काठमाण्डौ । सेयर लगानीकर्ता संघले लगानीकर्ताहरुको शान्तिपुर्ण आन्दोलनमा भएको दमन र लगानीकर्ताहरुको गिरफ्तारीप्रति प्रश्न उठाएको छ । 

उत्तम अर्याल नेतृत्वको संघका महासचिव जगन्नाथ पूडासैनीले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै लगानीकर्ताहरुले उठाएका कतिपय मागहरु आपसी छलफलबाट पूरा गर्न सकिने अवस्था हुँदा हुँदै सरकारले पूर्ण बेवास्ता गरेको र शान्तिपूर्ण विरोधका कार्यक्रम संचालन गर्दा धरपकड भएकोमा आपत्ति जनाएका छन् । 

‘नेपालमा लगानीको ठूलो अवसर छ, वातावरण राम्रो छ’ भन्दै विदेशी लगानीकर्ताहरुलाई देशले रातो कार्पाेट ओछ्याएर स्वागत गर्न तयार भएको अवस्था छ।’ विज्ञप्तिमा भनिएको छ–‘तर, आफ्नै देशका  लगानीकर्ताहरुलाई सम्झाईबुझाई गरेर मागहरु सम्वोधन गर्न सकिने अवस्थालाई पूरै बेवास्ता गर्दै सरकारले आफ्नो अविभावकीय जिम्मेवारीबाट पन्छिने र लगानीकर्ताहरु सडकमा रैरहने यो अवस्थाले अन्तराष्ट्रिय जगतमा नेपालको बेइज्जत हुने निश्चित छ ।’

संघले स्वदेशी लगानीकर्तामाथि डण्डा बर्साउने, धरपकड गर्ने कार्य तत्काल बन्द गरी वार्ताको माध्यमबाट लगानीकर्ताका जायज माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ । 

सेयर लगानीकर्ता दवाब समूहले सोमबारदेखि पूँजीबजार बिस्तार र सुधारको माग राख्दै सोमबारदेखि नेपाल स्टक एक्सचेञ्ज अगाडि अनिश्चितकालीन रिले अनसन थालेको थियो । सोही कार्यक्रमलाई निरन्तरता दिन मंगलबार नेप्से पुग्नै लाग्दा समूहका १४ जनालाई प्रहरीले बल प्रयोग गरी पक्राउ गरेको थियो । उनीहरुलाई दिनभरि प्रहरी कार्यालयमा राखी साँझ छाडिएको थियो । 

यसैबीच, नेपाल पूँजीबजार संघका अध्यक्ष संरचना चौधरीले समेत मंगलबार नै एक विज्ञप्ति जारी गरी सेयर लगानीकर्ता दवाब समूहको शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमनको भत्र्सना गरेकी थिइन् । उनले समेत जायज माग वार्ताबाट पूरा गर्न सरकारलाई आग्रह गरेकी थिइन् ।