काठमाण्डौ । यदि तपाईं सेयरबजारबाट  राम्रो कमाई गर्न चाहनुहुन्छ भने तपाईंले सेयर बजार र यसमा लगानी गर्दा अपनाउनुपर्ने आधारभूत कुराहरुमा बढी ध्यान दिनुपर्छ । यी यस्ता नियम हुन्, जसलाई बजारमा सफल हुने लगानीकर्ताले लगातार पछ्याउँछन् । बिजशाला डटकम विदेशी र स्वदेशी सेयर विज्ञहरुको सहयोगमा यस्तै ६ महत्वपूर्ण टिप्स बताउन गइरहेको छ, जसको मद्धतले तपाईंले पूँजीबजारबाट कुस्त रकम कमाउन सक्नुहुन्छ । 

विश्व बजारमा सेयरका बादशाह भनेर चिनिइने वारेन बफे(ट) लगायतका सेयरका खेलाडीहरु जस–जसले सफलता पाएका छन्, उनीहरुको सफलताका केही कुराहरु समान छन् । लगानीका यी साझा मन्त्रहरुका कारण सेयरका यी बादशाहहरुको लगानी रकम अहिले कयौं गुणा बढिसकेको छ । २०१६ अगस्टसम्ममा वारेन बफे(ट)को कुल सम्पत्ति ६ हजार ६ सय ४० करोड डलरभन्दा बढी पुगेको छ । यति धेरै सम्पत्ति उनले सेयरमा बुद्धिमतापूर्वक लगानी गरेरै आर्जन गरेका हुन् । उनले अरु सफल सेयर खेलाडीजस्तै तल प्रस्तुत ६ कुरालाई लगानीको मूल मन्त्र मानेका थिए ।  

हेरौं सेयर बजारमा प्रवेश गरेर सफल खेलाडीहरुले बनाएका ६ महत्वपूर्ण लगानी मन्त्रहरु :

अरुलाई नपछ्याउनुहोस्, अरुले पछ्याउने बन्नुहोस्
अरुले कुनै कम्पनीको सेयरमा लगानी गरिरहेका कारण मात्रै तपाईं पनि त्यसमा पैसा हालिरहनुभएको छ भने त्यो तपाईको महाभूल हुनेछ । अरुलाई  हेरेर लगानी गर्न थाल्नुभयो भने तपाईं सेयरबाट मालामाल होइन, कंगाल बन्न बेर लाग्दैन । सेयर बजारमा सफल हात पार्ने एक सूत्र हो, पूँजीबजारका कुनै पनि खेलाडीलाई तपाईंले पछ्याउन नपरोस्, बरु तपाईलाई अरु लगानीकर्ताले पछ्याउन् । 

वारेन बफे(ट)ले पनि भनेका छन् कि जब तपाईंको छेउको व्यक्ति लालचमा आइरहेको छ भने तपाई चाहि सतर्क बन्नुपर्छ । यस्तै, यदि अर्को कुनै व्यक्ति सतर्क हुन खोजिरहेको छ भने सोच्नुुहोस्, उसले कमाउने बिषयमा सोच्न थालिसकेको छ । 

लगानीका लागि उपयुक्त समय नपर्खनुहोस्
वारेन बफे(ट) वा अन्य सेयर खेलाडीहरुले समेत भनेका छन् कि लगानीका लागि बजारमा कुनै खास समय भन्ने हुँदैन । उनीहरुका अनुसार लगानीका सबै समय सही समय हो । बफे(ट)का अनुसार बजारमा लगानीको अवसर आउला भनेर प्रतिक्षा गर्नु पनि मूर्खता र भूल हो । यस्ता मानिस सेयरमा सफल बन्नै सक्दैनन् । यदि कुनै पनि राम्रो कम्पनीको सेयर राम्रै मूल्यमा छ भने पनि त्यसमा लगानी गर्न डराउनुहुन्न । कारण, यस्तो सेयर भोलि माथि उक्लिने त छँदैछ, यस्ता कम्पनीको सेयरले तपाईलाई रिटर्न पनि राम्रै दिन्छ । बजारमा तपाईंले खरीद गर्न चाहेको समयमा निरन्तर दवाब देखिइरहेको छ भने पनि नअत्तालिनुहोस् र बुद्धिमतापूर्वक राम्रो कम्पनीको सेयरमा लगानी गर्नुहोस्  । सेयर विज्ञहरुका अनुसार आम लगानीकर्ता सही समय आउँछ र लगानी गरौंला भनेर बस्छन, तर त्यस्तो समय कहिल्यै आउँदैन र लगानी गर्ने अवसर नै गुमाउँछन । अनि जब समय बित्छ र बजारको चाल देखेर निकै उच्च स्तरमा पुगेको सेयरमा लगानी गरिदिन्छन् र घाटा व्यहोर्न बाध्य हुन्छन् । 

एकैपटक सबै रकम नहाल्नुहोस् 
पूँजीबजारमा अक्सर उतारचढाव भइरहन्छ । यस्तो अवस्थामा नाफा कमाउने तेश्रो नियम पनि हुन्छ, त्यो हो पूरा पैसा एकैसाथ कहिल्यै पनि भूलेर लगानी नगर्ने । यदि कुनै सेयरमा तपाईं लगानी गर्न चाहनुहुन्छ भने तपाईंसँग भएको कुल रकमलाई कयौं हिस्सामा बाँड्नुहोस् र क्रमशः थोरै थोरै रकमको मात्र खरीदारी गर्नुहोस् । यदि सेयरमा गिरावट आयो भने खरिदारी जारी नै राखेर तपाईंले सो बेला खरीदको अनुपात वा गति चाहि घटाउनुपर्ने हुन्छ । 

लक्ष्यप्रति बढी व्यवहारिक र जिम्मेवार 
नेपालको पूँजीबजारमा वार्षिक रुपमा निकै राम्रो रिटर्न दिने सेयरको कुनै कमी छैन । तर, सबै सेयरहरुबाट उस्तै रिटर्नको अपेक्षा गर्नु गलत सोंचाई हो । मजबुत सेयरमा स्थिर ढंगले बढोत्तरी भएको देख्न सकिन्छ । यस्तो अवस्थामा बजारको सुरक्षित लगानी निकै बलियो र चर्चित सेयरमा कम समयमा धेरै ठूलो रिटर्नको संभावना पनि निकै कम हुन्छ । 

तर, लामो समयसम्म कुर्न सक्नुभयो भने यस्ता सेयरले तपाईंलाई निकै शानदार र अपेक्षा नै नगरिएको रिटर्न दिन्छ । यदि बजारमा तपाईंले गरेको लगानीको रिटर्न बार्षिक १५ प्रतिशत र त्यसभन्दा माथि भइरहेको छ भने यसलाई राम्रो संकेत मान्नुपर्दछ । 

भावनामा नबहकिने, दिमाग लगाएर काम गर्ने
पूँजी बजारमा धेरै मानिसहरु रातारात करोडपति हुने सपना सँगालेर प्रवेश गर्छन । तर वास्तविकता चाहि बजारमा तीव्र गतिको प्रगति मात्र हुँदैन, तीव्र गतिको क्षति समेत व्यहोर्नुपर्ने हुनसक्छ । बजारमा लगानी गर्नुपूर्व आफ्नो लगानीको स्तरको बिषयमा अनुसन्धान गर्नुपर्छ । यदि तपाईंले कसैको सल्लाहमा काम गरिरहनुभएको छ भने जान्ने कोशिश गर्नुपर्छ कि सल्लाह दिनेले आफूलाई कुन आधारमा सल्लाह दिइराखेको छ । सबै कुरा बुझेर एकपटक निर्णय लिएपछि त्यसलाई बारम्बार बदल्ने भूल नगर्नुहोस् । दिमाग लगाएर सेयरको छनौट र त्यसमा लगानीको उचित निर्णय लिनुपर्छ । 

बजारमा कुनै पनि कम्पनीको सेयरमा तपाईं जानुभन्दा अगाडि अरु कसैले लगानी गरेर कमायो भनेकै भरमा लगानी गर्नुहुँदैन । त्यसकारण तपाईंले लगानी गर्न लागेको सेयरमा पैसा हालेर आगामी दिनमा तपाईं आफूले चाहि पैसा कमाउनुहुन्छ या हुँदैन भन्ने कुराको गहन अध्ययन, अनुसन्धान गरेर मात्र पैसा हाल्नुपर्छ । 

लामो समयको लगानीमा समझदार र धैर्यवान बन्नुपर्छ

नेपालमा पछिल्लो समय धेरै सूचिकृत कम्पनीको सेयर मूल्य अचाक्ली बढिरहेको छ । तर नेप्सेको बढोत्तरी र इण्डेक्स समेत १८८१ को उच्च स्तरमा पुगेर करेक्सनको मोड लिइरहँदा लामो समयसम्मका लागि गरिएका लगानीहरुलाई नै बढी फाइदा पुगेको छ । किनभने छोटो अवधिका लागि लगानी गर्ने लगानीकर्ताहरु बजार बढ्नुअघि नै बढ्ने आँकलनमा लगानी सुरु गर्छन र बजार तल झर्छ भन्ने आशंका जन्मिएपछि आफ्नो नाफा सुरक्षित गरेर केही दिनमै बिक्री गरिदिन्छन । यसको अर्थ, लामो समयका लागि लगानी गर्नेहरुले नै बजारको वास्तविक बढाईको वास्तविक फाइदा लिइरहेका हुन्छन् । तसर्थ, सेयर बजारमा लगानीबाट राम्रो रिटर्न पाउन लगानीकर्ता धैर्यवान पनि हुनुपर्छ ।