काठमाण्डौ । धितोपत्र बोर्ड स्वायत्त हुनुपर्ने लगायतका माग राखी सेयर ब्रोकरहरु आन्दोलनमा उत्रिने भएका छन् । 

ब्रोकरहरुको संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै धितोपत्र बजारको विकास, बिस्तार र सुदृढीकरणका लागि गरिनुपर्ने कामहरुको विवरण मागपत्रको रुपमा धितोपत्र बोर्डमा बुझाउने र त्यसपछि विभिन्न चरणका आन्दोलन सुरु गर्ने घोषणा गरेको हो ।

ब्रोकरहरुले सुरुमा प्रचारात्मक, त्यसपछि दवाबमूलक र त्यतिञ्जेलसम्म पनि माग पूरा नभए कठोर आन्दोलन थाल्ने विज्ञप्तिमा बताइएको छ । कठोर आन्दोलनको स्वरुप कस्तो हुन्छ भन्ने बिषय चाहि खुलाइएको छैन । 

धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले ७ फागुनमा अर्थसमितिमा ब्रोकरहरुविरुद्ध अभिव्यक्ति दिएको भन्दै स्टक ब्रोकर एशोसिएसनले यसअघि नै आपत्ति जनाइसकेको छ । एशोसिएसनको आपत्तिपछि बोर्डका अध्यक्ष डा. कार्कीले १० फागुनमा ब्रोकरहरुलाई बोलाएर छलफल गरेका थिए । सो छलफल अध्यक्ष कार्कीकै चाहनामा भएको र त्यहाँ समेत उनी पुरानै शैलीमा प्रस्तुत भएकोले सो छलफल बिना निश्कर्ष टुंगिएको एशोसिएसनले उल्लेख गरेको छ । 

धितोपत्र दलाल व्यवसायीहरुको  सुशासन तथा क्षमता प्रतिको टिप्पणी र प्रतिशप्रर्धि बन्न नसकेको भन्दै उहाँले लगाएको लान्छाना प्रति हामी ब्यवसायीले दुःख ब्यक्त गर्दछौ । विज्ञप्तिमा भनिएको छ–‘अध्यक्ष कार्कीले स्वयमलाई महाशत्रुको उपमा दिनु पूँजी बजारको लागि उतुण्डे व्यवहारको एक नमुना हो । विगतदेखि बोर्ड अध्यक्ष कार्कीको यस्ता आरोप कपोकल्पित, झुटो तथा भ्रमपूर्ण छन् । छलफलमा अध्यक्ष कार्कीले उक्त विषयलाई बिषायन्तर गर्न खोज्दै गोलमटोल गरेको कुरा प्रति हाम्रो घोर आपत्ति छ ।’

धितोपत्र दलाल व्यवसायीका प्रतिनिधि र बोर्ड अध्यक्ष बीच भएको छलफल बारे जानकारी तथा आगामी रणनिती तय गर्न फागुन १२ गते एशोसिएसनको पूर्ण बैठक बसेको थियो । बैठकले बजार विकास तथा विस्तारका लागि गर्नुपर्ने कामहरु समयमै नगरेर ब्यवसायी माथि अनावश्यक आरोपमा अध्यक्ष रमाउँदा सिंगै पूँजीबजार निराश बनेको निश्कर्ष निकालेको समेत विज्ञप्तिमा उल्लेख छ । अध्यक्षको यस्तो कार्यशैलीले आम लगानीकर्ता तथा व्यवसायीहरु बिश्वस्त हुन नसकेका कारण समग्र धितोपत्र बजार नै थप धरासायी हुने भन्दै आफूहरु आन्दोलनमा उत्रिने निश्कर्ष निकालेको स्टक ब्रोकर एशोसिएसनका अधिकारीहरुले जनाएका छन् ।