काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको सोनापुर मिनरल्स एन्ड आयलको सेयरमूल्य सुरुवाती दिनमा लगातार घटेपछि लगानीकर्ता र नियामक बीच निक्कै खैलाबैला भयो ।

बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २३७.५८ रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो ।कम्पनीको आईपीओ गत कात्तिक २ गते नेप्सेमा सूचीकृत भएको थियो र  दोस्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनदेखि नै नकारात्मक सर्किट लागेको थियो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको रेन्जभित्र स्पेसल प्रि–ओपन सेसनमा प्रतिकित्ता ३५० रुपैयाँमा सेयर किनबेच शुरु भएको थियो ।सोमबार यो समाचार तयार पार्दाको समय अपरान्ह २: ३० बजे सम्ममा कम्पनीको सेयर कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भइरहेको छ ।

यस हिसावले ३५० रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको सेयर मूल्य उच्चतम विन्दुबाट ४९  रुपैयाँ घटिसकेको छ ।  त्यसो त यो दिन खरिद अर्डर ११ लाख २ हजार ७९९ रहेको छ भने बिक्री अडर ७६ हजार २७९ रहेको छ ।

कारोबारको कुरा गर्दा कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भएदेखि नै उच्च मूल्यमा हुँदै आएको छ । आइतबार बजार बन्द हुँदा कम्पनीको सबैभन्दा बढी ६ करोड ९५ लाखभन्दा बढीको सेयर कारोबार भएको थियो । 

नयाँ कम्पनीको सेयर दोस्रो बजारमा सुचीकृत हुँदा केहि दिन बढ्ने ट्रेन्ड भए पनि उक्त कम्पनीको सेयर भने पहिलो दिनबाटै नकारात्मक सर्किट लागेर कारोबार  भएको थियो ।
प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका सोनापुर मिनरल्स तथा घोराही सिमेन्टका मूल्य आईपीओको दरभन्दा पनि मुनि गएर कारोबार भएपछि अब सर्वसाधारण लगानीकर्ताले दोस्रो बजार मात्रै होइन, आईपीओमा लगानी गर्दा समेत सचेत भएर मात्रै लगानी गर्नुपर्ने भनेर बहस भइरहेको  छ।

यो कम्पनीको सेयर स्थानीय र अगुवा लगानीकर्ताले बहिष्कार पनि गरेका थिए। 

लगानीकर्ताले यसको तिब्र बिरोध गरेपछि नेपाल धितोपत्र बोर्डले आरक्षणमा सेयर पाएका म्युचुअल फन्डहरुलाई ६ महिनाका लागि सेयर बिक्रीमा नै प्रतिबन्ध लगाइसकेको  छ। यो प्रतिबन्धको असर म्चुअल फन्डमा पनि परिसकेको छ । पछिल्लो समय सेयरबजारमा लगातार गिरावट आउँदा म्युचुअल फण्डहरुको नाफा, न्याभ तथा सूचीकृत सेयरमा समेत लगानीको आकार घट्दै गइरहेको छ । सञ्चालनमा रहेका ४२ वटा फण्डहरुले सार्वजनिक गरेको कात्तिक महिनाको विवरणअनुसार ४१ वटाको नाफा घट्न पुगेको छ ।

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल आएपछि प्रिमियम मूल्यमा आईपीओ निष्कासन हुन थालेको हो । हालसम्ममा चार वटा जीवन बीमा कम्पनी, एउटा सिमेन्ट कम्पनी, दुई वटा हाइड्रोपावर कम्पनी र रि-इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् भने सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।

सोनापुर सिमेन्टको कुरा गर्नुपर्दा यो वर्ष कम्पनीले ३० प्रतिशतको हाराहारीमा बोनस सेयर वा हकप्रद दिन लागेको चर्चा छ ।यसले गर्दा पनि केहिसमय यता कम्पनीको सेयरमूल्य बढिरहेको छ ।

उता सिमेन्ट भारत निर्यात हुने क्रम पनि बढेकोले सिमेन्टको कारोबार बढेको र घरेलु बजारमा पनि माग बढेकोले यसको सेयर मूल्यमा सकारात्मक माहोल बनेको अनुमान लगानीकर्ताहरुले गरेका छन् ।
म्युचुअल फन्डहरुले सेयर बिक्री गर्न नपाउँदा बजारमा आपूर्ति कम हुँदा कम्पनीको सेयरमूल्य र कारोबार पनि बढेको उनीहरुको भनाइ छ । पछिल्लो केहि समय यता कम्पनीको उच्च भोलुममा कारोबार हुने गरेको छ ।

यसअघि शिवम् सिमेन्ट्सबाट उच्च प्रतिफल पाएका कतिपय लगानीकर्ताहरुले सोनापुरले पनि राम्रो प्रतिफल दिने भन्दै हत्तारिएर सेयर बिक्री नगर्न सुझाव दिएका छन् ।उनीहरुले सेयरमूल्यमा उतारचढाव हुनु स्वभाविक भएता पनि प्रतिफल लिएर मात्र सोनापुर मिनरल्सको सेयर राख्ने या फाल्ने  बिचार गर्न सुझाव दिएका छन् ।