-रोहन शर्मा
धेरै पहिले प्यान आयो तर प्यानमा ज्यान अहिलेसम्म आएन !
करको बिषयमा सरकारले जहिले पनि लिने मात्र सोच्यो, कर लिएबापत आफूले पनि करदातालाई केही दिनुपर्छ भन्ने तर्फ सोच्दै सोचेन ।
मैले व्यक्तिगत रुपमा प्यान लिएको ८ वर्ष पूरा भयो, तर यो प्यान कार्ड बैंकमा चेक साँट्दा पेश गर्ने र यदाकदा फर्म भर्दा ऐच्छिक रुपमा नम्बर उल्लेख गर्नेबाहेक कतै प्रयोगमा आउन सकेको छैन । अनलाईनमा गएर नम्बर प्रबिष्ट गरी हेर्दा आफ्नो पूर्ण विवरण त देखाउँछ, तर सेयर कारोबार बापत तिरेको लाभकर लगायत अन्य करको प्रमाण लिन म १० ठाउँ भौतारिनु पर्दछ। अनि यस्ता कागजातहरु लिन जाँदा मलाई आफूले कर तिरेर ठूलै गल्ती पो गरेछु कि जस्तो महसुस हुन्छ।
सबैभन्दा पहिले हामीले तिरेको करको E-TDS हुनु पर्यो । हामीले तिरेको करको विवरण लिन कतै जानु नपरोस्, सम्पूर्ण विवरण आफ्नो प्यानबाट सजिलै हेर्न सकियोस्, अनि प्यान अनिवार्य भन्नै पर्दैन । कर कार्यालयहरुमा आफै लाग्नेछ व्यक्तिगत प्यान लिनेहरुको भीड ।
बारम्बार आउने छापामार शैलीको सर्कुलरः
सेयर बजारको बिषयमा आउने अधिकांश सर्कुलरहरु प्रष्ट रुपमा नआई हतारमा आउने हुँदा बजारलाई प्रभावित पार्ने खालका हुन्छन्। नयाँ वर्षबाट अनिवार्य भनिएको प्यानको बिषयको अनौठो कुरा त खरिदका लागि प्यान चाहिने बिक्रीको लागि नचाहिने भनेको सुन्दा कतै यो बिषय कसैको व्यक्तिगत स्वार्थमा त उठेको हैन भन्ने भान हुन्छ। अहिले बजारमा माग पक्ष एकदमै कमजोर भएको अवस्थामा खरिदका लागि मात्र प्यान अनिवार्य, तर बिक्रीका लागि अनिवार्य नहुनु भनेको सिधै सेयर बजारको टाउको समातेर घाँटी रेट्नु सरह हो।
लगानीकर्तालाई प्यानको त्रास यसकारण
सरकारले सर्वप्रथम सेयर बजारमा लाग्दै आएको पूँजीगत लाभ कर अन्तिम कर हो वा होइन प्रष्ट पार्नु जरुरी छ। समय समयमा फेरिएर आउने सम्बन्धित निकायका माठ्सापहरुले यो बिषय लाई आआफ्नै हिसाबले कसैले अन्तिम कर हो, अनि कसैले यो त अग्रीम कर हो कहाँ अन्तिम हुनु भनेर ब्याख्या गर्दा लगानीकर्ताबीच झनै अन्यौल परिस्थिति सिर्जना भएको छ । भोलिको दिनमा प्यान लागू भएपछि लगानीकर्ताले तिरेको ७.५ प्रतिशतको करमा टेकेर यो अन्तिम कर हैन भन्दै घाँटी अँठ्याएर थप कर असुली गर्ने हो कि भन्ने त्रास लगानीकर्तामा कायमै छ । यो बिषयमा सानाभन्दा पनि ठूला लगानीकर्ता धेरै त्रसित छन् ।
अब के हुन्छ ?
अहिले पनि त्यही हुन्छ, जस्तो पहिले भ्याट, लाभकरको बिषयले बजारमा नकारात्मक प्रभाव पारेको थियो। यो निर्णय तुरुन्त नसच्चिए केही दिन बजारले नकारात्मक प्रतिक्रिया दिनेछ । त्यसको अनि केही दिनपछि हाललाई प्यान ऐच्छिक गरिने अनिवार्य भने नहुने भन्ने जस्ता कुराहरु आउनेछन्, जुन धेरै लगानीकर्ताका लागि मरिसकेपछिको ओखती सरह हुनेछ। ईन्साईडर ट्रेडिङ गर्नुहुन्न भन्ने निकायले नै खुलमखुल्ला गरेको ईन्साईडर ट्रेडिङको शिकार बन्नेहरु टुलुटुलु हेरेर बस्नु शिवाय शिवाय के नै गर्न सक्छन् र ?
अन्त्यमा,
सेयर बजारमा प्यान अनिवार्य गर्नु पहिले सम्बन्धित निकायले सेयर बजारमा यसको औचित्य र उपादयताको बारेमा प्रष्ट पार्नु जरुरी छ। अहिले बजारमा बुझेर भन्दा पनि नबुझेर यो बिषयले आतंक सिर्जना गरेको छ ।
(शर्माको ब्लगबाट)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago