काठमाण्डौ । सोमबारको बजारको अशुुभ प्रवृति मंगलबार सही ठहरिएको छ । अघिल्लो दिन देखिएको बजार घट्ने संभावना यथार्थमा परिणत हुँदा केही दिनदेखि बढिरहेको बजारका कारण राहात महसुस गरिरहेका लगानीकर्तामा फेरि त्रास बढेको छ । मंगलबार बजार परिसूचक(नेप्से) २६.०३ अंकले घटी १४५६.८२ अंकमा झरेको हो । 

आइतबार र सोमबार हराभरा देखिएको बजारमा निराशा छाई रातो पोतिएको छ भने सूचकसँगै कारोबार रकम पनि घटेको छ । सूचकसँगै कारोबार रकम पनि यसरी घट्नु आगामी दिनमा बजारका लागि अझ ठूलो अशुुभ संकेत हो । नेप्से परिसूचक घटे पनि बजारलाई कारोबारले साथ दिएको अवस्थामा भविष्यमा बजार तल झर्ने कम संभावना हुन्छ । 

बजारलाई माथि उठाउन मुख्य भूमिका खेलिरहेका वाणिज्य बैंक, बिमा समूहको सूचकमा डरलाग्दो पहिरो गएको छ । 

वाणिज्य बैंक समूह २६.९४ अंकले घटेको छ भने बिमा समूहमा २१६.९६ अंकको पहिरो गएको छ । होटल समूह २५.२९, विकास बैंक समूह  २४.३, जलविद्युत १८, वित्त समुह २.७६ र अन्य समूह ०.५७ अंकले घटेका छन् । 

क वर्गका कम्पनीको सेयर कारोबार र मूल्यमा पहिरो गएका कारण सेन्सेटिभ इण्डेक्स ५.८४ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार सोमबारको तुलनामा कारोबार रकम पनि कम भएको छ । यो दिन १३० कम्पनीका ६ लाख ७१ हजार ६ सय ५२ कित्ता सेयर ३९ करोड ७३ लाखमा कारोबार भएको छ । 
वाणिज्य बैंकहरुले २१ करोडको कारोबार गर्दा बिमा कम्पनी र विकास कम्पनीहरुको कारोबार क्रमशः १० करोड र साढे ३ करोडमा खुम्चिएको छ । 

कम्पनीगत हिसाबले सबैभन्दा धेरै कारोबार एभरेष्ट बैंकले गर्यो । यो कम्पनीको २ करोड ७७ लाखको सेयर किनबेच भयो । नेपाल लाइफ इन्स्योरेन्सले २ करोड १६ लाख बराबरको कारोबार गर्यो । मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थानमा वाणिज्य बैंक, ३ स्थानमा बिमा कम्पनी र एक स्थानमा अन्य समूहको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
ठूलो पहिरोको सामना गरेको बजारमा दुुई कम्पनीले भने पैसा छापे । अरुण फाइनान्स र सप्तकोसी डेभलपमेन्ट बैंक लिमीटेडको सेयर मूल्य १० प्रतिशतको हाराहारीले बढेको हो । मंगलबार साझा विकास बैंकले सबैभन्दा धेरै ७.३० प्रतिशतले सम्पत्ति गुमायो । यस्तै, महिला सहयात्रा माइक्रो फाइनान्स, यूनाइटेड इन्स्योरेन्स, प्रूडेन्सियल इन्स्योरेन्स, कालिका माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र अल्पाइन डेभलपमेन्ट बैंक लिमीटेको सेयर मूूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो । 

यो पनि पढ्नुहोस्