-भक्तराज रसाइली
काठमाण्डौ । नेप्सेको धर्को मास्तिर नउक्लिँदा सेयर बजारका लगानीकर्ताको सातो गएको अवस्था छ । पछिल्ला दिनहरुमा १६/१७ करोडको हाराहारीमा मात्र कारोबार रकम खुम्चिँदा बजारमा अन्यौल बढिरहेको छ ।
म्युचुअल फण्डहरुले स–साना बचत सेयर बजारमा विशेषज्ञताका आधारमा लगानी गर्ने र लगानीकर्तालाई राम्रो प्रतिफल दिने भनी अरबौं रकम बैंकका मुद्दतीमा राखी ब्याज खाएको उनीहरुका पछिल्ला प्रतिवेदनहरुबाट प्रष्टै भएको छ ।
अन्तरनिकाय समन्वयको अभाव र बजार विस्तारका लागि यथेष्ट पूर्वाधारहरु आम लगानीकर्तासम्म नपुग्नु पनि बजार विस्तारका बाधक रहेको जानकारहरु बताउँछन् ।
सेयर बजारमैत्री वातावरणको अभाव राज्यबाट खेपिरहेका लगानीकर्ताहरुको चिच्याहट र रोइलो बजारमा थामिनसक्नु र सुनिनसक्नु पाइयो ।
खरिद गरिएका कम्पनीको सेयरमूल्य माथि उक्लेला कि भन्ने आशा बोकेसँगै बढेर बेचँुला भन्ने मीठो सपना बालुवामा पानी खन्याएसरह भएको श्वेता सेक्युरिटिजमा भेटिएकी एक महिला लगानीकर्ताले बताईन् ।
सेयर कारोबारका हस्ती मानिएकाहरु नै विदेश पलायन हुनुपर्ने अवस्थाको सिर्जना भएको कतिपय लगानीकर्ताहरुले भेटमा बताउने गरेका छन् ।
अनामनगरस्थित दलाल कार्यालयमा भेटिएका एक लगानीकर्ताले यतिसम्म भन्न भ्याए–‘‘अब त चाडपर्वको सिजन सुरुवातसँगै श्रीमतीका निम्ति सुनका गहना र लत्ताकपडा खरिद गर्न घाटामा भए पनि सेयर बेचेर उनीहरुको डिमाण्ड पूरा गर्नुपरेको छ ।’’
सुनसरी धरानका सेयर लगानीकर्ता खेमराज दाहालले गुनासो पोख्दै भने–‘‘हेरौं र हेर्दै जाऔं अब २ महिनामा केही भएन भने ८÷९ लाख घाटा परे पनि सबै बेचेर बस्ने हो, जबसम्म सत्ता परिवर्तन हुँदैन ।’’
विद्यार्थीदेखि नेतासम्मको विशेष आकर्षण मानिएको सेयर बजारमा सेयर बजारका पण्डितहरुको भविष्यवाणीले पनि फेल खाएको युवा लगानीकर्ताहरु बताउँछन् ।
अनिश्चितताको बजारलाई कतिपयले ‘जूवाघर’ संज्ञा दिएपछि र धेरैमा यो जोखिम क्षेत्रमा पैसा लगाउनु भन्दा बैंकको मुद्धती निक्षेपमा पैसा राखेर बिना तनाव आनन्दले ब्याज खाँदै बस्ने भन्ने भावनाको विकास भएका कारण समेत बजार माथि उठ्न नसकेको केही लगानीकर्ताले हामीसँगको भेटमा सुनाए ।
बजारमा कहलिएका पण्डितहरुको भविष्यवाणी वा प्रक्षेपण फेल खान थालेपछि र बढ्छ बढ्छ भन्दा भन्दै आफ्नो लाखौं डूबिसकेपछि अत्तालिएका कतिपय लगानीकर्ता भने हिजोआज ज्योतिषीको साहारा लिन थालेका रहेछन् । ‘ज्योतिषीमा गएर ग्रहदशा हेराउँदा अझै ३ महिना बजार बढ्दैन भने ।’ एक लगानीकर्ताले ज्योतिषीको कुरा सुनाउन नपाउँदै अर्काले थपे–‘म पनि गएको थिएँ, मेरो दशाग्रह बिग्रेर घाटा खाएको भने । तर, अब एक महिनापछि चाहि मेरो ग्रहदशा ठीक छन् रे, त्यतिबेलासम्म म निस्क्रिय नै बस्ने सोंचमा छु ।’
मैतीदेवीमा लामो समयदेखि ज्योतिषी व्यवसाय संचालन गरेर बसेका हरि निरौलाका अनुसार दैनिक ३ जनासम्म लगानीकर्ता ‘सेयर बजार बढेन, लगानी डूबेर बर्बाद भो, ग्रहदशा हेरिदिनुपर्यो’ भनेर त्यहाँ पुग्ने गरेका छन् । ‘यो सेयर बजारले धेरैमा रक्तचाप बढाइदिएको रहेछ ।’ निरौलाले बिजशालासँग भने–‘धेरै लगानीकर्ता हात हेराउन आएपछि ममा पनि सेयर बजारप्रति चासो बढेको छ । तर, अरुजस्तै डूबिने हो कि भन्ने पीर पनि छ ।’
जे होस्, अघिल्लो हप्ता म जति पनि ब्रोकर अफिसमा पुगेँ, त्यहाँका लगानीकर्तामा खुशी देखिँन । सबै निराश निराश र उदास उदास देखेँ । तर, कतिपयमा भने बजार बढ्ने झिनो आशा समेत देखियो । उनीहरु बजारमा जसले धैर्य गर्न सक्यो, उसैले कमाउँछ भन्दै आशावादी बनेर प्रतिक्षारत रहेका देखियो ।
यो क्रममा बजारमा ठूला लगानीकर्ताहरु, म्युचुअल फण्डहरुको चलखेल तथा साना डूबाउने खेलको बिषयमा समेत थोरबहुत बुझ्ने मौका पाइयो । बजारमा हुने चलखेल तथा हावादारी कुराले समेत कतिपय लगानीकर्ताको जहाज हेर्दा हेर्दै डूबेको समेत देखियो ।
तर, यही बेला नयाँ लगानीकर्ताको रुपमा नेपाली सेनाका जवान, प्रहरीदेखि जोगीसम्म आएर डिम्याट खाता खोलेको, सेयर खरीदबिक्री गर्न थालेको दृश्यले पुराना लगानीकर्तामा थोरै भए पनि आशाको दीयो जलाइदिएको मैले अनुभव गरेँ । नयाँ पुस्ता समेत बजारप्रति बिस्तारै आकर्षित बन्दै गएको कतिपय घटनाक्रमले समेत देखाएको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago