काठमाण्डौ । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउन्ड टेबल नेपालले आगामी असार ४ गते एक विशेष कार्निभल आयोजना गर्ने भएको छ।

स्कुल फर स्पेसल्स प्रोजेक्टका रुपमा राउन्ड टेबल नेपालले पहिलो चरणमा काठमाण्डौ उपत्यकामा एक विशेष स्कुल निर्माण गर्नेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि सहयोग गर्ने लक्ष्यसमेत राखेको छ।

स्कुल फर स्पेसल्स प्रोजेक्टको पहिलो विद्यालय निर्माणका लागि राउन्ड टेबल नेपालकै सदश्यले निःशुल्क प्रयोगका लागि दिएको जग्गामा विद्यालय निर्माण गर्ने विकल्पसहित आफ्नै जग्गा खरिद गर्नेसम्मका योजनाहरु रहेका छन्। जसको पहिलो पाइलाका रुपमा यो फण्ड रेजर इभेन्ट आयोजना गर्न लागिएको हो।

आर्थिक रुपमा यस परियोजनाका सहयोगीहरुलाई दबाब नपर्ने र आर्थिक गतिविधिसमेत हुने र प्रायोजकले व्यावसायिक कार्यक्रम जस्तै– लाभ हासिल गर्नसक्ने यस्तै कार्यक्रमहरु राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा आयोजना गर्दै जाने राउन्ड टेबल नेपालको योजना छ।

दि मल्ल होटलमा आयोजना गरिने कार्निभलमा मल्ल होटलले स्वादिष्ट खाना पस्किनेछ भने विभिन्न नेपाली ब्रान्डका वियर, वियर ककटेल, मकटेललगायतका पेय रहनेछन्। बालबालिकाका लागि विशेष खेलहरु हुनेछन् भने डिजे र लाइभ ब्यान्डले रोमान्चक माहौल बनाउनेछन्। 

‘जुन वियर कार्निभल’को नाममा आयोजना हुने यो कार्यक्रम वियर फेस्टिभल र पारिवारिक कार्निभलको संयुक्त रुप हुनेछ। यो कार्यक्रमको प्रवेश टिकट दर रु. १ हजार तोकिएको छ। जसमा एक बोतल वियर निःशुल्क उपलब्ध गराइनेछ भने कार्यक्रमका प्रायोजकले थप भौचरहरुसमेत प्रदान गर्नेछन्।

यस कार्निभलको आयोजनाको लागि निःशुल्क रुपमा होटेल उपलब्ध गराएर दि होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको हो। दि मल्ल होटलकी एसोसिएट डाइरेक्टर अनुस्का मल्लले राउन्ड टेबल नेपालको यस योजनामा सहभागि हुन पाउँदा आफू हर्षित भएको बताउँदै यस कार्यक्रमको सफलताका लागि सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।