राजु पौडेल
आज म सेयर शिक्षा भाग-६ मा प्रतिसेयर नेटवर्थ, बुक क्लोज र मूल्य समायोजनको बारेमा नयाँ लगानीकर्ताहरुलाई जानकारी दिने जमर्को र्गर्दैछु ।

किताबी मूल्य वा नेटवर्थ भनेको के हो ? नेटवर्थ कसरी निकालिन्छ ?

कम्पनीको चुक्तापुँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ हो । कुल नेटवर्थलाई कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिसेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ । नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने शेषका रूपमा पनि बुझ्न सकिन्छ । जस्तै: तपाईले तीन करोड रुपैयाँमा घर बेच्नु भयो तपाईलाई घर निर्माण गर्दा ८० लाख रुपैयाँ ऋण लागेको थियो । घर बेचेर आएको ३ करोड रुपैयाँमध्ये ८० लाख रुपैयाँ ऋण तिरेपछिको बाँकी दुई करोड २० लाख रुपैयाँलाई खुद सम्पत्ति वा नेटवर्थ भनिन्छ । अर्थात कुल सम्पत्ति(कुल दायित्व नै कुल नेटवर्थ हो ।

प्रतिसेयर किताबी मूल्य वा नेटवर्थ निकाल्ने सूत्र यसप्रकार छः
प्रतिसेयर नेटवर्थ= कुल किताबी मूल्य ÷कुल साधारण सेयर संख्या 
प्रतिसेयर नेटवर्थ धनात्मक वा ऋणात्मक कुनै पनि हुन सक्छ ।

धनात्मक प्रतिसेयर नेटवर्थःधनात्मक प्रतिसेयर नेटवर्थले तत्काल कम्पनी बन्द हुने हो भने सेयरधनीले कम्पनीबाट एक सेयर बराबर फिर्ता प्राप्त गर्नसक्ने रकमलाई जनाउँदछ । जस्तै कुनै कम्पनीको प्रतिसेयर नेटवर्थ ४२५ हुनु भनेको तत्काल कम्पनी बन्द भएमा दायित्वको भुक्तानी गरिसकेपछि सेयरधनीले उक्त कम्पनीबाट प्रतिसेयर ४२५ रुपैयाँसम्म फिर्ता पाउन सक्छ भन्ने बुझिन्छ । धनात्मक प्रतिसेयर नेटवर्थले कम्पनीको वित्तीय स्वास्थ्यतासँगै लगानी सुरक्षाको पनि मापन गर्दछ । त्यसकारण धनात्मक र उच्च नेटवर्थ भएका कम्पनीको सेयर खरिद गर्नु लगानीको दृष्टिकोणबाट सुरक्षित मानिन्छ ।

ऋणात्मक नेटवर्थः कम्पनी तत्काल बन्द हुँदा सेयरधनीले कम्पनीबाट केही पनि नपाउने उल्टो कम्पनीलाई रकम तिर्नुपर्ने अवस्थालाई ऋणात्मक नेटवर्थ भनिन्छ । तर, संयुक्त पुँजी कम्पनीमा सेयर लगानीकर्ताको दायित्व सीमित हुने भएकोले कम्पनी बन्द हुँदा वा टाट पल्टिँदा पनि सेयरधनीले थप रकम भने कम्पनीलाई तिर्नु पर्दैन । कुनै पनि कम्पनी लगातार घाटामा गएर संचित नोक्सानी बढ्दै गई सेयरपुँजीभन्दा संचित नोक्सानी बढी भएमा नेटवर्थ ऋणात्मक हुन जान्छ । सेयर संख्या बढदै जाँदा प्रतिसेयर नेटवर्थ घट्दै जान्छ । कम्पनीले बोनस सेयर, हकप्रद सेयर तथा थप सेयर जारी गर्दा सेयर संख्या बढ्न गई प्रतिसेयर नेटवर्थ घट्न जान्छ । प्रतिसेयर नेटवर्थ घट्न जाँदा बजारमा सेयरको मूल्य पनि घट्न जान्छ । अर्कोतिर प्रतिसेयर नेटवर्थ बढ्दै जाँदा बजारमा सेयरको मूल्य पनि बढ्दै गएको पाईन्छ । यसरी प्रतिसेयर नेटवर्थ र सेयर मूल्यको सम्बन्ध सकारात्मक हुन्छ।

हामी सेयर लगानीकर्ताले दोस्रो बजारमा कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुअघि यो नेटवर्थको सूचकलाई गहिरो सँग अध्ययन गरेर मात्र सेयरमा लगानी गर्नुपर्दछ । साथै लगानीकर्ताले कुनै पनि कम्पनीको सेयर छनोट गर्दा नेटवर्थ र बजार मूल्यको फरक न्यून भएका वा बजार मूल्य र नेटवर्थको अनुपात तुलनात्मक रुपमा कम भएका र उच्च धनात्मक नेटवर्थ भएका कम्पनीको सेयर छनोट गर्नु उपयुक्त हुन्छ ।

बुक क्लोज र मूल्य समायोजन भनेको के हो ?
धेरै नयाँ लगानीकर्ताहरुलाई दोस्रो बजारबाट कहिलेसम्म सेयर खरिद गर्दा नगद लाभांश बोनस सेयर र हकप्रद सेयर पाईन्छ साथै साधारण सभामा भाग लिनलाई कहिलेसम्म सेयर खरिद गर्ने भन्ने कुराको ज्ञान नहुँदा बोनस सेयर र हकप्रद सेयर छुटेको र बोनस तथा हकप्रद सेयर खाने साधारणसभामा भाग लिने भनेरै बुक क्लोज पछाडि सेयर खरिद गरेर फसेको अवस्था पनि छ । आज म नयाँ लगानीकर्ताहरुलाई दोस्रो बजारबाट कुन मितिसम्म सेयर खरिद गर्दा बोनस सेयर र हकप्रद सेयर लिन पाइन्छ भन्ने कुराको अवगत गराउँदछु ।

दोस्रो बजारबाट कुन मितिसम्म सेयर खरिद गर्दा नगद लाभांश बोनस सेयर र हकप्रद सेयर प्राप्त गर्न सकिन्छ भनेरै छुट्याउने मितिलाई बुक क्लोज मिति भनिन्छ । बुक क्लोज मिति नगद लाभांश, बोनस सेयर र हकप्रद सेयरको वितरणका लागि मात्र नभएर साधारणसभा प्रयोजनका लागि पनि तोकिएको हुनसक्छ । जस्तै ः  देव विकास बैंकले फेरि असार १५ देखि २७ गतेसम्मलाई बुक क्लोज मिति घोषणा गरेपपछि लगानीकर्ता अलमलमा परेका छ्न् । धेरै लगानीकर्तालाई यो बुक क्लोज मिति लाभांश प्रयोजनका लागि हो कि भन्ने भ्रम परेको छ । जब कि लाभांश प्रयोजनका लागि गत कार्तिक २२ गते नै बुक क्लोज मिति तोकिसकेको हो । त्यसकारण लगानीकर्ताले कुनै कम्पनीले कुन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको हो भन्ने कुरा बुझ्नु पर्दछ ।

नेपाल टेलिकमले ५० प्रतिशत नगद लाभांशका लागि २०७४ बैशाख ५ गतेलाई बुक क्लोज मिति तोकेको थियो । बैशाख ४ गते नेपाल टेलिकमको बजार मूल्य रु ७५० थियो भने । अब लगानीकर्ताले बैशाख ४ गतेसम्म नेपाल टेलिकमको सेयर खरिद गरेमा ५० प्रतिशत नगद लाभांश खान पाउने छ्न् ।

बोनस सेयर वितरणका लागि सिद्धार्थ बैंकले २०७४ पुस १० गतेलाई बुक क्लोज मिति तोकेर ३० प्रतिशत बोनस सेयर घोषणा गर्यो, सो उक्त कम्पनीको बजारमूल्य पुस ९ गते रु ३८० थियो भने अब २०७४ साल पुस ९ गतेसम्म दोस्रो बजारबाट सेयर खरिद गर्ने लगानीकर्ताले ३० प्रतिशत बोनस सेयर खान पाउनेछ्न् । 

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २०७५ जेठ १५ गतेलाई बुक क्लोज मिति तोकेर ४० प्रतिशत हकप्रद सेयर घोषणा गरेको छ । जेठ १४ गतेको दिन यस कम्पनीको बजार मूल्य ९६० थियो भने अब जेठ १४ गतेसम्म दोस्रो बजारबाट सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले ४० प्रतिशत हकप्रद सेयर खान पाउने छन् । जेठ १४ गते पछि सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर खरिद गर्नेले ४० प्रतिशत हकप्रद पाउने छैनन् । यसरी बुक क्लोजको  मितिको अघिल्लो दिनसम्म सेयर खरिद गर्नेले मात्र नगद लाभांश, बोनस सेयर र हकप्रद सेयर पाउन सक्नेछ्न् ।

नगद लाभांश, बोनस सेयर र हकप्रद सेयर बितरणपछि कसरी हुन्छ मूल्य समायोजन ?
१.नगद लाभांश बितरण पछिको मूल्य समायोजन यसरी गरिन्छः
बुक क्लोजपछिको मूल्य=बुक क्लोजभन्दा अघिल्लो दिनको सेयरको अन्तिम मूल्य-प्रतिसेयर नगद लाभांश ।

माथिको उदाहरण अनुसार नेपाल टेलिकमले घोषणा गरेको ५० प्रतिशत नगद लाभांशको मूल्य समायोजन यसरी गरिन्छ ।
रु ७५०-५०= रु ७००

अब यो कम्पनीको बैशाख ५ गते बजारमा कारोबार हुँदा प्रतिसेयर नगद लाभांश ५० रुपैयाँले घटेर ७०० बाट सुरु हुनेछ ।

२.बोनस सेयरको मूल्य समायोजन यसरी गरिन्छः
बुक क्लोज भन्दा अघिल्लो दिनको सेयरको मुल्य भागा १ं+ बोनस सेयर दर

माथिको उदाहरणबाट सिद्धार्थ बैंकको ३० प्रतिशत बोनस सेयर वितरणको मूल्य समायोजन गर्दा मूल्य निम्न अनुसार हुन्छः
रु ३८० ÷ १ं+०.३= रु २९२
यसरी ३० प्रतिशत बोनस वितरणपछि अब यो कम्पनीको सेयर कारोबार पुस १० गते रु २९२ मा सुरु हुन्छ ।

३. हकप्रद सेयर जारी गर्दा बुक क्लोजपछिको मूल्य समायोजन यसरी गरिन्छः
बुक क्लोजभन्दा अघिल्लो दिनको सेयरको मूल्य+ हकप्रद सेयरको कुल अंकित मूल्य भागा १ं+ हकप्रद सेयर दर

माथिको उदाहरणमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद वितरणपछिको मूल्य समायोजन यसरी गरिन्छः

रु९६०+४०÷१.४०=७१४

यसरी जेठ १५ गते सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर कारोवार रु ७१४ बाट सुरु हुनेछ।

अब लगानीकर्ताले बुक क्लोज अगाडि सेयर खरिद गर्दा उपयुक्त हुन्छ कि पछाडि खरिद गर्दा उपयुक्त हुन्छ भन्ने कुराको विश्लेषण गर्नु पर्दछ । यदि समग्र बजार बढ्दो ट्रेन्डमा छ र कम्पनीको वित्तीय सूचक सकारात्मक छ भने बुक क्लोज अगाडि दोस्रो बजारबाट सेयर खरिद गर्नु उपयुक्त हुन्छ । यदि समग्र बजार घट्दो ट्रेन्डमा छ भने बुक क्लोज पछाडि सेयर खरिद गर्दा उपयुक्त हुन्छ ।

यस प्रकार माथिका कुराहरु बुझेर दोस्रो बजारबाट सेयर खरिद गर्नु भयो भने लगानीकर्ता नगद लाभांश, बोनस सेयर, हकप्रद सेयर र साधारण सभामा भाग लिन बाट बञ्चित हुनुपर्ने छैन ।
(लेखक नेपाल पुँजीबाजार लगानीकर्ता संघका कोषाध्यक्ष हुन् ।)