– अर्जुन तिमिल्सिना

काठमाण्डौ । लगानीकर्ता सचेत नहुँदा क्लोजआउटमा परेर ठूलो रकम जरिवानाका रुपमा तिर्दै आएका छन्। 

चालु आर्थिक वर्षको पछिल्लो ८ महिनाको तथ्यांक केल्याउने हो भने पनि लगानीकर्ताहरुले क्लोजआउटमा परेर १८ करोड रुपैयाँभन्दा बढी रकम ब्रोकरहरुलाई तिरिसकेका छन्। कारोबार भएको सेयरको समयमै राफसाफ नहुँदा क्लोजआउटका नाममा लगानीकर्ताले यति ठूलो धनराशित जरिवानाबापत बुझाएका हुन्। 

चालु आर्थिक वर्षको ८ महिनामा लगानीकर्ताहरुले क्लोजआउट जरिवानाबापत १८ करोड ३२ लाख रुपैयाँ बढी ब्रोकरलाई तिरे पनि सो पैसा मर्कामा पर्ने (सेयर खरिद गरे पनि नपाउने) लगानीकर्ताहरुले पाएको कमैमात्र उदाहरण छन्। उक्त रकम लगानीकर्ताहरुबाट लिएर ब्रोकर स्वयंले आफ्नै खल्तीमा हाल्ने गरेको आरोप पनि लाग्दै आएको छ। 

यस विषयमा बिजशालासँगको कुराकानीमा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले अहिलेको क्लोजआउटबापत लिइने जरिवाना अवैज्ञानिक रहेको बताउँछन्। क्लोजआउटबापत परेको सेयर जरिवाना अक्सन मार्केट अथवा सेयर सापटी लिएर भए पनि पूर्ति गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ। ‘हाम्रो चाहना हो क्लाजआउटको समस्या पूर्ण रुपमा बन्द होस’, उनले भने, ‘किनकि भोलि विदेशी लगानीकर्ता नेपाल भित्रिने कुरा छ र यस्ता अवैज्ञानिक जरिवाना प्रणालीले उनीहरु बिच्किन सक्छन्।’

लगानीकर्ताहरु सचेत नहुँदा पनि क्लोजआउटको समस्या विकराल बन्दै गएको मैनालीको भनाइ छ। उनले भने, ‘सेयर किनेको पैसा समयमै भुक्तानी गर्ने हो भने क्लोजआउटको समस्या धेरै हदसम्म समाधान हुन सक्छ।’

सीडीएससीका अनुसार यदि कुनै बिक्रेताले आफ्नो खातामा नभएको सेयर बेचेमा अथवा समयमै र्इडीआईएस तथा डीआईएस ९सेयर ब्रोकरको पुल अकाउन्टमा ट्रान्सफर गर्ने काम० नगरिदिई सेयर हस्तान्तरण हुन नसकेको अवस्थामा कारोबार रकमको २० प्रतिशत क्लोजआउटको जरिवाना भनी लिने गरिन्छ । त्यसरी उठेको रकमको २५ प्रतिशत सरकारलाई करबापत तिर्नुपर्छ भने बाँकी रहेको रकममा ब्रोकरहरुले मनोमानी गरिरहेको आरोप लाग्दै आएको छ। 

नियमतः जसले सेयर किनेर पनि समयमा सेयर पाउँदैन, क्लोजआउटबापत आएको जरिवाना रकम क्षतिपूर्तिबापत उसलाई दिनुपर्छ । यसको अर्थ २५ प्रतिशत कर कटाएर बाँकी रकम मर्कामा पर्ने लगानीकर्ताले पाउनुपर्छ। 

बिजशालाकर्मीले क्लोजआउटका विषयमा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीसँग लिएको अन्तर्वार्ताको सारसंक्षेप भोलि सोमबार (चैत ९ गते) प्रकाशित हुनेछ।