काठमाण्डौ । धेरै दिनदेखि सेलाएको बिमा समूह एकाएक जागेपछि सोमबार सो समूहको परिसूचकमा उछालको ट्रेण्ड देखिएको छ । 

यो समूहको सूचक सोमबार एकैदिन ६१८.४२ अंकले बढेर नयाँ रेकर्ड कायम भएको छ । यसअघि कुनै पनि समूहको परिसूचक एकैदिन यति धेरै अंकले बढेको थिएन । 

नेप्से परिसूचकले पनि सोमबार ऐतिहासिक उचाई चुमेपछि बजारमा २ वटा नयाँ रेकर्ड बनेका छन् । सोमबार नेप्से परिसूचक ४०.८३ अंकले वृद्धि भई १७८६.५७ अंकको उचाईमा पुगेको छ । 

बिमा समूहसँगै बजारलाई माथि उचाल्न वाणिज्य बैंकहरुको कारोबारले सहयो गर्यो । वाणिज्य बैंक समूहको सूचक ४०.७९ अंकले बढ्यो । यसैगरी, उत्पादनमूलक समूहको सूचकमा पनि ४४.४६ अंकको बढोत्तरी देखियो । जलविद्युत समूह १४.६६ र होटल समूह १.१७ अंकले बढ्दा बाँकी सबै समूहको परिसूचकमा रातो पोतियो । 

सोमबार सबैभन्दा बढी अन्य समूहको सूचक ११.२७ अंकले तल झर्यो । विकास बैंक समूह २.८३ अंकले ओर्लियो भने बित्त समूहमा पनि ०.२८ अंकको झिनो गिरावट देखियो । 

‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबारमा लगानीकर्ताहरु थुप्रिएपछि सेन्सेटिभ इण्डेक्स ९.६७ अंकले बढ्यो । फ्लोट इण्डेक्समा ३.२३ अंकको बढोत्तरी देखियो । 

सोमबार कारोबार पनि नयाँ आर्थिक वर्षमा सबैभन्दा उच्च विन्दूमा पुगेको छ । १ सय ३७ कम्पनीका २८ लाख ७० हजार कित्ता सेयर १ अर्ब ९५ करोड ४१ लाखमा किनबेच भएको छ । 

सोमबार सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको १० करोड ८८ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भयो । यसैगरी, नेपाल बैंक लिमीटेडको ८ करोड ७७ लाख, जलविद्युत लगानी तथा विकास कम्पनी लिमीटेडको ७ करोड ९४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ६ करोड ६१ लाख, शिखर इन्स्योरेन्सको ६ करोड २५ लाख र माछापुच्छ«े बैंकको ५ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भयो । धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंकले कब्जा गरे भने बिमा समूहले २ र जलविद्युत समूहले १ स्थान ओगट्न सफल भए ।