काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूह अर्थमन्त्रालयले डाँकेको छलफलमा नजाने निर्णयमा पुगेको छ । 

दवाब समूहले अर्थमन्त्रालयबाट औपचारिक रुपमा पत्र नआएको भन्दै आज राखेको छलफलमा जान अस्वीकार गरेको हो । 

सो समूहका अध्यक्ष हरि ढकालले आफूहरुलाई अन्य संघमार्फत छलफलका लागि मौखिक रुपमा डाँकिएको र यस्ता छलफलबाट आफूहरुले राखेका मागहरु सम्बोधन नहुने देखेर नगएको प्रतिक्रिया दिएका छन् । 

'हामीलाई भुल्याउने हिसाबले आह्वान हुने कुनै पनि छलफल वा वार्ता हामीलाई स्वीकार हुन सक्दैन ।' ढकालले भने-'हाम्रो आन्दोलन जारी छ, पूर्व घोषित आन्दोलनका कार्यक्रममा कुनै फेरबदल हुँदैन ।' 

दवाब समूह छलफलमा नजाने निर्णय पुगे पनि सेयर लगानीकर्तासँग सम्बद्ध अन्य संगठनका केही प्रतिनिधि भने अर्थमन्त्रालयमा गएका छन् ।

अर्थमन्त्रालयले १२ बजेपछि छलफल गर्न आउनु भनेपछि सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल लगायतका लगानीकर्ता अर्थमन्त्रालय पुगेका हुन् । 

अर्यालका अनुसार आज अर्थमन्त्रीसँग भेट गरी सेयर बजारको समस्या स्पष्ट रुपमा राख्ने कार्यक्रम छ । 

उनले अर्थमन्त्रीलाई भेटेर प्यानलाई स्वेच्छिक बनाउनुपर्नेदेखि लिएर अनलाइन कारोबार प्रणाली चुस्तदुरुस्त हुनुपर्ने लगायतका विषयमा आफूले प्रष्ट कुरा राख्ने बताएका छन् ।