिका र कम्पनीको Annual Report  बाट अध्यन गर्न सक्नु हुन्छ । यस्तै बिजशाला डटकम(bizshala.com)जस्ता सशक्त आर्थिक अनलाइनहरुको विश्लेषण समेत हेर्न सकिन्छ ।  

बैंकमा न्यून ब्याजदरमा पैसा बचत गरेर राख्नु भन्दा राम्रो कम्पनीको सेयरमा दीर्घकालीन लगानी गरे, सेयरबाट ज्यादै  राम्रो प्रतिफल पाउन सकिन्छ । 

(लेखक सेयर बजारका अद्येता हुन् ।)