काठमाण्डौ । सोमबार पनि पूँजीबजारका अधिकांश सूचकमा रातो पोतियो । यो दिन अधिकांश समूह ओरालो लाग्दा नेप्से परिसूचक १७.३५ अंकले तल झर्दै १८४५.४१ अंकमा आइपुगेको छ । 

अरु बेला बजारलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेलिरहेका बैंक तथा बित्तीय संस्था, बिमा कम्पनी लगायत समेत दोहोरो अंकले तल झरे । तर बजारमा वाणिज्य बैंकले नै राज गर्यो । 

सोमबार सबैभन्दा बढी बिमा समूहको सूचक ६४.१६ अंकले घट्यो । विकास बैंक समूह र वाणिज्य बैंक समूहमा क्रमशः ३२.४३ र १६.४४ अंकको गिरावट देखियो । जलविद्युत समूह २५.३ अंकले घट्यो भने उत्पादनमूलक ४२.५८, अन्य समूह ६.६५, बित्त समूह १.४४ अंकले ओर्लियो । सबै समूहको सूचकमा रातो पोतिए पनि होटल समूह भने ४०.२१ अंकले उक्लियो । 

सोमबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः ३.६२ र १.३४ अंकले तल झर्यो । 

सोमबार १ सय ४० कम्पनीको ५१ लाख १५ हजार ४ सय २० कित्ता सेयर १ अर्ब ८४ करोड ९२ लाख रुपैयाँमा किनबेच भयो । 

सोमबार एकैदिन नबील बैंकको २७ करोड ५६ लाख मूल्यको प्रोमोटर सेयरको किनबेच भयो । नेपाल बंगलादेश बैंकले १५ करोड ८७ लाख, प्राइम कमर्सियल बैंकले १२ करोड, नेपाल बैंकले ९ करोड ३७, सिद्धार्थ बैंकले ७ करोड १७ लाखको सेयर कारोबार गरे । 

सोमबार धेरै कारोबार गर्ने मुख्य १० कम्पनीको सूचिमा ९ स्थान वाणिज्य बैंकले कब्जा गरे भने बाँकी एक स्थानमा बिमा समूह रह्यो । 

सोमबार लक्ष्मी भ्यालू फण्ड १ का लगानीकर्ताले १० प्रतिशतले सेयर मूल्य बढाए । यसैगरी, माउण्ट मकालु डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्सको सेयर मूल्यमा पनि करिब १० प्रतिशतले बढोत्तरी भयो । 

कावेली विकास बैंक, बोटलर्स नेपाल(तराई) लिमीटेड, कन्काई विकास बैंकका लगानीकर्ताले सोमबार धेरै गुमाए । यी कम्पनीको सेयर मूल्यमा ५ देखि ८ प्रतिशतको दरले गिरावट आयो ।