काठमाण्डौ । दशैंका लागि आवश्यक सामग्री किन्न कता जाने भन्ने योजना बनाउँदै हुनुहुन्छ भने एकै छानामुनि सस्तोमा धेरै किसिमका सामान किन्न पाइने मेला काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ । 

बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्देश्यले मेला सुरु भएको हो । एकै छानामुनि स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रालिले मेलाको सञ्चालन गरेको हो । मेलालाई नेपाल चेम्बर अफ कमर्शले प्रवद्र्धन गरेको छ । 

मेलाको उद्घाटन गर्दै चेम्बर अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने गरेको बताए । मेला तथा एक्स्पो आयोजना हुने क्रम बढ्दै गए पनि ठूलो प्रदर्शनीस्थलको अभावले समस्या हुने गरेको उनको भनाई थियो । सरकारले जग्गा मात्र उपलब्ध गराएको खण्डमा आफूहरु प्रदर्शनीस्थल तयार गर्न अग्रसर हुने उनले बताए ।

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको छ । ५ दिनसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजयसागर प्रधानले बताए । 

मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ । नेपाल, भारत तथा बंगलादेश लगायत मुलुकका व्यवसायीहरु मेलामा सहभागी छन् । मेला असोज १५ गतेसम्म रहनेछ ।