-भक्तराज रसाइली

काठमाण्डौ ।  सीडीएससीले निकट भविष्यमै ग्राहकहरुलाई मल्टीपल म्यापिङ्गको सुविधा दिन लागेको छ । 

यस सुविधाअन्तर्गत २ वटा  डीम्याट खातामा लगानीकर्ताको इच्छा अनुसार कुन खातामा सेयर क्रेडिट गर्ने हो, सोहीअनुसारको सुविधा उपलब्ध गराइनेछ । 

ग्राहकले इच्छाएको खातामा सेयर म्यापिङ्ग गर्न सकिने व्यवस्था करिब २ महिनाको अवधिमा कार्यान्वयनमा ल्याउने गरी तयारी भइरहेको सीडीएससीले जनाएको छ । 

यसअघि लगानीकर्ताले ब्रोकर कहाँ कारोबारका प्रयोजनका लागि केवाईसी फर्ममा कुनै एक डीम्याट खातामा मात्रै सेयर खरिदबिक्री गर्न पाउने व्यवस्था थियो र अर्को डीम्याट्मा सेयर किन्न परे अर्का ब्रोकरकोमा केवाईसी भरेर मात्रै सेयर किन्न सकिने व्यवस्था रहेको थियो । यो व्यवस्था आएपछि एउटै ब्रोकरबाट आफूले इच्छाएको दुईमध्ये एक डिम्याट खातामा सेयर जम्मा गर्न सकिनेछ ।  

दुई डिम्याट खातामा कडाई हुने
यसैबीच, सेयर लगानीकर्ताका विभिन्न बाध्यता र विवशतालाई मध्यनजर गर्दै दुईवटा मात्र डिम्याट खाता खोल्न पाइने व्यवस्थामा केही लचिलो भएका नियामक अब भने सो व्यवस्थाप्रति केही कडा रुपमा प्रस्तुत हुने संकेत देखिएको छ । 

सिडिएससीस्थित एक उच्च स्रोतका अनुसार कतिपय व्यक्तिहरूका अहिले पनि दुई भन्दा बढी डीम्याट खाता संचालित रहेको र कतिपय सेयरधनीले धितोमा सेयर राखेको र उक्त सेयर फुकुवा गर्न समयमै नसक्ने लगानीकर्ताको बाध्यतालाई बुझेर यसअघि केही नरम नीति अनपाइए पनि अब भने २ वटा भन्दा बढी डिम्याट खाता राख्न नपाइने नियम कडाईका साथ लागू हुनेछ । 'अब छिट्टै एक छ्लफल गरेर २ वटा मात्र डीम्याट  खाता संचालन गर्ने नीतिमा कडाई गर्न लागिएको हो ।'-सिडिएससी स्रोतले भन्यो ।