काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहले चैत ९ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेपछि अर्थ मन्त्रालयले सबै सेयर लगानीकर्ताका संगठनलाई वार्तामा बोलाएको छ । 

लगानीकर्ता दवाब समूहले सोमबार ३२ बुँदे मागमा केही नयाँ माग थपी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । समूहले आफ्नो आन्दोलनलाई सहयोग गर्न सबै लगानीकर्ताका संघसंगठनलाई आह्वान समेत गरेको थियो । 

दवाब समूहले आन्दोलन घोषणा गरेपछि अर्थ मन्त्रालयले उनीहरुसहित सेयर लगानीकर्ता संघसंगठनका सबै प्रतिनिधिलाई बुधबार वार्तामा बोलाएको एक संगठनका नेताले जानकारी दिए । 

‘हामीलाई अर्थ सचिवबाट ११ बजे अर्थमन्त्रालयमा बोलावट भएको छ ।’ सेयर लगानीकर्ता दवाब समूहका एक सदस्यले बिजशालासँग भने–‘हाम्रो तर्फबाट वार्तामा जाने या नजाने भन्ने बिषय अहिलेसम्म टुंगिएको छैन ।’ 

दवाब समूहका अधिकांश अधिकारी र सदस्य यसअघि भएको वार्ता जस्तै चिया खुवाएर पठाउने व्यवहार हुनसक्ने भन्दै सार्थक वार्तामा मात्र बस्ने अडानमा छन् । उनीहरुले अर्थका अधिकारीहरुलाई आफ्ना मागहरु पूरा गराउने विषयमा दृढता व्यक्त गरी विश्वास दिलाए मात्र आफूहरु वार्तामा सहभागी हुनसक्ने बताएका ती सदस्यले जानकारी दिए । 

दवाब समूहले अर्थमन्त्रीलाई पूँजीविरोधीको संज्ञा दिई उनको बर्खास्तीको मुख्य माग समेत अगाडि सारी आन्दोलनको घोषणा गरेको थियो । समूहले सरकारले चैत दोश्रो साता आयोजना गर्न लागेको लगानी सम्मेलनलाई समेत लक्षित गरी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि अन्तराष्ट्रिय जगतमा नेपालमा लगानीको वातावरणको विषयमा नकारात्मक सन्देश जानसक्ने ठानेर अर्थले लगानीकर्ताहरुलाई वार्तामा बोलाएको स्रोतले बताएको छ ।