काठमाण्डौ । बजार घटेर न्यून विन्दूमा पुगेको बेला राम्रा कम्पनीको सेयर सस्तोमै किन्न केही लगानीकर्ता सलबलाएपछि बजार मंगलबार केही सुधार  भई स्थिर भएको छ । ठूला बैंक तथा  बजारका राम्रा र बलिया कम्पनीको मूल्य समेत घटेर न्यून विन्दूमा झरेका कारण कतिपय लगानीकर्ता यो अवसरको सदुपयोग गर्दै सेयर खरिदमा लागेका कारण बजार धेरै नघटी स्थिर अवस्थामा पुगेको हो । 

बजारमा नियमित लगानी गर्नेहरु समेत बजार घटेको बेला खरीद गर्न चाहने, तर बैंकहरुको मार्जिन कलका कारण थप लगानी गर्न नसक्ने अवस्थामा रहेका उनीहरु स्वयम् बताउँछन् । बैंकहरुको मार्जिन कलका कारण ऋण तिर्न भएको सेयर समेत बिक्री गर्नुपर्ने आफूहरुको बाध्यताका कारण चाहदा चाहँदै पनि लगानी गर्न नसकिएको केही लगानीकर्ताले बिजशालालाई बताए । 

उनीहरुको कुरालाई पत्याउने हो भने बजार घटेको बेला लगानी गर्नुपर्छ भन्नेहरुको संख्या क्रमशः बढ्दै गएको छ । बजार न्यून विन्दूमा झरेको अवस्थालाई लगानीको स्वर्णिम समय मान्नेहरुलाई पूँजीको भने अभाव भएका कारण बजार अपेक्षित गतिमा बढ्न नसकेको देखिन्छ । 

त्यसो त धेरै लगानीकर्ता आगामी साता सार्वजनिक हुने मौद्रिक नीतिको प्रतिक्षामा समेत छन् । कतिपय लगानीकर्ता सेयरमा लाग्ने विविध करको बिषयमा उठेका अन्यौल शीघ्र अन्त भएको हेर्न चाहन्छन् । 

अर्कोतर्फ, दोश्रो बजार नै डामाडोल हुने गरी प्राथमिक बजारमा पछिल्ला दिन सेयरको बाढी आएको छ । धितोपत्र बोर्डले लामो समयदेखि होल्डमा राखेका कम्पनीहरुलाई धमाधम एफपीओ र आइपीओ निश्कासनको अनुमति दिइरहेको छ । त्यसकारण जोखिमपूर्ण दोश्रो बजारमा लगानी गर्न छाडेर कतिपय लगानीकर्ता प्राथमिक बजारतर्फ मोडिँदा समेत बजारले अपेक्षित गति लिन गर्न सकेको छैन । 

मंगलबार नेप्से परिसूचक ०.६५ अंकले मात्र बढ्यो । यो दिन ‘क’ वर्गका कम्पनीहरुमा केही भए पनि खरीद चाप देखियो, यहीकारण सेन्सेटिभ इण्डेक्स ०.२२ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.११ अंकको बढोत्तरी देखियो । 

यो दिन बैंकिङ समूह ३.५३ अंकले बढ्यो । यस्तै, होटल समूह ६.५३ अंक, बित्त समूह १.९८ अंक, उत्पादनमूलक १५.४४ अंक तथा अन्य समूह ०.७१ अंकले बढे । 

यो दिन विकास बैंक समूहमा ०.१६ अंकको झिनो गिरावट आयो । यस्तै, जलविद्युत समूह १६.४७ अंकले घटेको यो दिन बिमा समूह २८.६७ अंक र माइक्रोफाइनान्स समूह ९.५४ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६२ कम्पनीका ९ लाख १५ हजार १ सय ३६ कित्ता सेयर २१ करोड ८१ लाख ९८ हजार ९ सय ९८ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी सिद्धार्थ बैंकको २ करोड ३१ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यसैगरी, प्राइम कमर्सियल बैंक लिमीटेडले १  करोड १५ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ९३ लाख, एभरेष्ट बैंकले ७८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंके ६४ लाख, कुमारी बैंकले ५९ लाख, नेपाल टेलिकमले ५६ लाख, एशियन लाइफ इन्स्योरेन्सले ५३ लाख, नवील बैंकले ५२ लाख र फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ४४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा लक्ष्मी बैंक लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो बैंकको सेयर मूल्य ४.८४ प्रतिशतले वृद्धि भयो । यस्तै, रिदी
हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समेत ४.१७ प्रतिशतले बढ्यो । 

यो दिन रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले पहिरो व्यहोरे । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । हाथ्वे फाइनान्सको सेयर मूल्य पनि ६ प्रतिशत भन्दा बढीले घट्यो ।