काठमाण्डौ । माइक्रोफाइनान्स र इन्स्योरेन्स सेक्टरको बढोत्तरीले सेयरधनीहरु मालामाल भएपछि लगानीकर्ताको रुचि बैंकिङ समूहमा पर्न थालेको छ।
साताको कारोबारको चौथो दिन बुधबार बैंकिङ समूह चल्ने प्रयास गर्दा एनआईसी एसिया बैंक, एनएमबी बैंक र ग्लोबल आईएमई बैंक उत्कृष्ट कारोबार गर्ने १० कम्पनीभित्र पर्न सफल भए।
हिजो दोहोरो अंकको बढोत्तरी देखिएको बजार आज बुधबार पनि सामान्य अंकले बढेको छ। सामान्य अंकको वृद्धिसँगै बजार अप ट्रेन्डमा जाँदै गर्दा कारोबार रकम डेढ अर्ब रुपैयाँ नाघ्नुले आगामी दिनमा लगानीकर्ताको मनोबल बढ्दै जाने र सूचकांकमा सकारात्मक प्रभाव पर्ने जानकारहरु दाबी गर्छन्।
कारोबारको सुरुआती समयमा निकै आक्रामक ढंगले बढेको बजार अन्तिम समयमा आएर नेप्से परिसूचकमा ४.६० अंकको बढोत्तरीसँगै बजार बन्द भयो। योसँगै नेप्से परिसूचक १३४५.९७ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंकले बढ्दै २८५.५६ को विन्दुमा र समग्र कारोबार मापक फ्लोट इन्डेक्स ०.२१ अंकले बढ्दै ९५.४३ को विन्दुमा पुगेको छ।
पछिल्लो समय दोस्रो बजारको विकास र स्थायित्वका लागि भइरहेका गतिविधिले बजार बढ्नलाई टेवा दिइरहेको उनीहरुको तर्क छ।
नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयको स्वीकृतिमा बजारसँग सम्बन्धित चारवटा नियमावली संशोधन गर्दै भोलि (फागुन १ गते) बाट कार्यान्वय गर्न लागेको खबरले पनि बजारमा लगानीकर्ताको मनोबल बढ्दै गएको पाइएको छ। संशोधित नियमावलीमा बैंकका सहायक कम्पनीहरुले पनि सेयर ब्रोकरको लाइसेन्स पाउन सक्ने, आईपीओ भर्ने अधिकतम अवधि ३० दिनबाट घटाएर १५ दिन सीमित गर्ने, बिमा कम्पनी र गैरबैंकिङ वित्तीय संस्थाले पनि म्युचुअल फन्ड सञ्चालन गर्न सक्नेलगायत छन्।
त्यस्तै नागरिक लगानी कोष (सीआईटी) ले स्टक डिलर कम्पनी दर्ता गर्नु र कर्मचारी सञ्चय कोषले पनि स्टक डिलर कम्पनी स्थापनाको तयारी गर्नुले नेपाल अब धितोपत्र बजारले दरिलो गति लिने आशा लगानीकर्तामा पलाएको देखिन्छ।
आजको दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये ९ वटामा हरियाली छायो भने ३ वटामा मात्रै रातो पोतियो।
यो दिन निर्जीवन बिमा समूहमा सबैभन्दा बढी ८०.९७ अंकको उछाल आयो। त्यस्तै जीवन बिमा समूहमा ५८.३९ अंक र लघुवित्त समूहमा ५५.६३ अंकको बढोत्तरी देखियो। व्यापार समूह १३.४५ अंक, होटेल्स् समूह ३.८७ अंक, वित्त समूह ३.८२ अंक, उत्पादन तथा प्रशोधन समूह २४.४१ अंक, अन्य समूह १०.१९ अंक र म्युचुअल फन्ड समूह ०.०४ अंकले बढे।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृत १७३ कम्पनीका ३९ लाख ८६ हजार ७६९ कित्ता सेयर १ अर्ब ५० करोड ९७ लाख ८४ हजार ३११ रुपैयाँमा कारोबार भयो।
आजको दिन नागरिक लगानी कोष (सीआईटी) र शिवम् सिमेन्टले उच्च कारोबार गरे। कोषले ९ करोड ८९ लाख रुपैयाँ र शिवम् सिमेन्टले ९ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार गर्न सफल भए।
त्यस्तै एनआईसी एसिया बैंकले ६ करोड ९ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तले ५ करोड ६ लाख रुपैयाँ, एनएमबी बैंकले ४ करोड ३७ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ३ करोड ६१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ५५ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्तले ३ करोड २८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ करोड १९ लाख रुपैयाँ र नेपाल बैंकले २ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार गरे।
धेरै कमाउने र गुमाउने
आजको दिन सेन्ट्रल फाइनान्स, गुराँस लघुवित्त, स्पर्श लघुवित्त र कालिका पावर कम्पनीका सेयरधनीहरुले धेरै कमाए। झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। त्यस्तै गुराँस लघुवित्त र स्पमर्श लघुवित्तका सेयरमूल्यमा ९ प्रतिशत बढीको बढोत्तरी आयो भने कालिका पावर कम्पनीको सेयरमूल्यमा ८ प्रतिशत बढीले बढ्यो।
आजको दिन ज्योति विकास बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरमूल्यमा ४ प्रतिशत बढीले गिरावट आयो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago