-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा नेपाल क्लियरिङ हाउस(एनसीएचएल)को इन्ट्रीगेटसँगै दोस्रो बजारमा हुने धितोपत्र कारोबारको भुक्तानी लेनदेनका लागि घरमै बसेर सहज ढंगले गर्न सकिने व्यवस्था प्रारम्भ भएको छ ।

दोस्रो बजारमा धितोपत्र कारोबार पश्चात् हुने भुक्तानी खरिदबिक्री दुवैमा एकहप्तादेखि एनसीएचएलको कनेक्ट आइपीएस र आइपीएससँग जोडिएर लगानीकर्ताहरुले सेवासुविधा लिइरहेका छन् । 

यो प्रणालीअन्तर्गत नेप्सेको अनलाइन सेयर कारोबारको भुक्तानी बैंक खाताबाट कनेक्ट आइपीएस मार्फत गर्न सकिने र सेयर बिक्रीपछि पाउने रकम सोझै बैंक खातामा प्राप्त गर्न सकिन्छ ।

एनसीएचएलका अनुसार कनेक्ट आइपीएस र आइपीएसमार्फत  हालसम्म साढे ५ हजार कारोबार संख्यामा साढे २३ करोड रुपैयाँ रकम बराबरको कारोबार भइसकेको छ । कनेक्ट आइपीएसमा ४८ ब्रोकर कम्पनीहरु जोडिएका छन् भने नेप्सेको टीएमएसमा इन्ट्रीगेट हुनेमा ३८ वटा ब्रोकर कम्पनीको आवद्धता रहेको एनसीएचएलले जानकारी दिएको छ ।

सेयर कारोबारीले एनसीएचएलसँग कसरी आबद्धता जनाउने ?
गुगल प्लेस्टोरमा गएर कनेक्ट आइपीएस एप डाउनलोड गर्न सकिन्छ । वेबसाइटमार्फत भने कनेक्टआइपीएस डटकमबाट पनि इच्छुक व्यक्ति वा संस्था जोडिन सक्छन्, जसका लागि रजिष्ट्रेसन निःशुल्क गरिएको छ । 

दुवै माध्यमबाट जोडिन सुरुमा रजिष्टर गरेर लगइन लिनु आवश्यक हुन्छ । जसमा व्यक्तिगत प्रोफाइल, इमेल, मोबाइल नम्बर र बैंक खाता लगायतका विवरण भर्नुपर्छ । पहिलो पटक लगइनमा मोबाइल नम्बर र इमेल भेरिफाइ गरिन्छ र भ्यालिड युजर बन्छ । यसमा प्रयोगकर्ताले मल्टीपल बैंक खाता नम्बर समेत उल्लेख गर्ने व्यवस्था रहेको छ ताकि कुनै बेला धेरै फण्ड हस्तान्तरण गर्न सहज हुन सकोस् । अनि व्यक्ति स्वयम् बैंकमा भौतिक रुपमा उपस्थित जनाइसकेपछि प्रयोगकर्ताको बैंकले एप्रुभ दिन्छ । यसपछि भने सहज रुपमा नेपाल राष्ट्र बैंकको सीमाभित्र रहेर इन्टरनेटकै मद्दतले सहजै फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

कनेक्ट आइपीएस
एनसीएचएलको यो प्रणालीमा आफ्नो बैंक खाताबाट अन्य बैंक खातामा भुक्तानी गर्ने प्रणाली हो । यो रियल टाइम हस्तारणमा आधारित हुन्छ । यसमा हालसम्म ५० वटा क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु आवद्ध रहेका छन् । इन्टरनेटबाट प्रतिदिन १० लाख एउटा बैंक खाताबाट कारोबार गर्न सकिने यो प्रणालीमा प्रति महिना ५० लाखसम्म कारोबार गर्न सकिन्छ । मोबाइल एपमार्फत भने यसको सीमा प्रतिदिन ५० हजार र प्रतिमहिना १ लाख रुपैयाँ रहेको छ ।

आइपीएस
बैंकद्वारा ठूलो रकम र बल्क कारोबार गर्न आइपीएस प्रणाली प्रयोग गरिन्छ । ब्याज भुक्तानी, लाभांश वितरण, रिफण्ड, रेमिट्यान्स, नेपाल सरकारका खर्च, तलब, पेन्सन लगायतका ठूला रकम र कारोबार हुने गर्दछ ।  १ बजेसम्म भएको कारोबार सोही दिन सेटलमेन्ट भई हितग्राहीको खातामा रकम जम्मा हुने यसमा विशेषता रहेको छ । 

सम्बन्धित बैंकमा फण्ड हस्तान्तरण गर्ने फर्ममा बैंक खाताको विवरण आफ्नो विवरण र भुक्तानी प्राप्त गर्ने व्यक्ति वा संस्थाको विवरण उल्लेख गर्नुपर्छ ।  हालसम्म क ख र ग वर्गका ७६ बैंक तथा वित्तीय संस्थाहरु यो प्रणालीमा जोडिएका छन् । नेपाल राष्ट्र बैंकको तोकेको नियमानुसार प्रतिकारोबार २० करोडको सीमा रहेकोमा ठूला संस्था(बैंक टू बैंक)को कारोबार सीमा भने ५० करोडसम्मको प्रावधान रहेको छ ।

शुल्क
कनेक्ट आइपीस र आइपीएसमार्फत सेयर लगानीकर्ताहरुले एनसीएचएल कारोबार शुल्कका रुपमा ५ सयसम्म २ रुपैयाँ, ५ सयदेखि ५ हजारसम्म ५ रुपैयाँ रहेको छ । यसैगरी ५ हजारदेखि ५० हजारसम्म १० रुपैयाँ र ५० हजारभन्दा माथिको रकममा १५ रुपैयाँ कट्टा गरिने प्रावधान रहेको एनसीएचएलले जनाएको छ । सेयर खरिदबिक्रीमा लिंदा वा दिंदा दुवै अवस्थामा हाल माथि उल्लेखित शुल्क सेयर लगानीकर्ताहरुबाटै असुल गरिरहेको छ ।

नेप्सेको अनलाइन युजर लिएका प्रयोगकर्ताहरुले नेप्सेको टीएमएसमा धितो ग्यारेण्टीको रुपमा फण्ड लोड पनि गर्न सकिने व्यवस्था रहिआएकोमा यसमा भने कनेक्ट आइपीएसको मात्र सुविधा रहेको छ । टीएमएसमा लगानीकर्ताले फण्ड झिक्न चाहेमा ब्रोकरलाई अनुरोध पठाइएमा सोझै बैंक खातामा रिफण्ड हुने व्यवस्था रहेको छ ।

यसरी दोस्रो बजारमा भएका सेयर कारोबारको भुक्तानी सजिलो भइरहेकोमा  एनसीएचएलमा आवद्ध जनाउँदै गएमा भुक्तानी प्रणाली सरल, सुरक्षित र विश्सनीय हुने कम्पनीको दाबी छ ।