काठमाण्डौ । सेयर ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर अशोसिएसन अफ नेपालको आगामी कार्यकालका लागि सर्वसम्मतिमै अध्यक्ष छान्ने अन्तिम प्रयास भइरहेको छ । 

छलफलमा सहभागी एक ब्रोकरले अन्य पदमा झै अध्यक्षमा समेत सर्वसम्मति गर्ने अन्तिम प्रयास जारी रहेको बताएका हुन् । 

हामी सहमतिमै अध्यक्ष छान्ने अन्तिम प्रयासमा छौ । ती ब्रोकरले बिजशालासँग भने ः सहमति नभए आज ५ बजेदेखि अध्यक्ष पदका लागि मतदान सुरु हुनेछ । 

अध्यक्ष पदका लागि भरत रानाभाट र राजकुमार तिमिल्सनाले उम्मेद्वारी दर्ता गराएका छन् । दुवैले एक अर्काका लागि पद नछाड्ने अडान लिएपछि सहमति जुटाउन हम्मे हम्मे परिरहेको ब्रोकरहरुले बताएका छन् । मतदान भएको खण्डमा रानाभाटको पल्ला भारि रहेको दाबी गर्ने ब्रोकरहरु समेत धेरै नै भेटिएका छन् । 

अध्यक्षमा मतदान हुने अवस्था आउनसक्ने देखिए पनि अन्य पदमा भने सर्वसम्मति भइसकेको छ । 

अशोसिएसनको उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिव पदमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा गुणनिधि भुषाल निर्विरोध भइसहेका छन् । यस्तै, कार्यसमिति सदस्यहरुमा सञ्जिला अर्याल, फडिन्द्र ढकाल,सन्दिप चाचन, सुमन गौतम समेत निर्विरोध निर्वाचित भइसकेका छन् ।