काठमाण्डौ । नेपाली सेयर बजारकी अग्रज महिला लगानीकर्ता सिर्जना सुवेदी वुमन विथ भिजनले आयोजना गरेको 'बिजिनेश वुमन अफ दि -इयर २०१८' को प्रतिस्पर्धामा टाइटल जित्न सफल भएकी छिन् । 

लामो समयदेखि सेयर बजारमा लागेकी र अन्य महिलाहरुका लागि समेत प्रेरणाको स्रोतको रुपमा रहेकी उनले 'बिजिनेश वुमन अफ दि -इयर २०१८' को टाइटलमाथि कब्जा जमाएकी हुन् । 

केही समयअघि उनले सेयरमा लगानी गर्ने आफ्नो प्यासनको बिषयमा खुलासा गर्दै बिजशालामार्फत सेयर बजारमा लगानी गर्ने क्रममा आफूले मंगलसूत्र समेत बिक्री गर्न बाँकी नराखेको बताएकी थिइन् । उनको स्टोरी निकै चर्चित र नयाँ पुस्ताका लागि प्रेरक समेत बनेको थियो । 

उनीसँगै सो टाइटलका लागि १० महिला प्रतिस्पर्धामा रहेका थिए । पब्लिकले दिएको भोट र जुरीको निर्णयको आधारमा विजेता छनौट गरिएको थियो । 

विजिनेश वुमन अफ दि इयरको टाइटल जितेपछि सिर्जनाले खुशी व्यक्त गरेकी छिन्। उनले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिंदै यो सफलताले आफूलाई आगामी दिनमा सेयर बजारमा अझ धेरै क्रियाशील हुन प्रेरणा मिलेको उनको प्रतिक्रिया छ । 

सुवेदी सेयर बजारको विकास र बिस्तारको पक्षमा क्रियाशील नेपाल इन्भेष्टर्स फोरमकी कार्यसमिति सदस्य पनि हुन् । 

फोरमले पनि आफ्नो सदस्यको सफलताप्रति खुशी व्यक्त गरेको छ । फोरमले भोट गरेर सिर्जनालाई सफल बनाइदिने सबै भोटर, निर्णायक, आयोजकलाई समेत धन्यवाद ज्ञापन गरेको छ । 

शनिबार सुवर्ण शम्सेर मार्गस्थित रोयल एम्पायर बुटीक होटलमा एक भव्य समारोहका बीच टाइटल विजेताहरुको घोषणा गरिएको थियो । 

वुमन विथ भिजनले १० वटा समूहका लागि १० जनाको दरले १०० महिलाहरुलाई मनोनयन गरेको थियो । सय सफल महिलामध्येबाट सिर्जनासहित १० महिलाले विभिन्न टाइटल जितेका हुन् । 

विभिन्न दश क्षेत्रका आफ्नो कर्मले सफल भएका र सफलताको पहिचान बनाइसकेका उत्कृष्ट महिलाहरुलाई मनोनयन गरि भोटिङ र जुरीको निर्णय पश्चात सय मध्यबाट वर्षका दश उत्कृष्ट महिलाहरु घोषित गरिएको आयोजकको भनाई छ ।

पछिल्लो समय नेपाली महिलाहरुमा बढ्दै गएको सहास, सफलता र राष्ट्रिय स्तरमा उनिहरुले देखाएको जिम्मेवारीको कदर अर्थात सम्मान गर्नै पर्ने महसुस गर्दै वुमन विथ भिजनले सन २०१६ देखि वुमन अफ द इयरले महिलाहरुलाई प्रोत्साहन गर्न थालेको वुमन विथ भिजनका शाश्वत राज शर्माले बताएका छन् । 

वुमन विथ भिजनले पोलीटिसीयन अफ द इयर, विज्नेस वुमन अफ द इयर, इन्टरपेनर अफ द इयर, कर्पोरेट वुमन अफ द इयर, युथ आइकन अफ द इयर, प्रोफेस्नल अफ द इयर, मिडिया पर्सन अफ द इयर, आर्ट एण्ड मुभी पर्सन अफ द इयर, ग्ल्यामर आइकन अफ द इयर, पिपुल फेभ्रेट अफ द इयर जस्ता हरेक विधाबाट एक एक महिलालाई विजेता घोषित गरेको थियो ।