-राजु पौडेल

सेयर शिक्षा भाग-७ मा डिम्याट खाता र यो खाता खोल्ने तरीकाको बारेमा जानकारी दिन गइरहेको छु । 

जब धितोपत्र बोर्डले २०७३ साल श्रावण १ गतेदेखि काठमाण्डौ उपत्यकाभित्र र २०७३ साल माघ १ गतेदेखि देशभरि नै सार्वजनिक निष्कासनमा सेयर आवेदन गर्ने आवेदकले दरखास्त फारममा अनिवार्य रूपमा डिम्याट खाता उल्लेख गर्नु पर्ने र सोही खातामा बाँडफाँड भएको सेयर जम्मा गर्नुपर्ने  व्यवस्था गर्यो । त्यसपछि सेयर लगानीकर्ताहरु बीचमा यो खाताबारे चर्चा हुँदै आइरहेको छ । अहिले धेरै लगानीकर्ता सेयरबजारप्रति आकर्षित भएका छ्न् । त्यस्ता नयाँ लगानीकर्ता जो सेयरबजारमा प्रवेश गर्ने सोचमा हुनुहुन्छ, उहाँहरु जस्ता नवप्रवेशी लगानीकर्तालाई डिम्याट खाताको बारेमा जानकारी नहुन सक्दछ । त्यस्ता लगानीकर्तालाई लक्षित गरी यो भागमा केन्द्रिय निक्षेप प्रणाली र डिम्याट खाताको बारेमा जानकारी दिने कोशिश गरेको छु ।

डिम्याट खाताको बारेमा जानकारी लिनु अगाडि डिम्याट खाता संचालन गर्ने कम्पनी केन्द्रिय निक्षेप प्रणालीको बारेमा जानकारी हुनु पर्दछ । 

केन्द्रिय निक्षेप प्रणाली भनेको के हो ?
केन्द्रिय निक्षेप प्रणाली अर्थात सिडिएस सेयरको बैंक हो । यसले भौतिक तथा अभौतिक रूपमा धितोपत्र धारण गरी किताबी प्रबिष्टिमार्फत हकहस्तान्तरण कार्य सम्भव बनाउँदछ । केन्द्रिय निक्षेपले धितोपत्र बजारमा सूचिकृत भएका तथा बिद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने वितरण वा बाँडफाँड भएका धितोपत्र सम्बन्धित धितोपत्र धनीबाट आफ्नो जिम्मामा लिर्इ धितोपत्र धनीहरुको धितोपत्र सम्बन्धित डिम्याट खाता खोल्ने तथा धितोपत्र वा उपकरणहरुको नामसारी वा खातामा अभिलेख गर्ने कम्पनी हो ।

डिम्याट भनेको के हो ?
डिम्याट भनेको कागजी रूपमा रहेको  भौतिक सेयर प्रमाणपत्रहरुलाई विद्युतीय प्रणालीमा अभिलेख राख्ने कार्य हो ।   अर्थात भौतिक रूपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक( इलेक्ट्रोनिकीकरण) गर्ने प्रक्रिया हो । 

सेयर बजारमा प्रचलनमा रहेको कागजी प्रक्रियालाई सुरक्षित बनाउन र व्यवस्थित गर्न सेयर प्रमाणपत्रलाई डिम्याट गरिन्छ । डिम्याटको सुरुवातले सेयर कारोबार छिटोछरितो गर्न सघाएको छ । सेयरको अभौतिकीरणले सेयर प्रमाणपत्र बोकेर हिँडने, च्यातिने, बिग्रने, हराउने जस्ता समस्याबाट लगानीकर्ताले मुक्ति पाएका छन् । 

हितग्राही भनेका को हुन् ?
हितग्राही भन्नाले निक्षेप सदस्य मार्फत सिडिएससिमा धितोपत्र निक्षेप गर्न हितग्राही खाता खोलेका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने धितोपत्र ग्रहण गरेका व्यक्ति हुन् ।

हितग्राही(डिम्याट) खाता भनेको के हो ?
हितग्राहीले धितोपत्र निक्षेप गर्न निक्षेप सदस्यमार्फत केन्द्रिय निक्षेप कम्पनीसँग बेग्लै खाता नम्बरबाट खोलेको विद्युतीय खाता नै हितग्राही खाता हो । हितग्राहीले सिडिएससिमा डिम्याट खाता खोल्न निक्षेप सदस्यमार्फत सम्पूर्ण विवरणहरु प्रणालीमा प्रविष्टि गरेपछि प्रणालीबाट उत्पन्न हुने १६ अंकको पृथक डिम्याट नम्बर उपलब्ध गराईन्छ  । भविष्यमा गरिने सबै सेयर कारोवारहरुमा यो नम्बर उल्लेख गर्नुपर्दछ । 

डिम्याट खाता कहाँ र कसरी खोल्ने ?
डिम्याट खाता धितोपत्र बोर्डबाट निक्षेप सदस्यको कार्य गर्न अनुममति पत्र प्राप्त निक्षेप सदस्यता लिएका बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक र ब्रोकर कम्पनी मार्फत खोल्न सकिन्छ ।  सिडिएससिमा खाता खोल्ने प्रक्रिया पनि बैंकमा खाता खोल्ने प्रक्रिया जस्तै हो । जसरी बैंक खाता खोल्न विभिन्न कागजपत्र आवश्यक हुन्छ्न्, त्यसैगरी, डिम्याट खाता खोल्न पनि आवश्यक कागजातहरु पेश गरी खाता खोल्ने फाराम भरेर बुझाएपछि निक्षेप सदस्यले सिडिएस लिमिटेडको प्रणालीमा प्रविष्ट गर्दछ । उत्तm प्रविष्टिलाई सिडिएससिबाट सदर भएपश्चात डिम्याट खाता खुल्दछ र हितग्राहीलाई सदर गरेको पत्र प्राप्त भएपछि डिम्याट खाता खोल्ने प्रक्रिया पूरा हुन्छ । डिम्याट खाता खोलेपछि आफूसँग भएका वा खरिद गरेका सेयर यही खातामा जम्मा हुन्छ्न् । जसरी बैंक खातामा पैसा जम्मा गरिन्छ भने डिम्याट खातामा सेयर जम्मा गरिन्छ । डिम्याट खाता खोलेपछि हितग्राही अथवा लगानीकर्तालाई १६ अंकको डिम्याट खातानम्बर र चेक बुक अर्थात हस्तान्तरण निर्देशन पुर्जी दिइन्छ ।  सेयर खरिदबिक्री गर्दा डिम्याट खाता ब्रोकर कम्पनीलाई दिनुपर्ने हुन्छ । सेयर खरिद गरेपछि सेयर डिम्याट खातामा जम्मा हुन्छ भने सेयर बिक्री गर्दा चेक काटेर ब्रोकर कम्पनीलाई दिएपछि सेयर खाताबाट सेयर खरिदवालाको खातामा सेयर हस्तान्तरण भर्इ हाम्रो डिम्याट खाताबाट सेयर घट्दछ ।

डिम्याट खाता खोल्न के-के कागजात चाहिन्छ ?
डिम्याट खाता अनुमतिप्राप्त कुनै पनि सदस्य कहाँ खोल्न सकिन्छ । खाता खोल्न पहिला नै कुनै प्रकारको सेयर हुनैपर्छ भन्ने हुँदैन । सेयर हुने र नहुने सबैले यो खाता खोल्न सक्छ्न् । डिम्याट खाता खोल्न खाता खोल्ने सम्बन्धित लगानीकर्ताको तीन पुस्ते विवरणसहित नागरिकताको फोटोकपि, फोटो आवश्यक हुन्छ । परिवारको एक सदस्यले खाता खोलेर सबै सदस्यलाई हुँदैन, हरेक सदस्यले अलग अलग डिम्याट खाता खोल्नु पर्दछ । नाबालकको हकमा नाबालकको फोटो, जन्मदर्ता प्रमाणपत्रको फोटोकपी र संरक्षकको नागरिकताको फोटोकपी आवश्यक हुन्छ । डिम्याट खाता खोल्न रु ५०  र वार्षिकी खाता संचालन शुल्क रु १०० गरी सुरुमा खाता खोल्दा रु १५० लाग्दछ भने प्रत्येक बर्ष रु १०० तिरेर डिम्याट खाता नविकरण गर्नु पर्दछ ।

पहिलै सेयर प्रमाणपत्र हुने लगाकर्ताले डिम्याट खातामा सेयर जम्मा गर्न आफूसँग भएको सेयर लिएर जाने र हरेक कम्पनीको सेयरको विवरण भर्ने निक्षेप सदस्यले दिने अलग्गै अभौतिकिकरण गर्ने फारम भरेर सेयर प्रमाणपत्रको प्रतिलिपी बुझाए पछि सेयर डिम्याट खातामा जम्मा हुन्छ ।

डिम्याट खाताका फाइदा के के हुन्छन् ?

  • सेयर बजारको आकार बढाउन मद्दत पुर्याउने 
  • कारोबार संख्या र कारोबार रकममा व्यापक वृद्धि हुने
  • भौतिक प्रमाणपत्रहरुमा भएका जोखिम हटाउने 
  • सूचिकृत कम्पनीले सेयरधनीलाई दिएको बोनस सेयर सिधै डिम्याट खातामा जम्मा हुने 
  • साधारण सेयर निश्कासन गर्ने कम्पनीले सेयर बाँडफाँड गरी डिम्याट खातामार्फत  सेयर वितरणगर्दा सेयर प्रमाणपत्र छाप्नुपर्ने खर्च तथा समयको बचत हुने 
  • दोस्रो बजारमा सेयर कारोवार भएपछि राफसाफ प्रक्रियासमेत छिटो हुन्छ ।
  • सेयर बिक्री गरेपछि छिट्टै पैसा बिक्रेताको हातमा पर्ने 
  • धितोपत्रहरुको तुरुन्तै हस्तान्तरण तथा सार्वजनिक निस्कासनबाट वितरित सेयरहरुको शिघ्र वितरण हुने 
  • बिना झञ्झट तुरुन्त सेयर नामसारी गर्न सकिने 
  • पोर्टफोलियो व्यवस्थापन तथा सेयरहरुको बन्धकिमा सहजता आदि ।

डिम्याट खाता एक जना व्यक्तिले बढिमा दुईवटा सम्म खोल्न सक्दछ । यसरी सेयर बजारमा प्रवेश गर्ने विचार गर्नु भएको नयाँ लगानीकर्ताले सुरुमा डिम्याट खोलेर मात्र आउनु होला । प्राथमिक बजार तथा दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न अनिवार्य डिम्याट खाताको आवश्यकता पर्दछ । डिम्याट खाता बिना अहिले कुनै पनि सेयर कारोवार गर्न सकिन्न । 
(लेखक नेपाल पुँजीबजार लगानीकर्ता संघका कोषाध्यक्ष हुन् ।)