नेपालमा स्तन क्यान्सरका बिरामीमध्ये छ जना पुरुषमा पनि स्तन क्यान्सर पाइएको छ । तथ्याङ्क अनुसार नेपालमा सबभन्दा कम उमेर २२ र बढी उमेर ९१ वर्षका महिलामा स्तन क्यान्सर पाइएको छ । स्तन क्यान्सर विश्वव्यापी समस्या भएकाले यसमाथि सबैभन्दा बढी अनुसन्धान भएको छ ।

जोखिम अवस्था

– ढिलो महिनावारी सुरु भएको तथा चाँडै  महिनावारी सुकेका महिलालाई ।
– बच्चा नजन्माएका महिलालाई ।
– स्तनपान नगराउनेलाई ।
– बच्चा ढिलो जन्माएका महिलालाई, विशेषगरी ३५ वर्ष नाघेकालाई ।
– धेरै वर्षसम्म परिवार नियोजनका औषधी र विभिन्न हार्मोन प्रयोग गर्नेलाई ।

लक्षण तथा चिह्न

– स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने गिर्खा आउनु ।
– दुबै स्तन समान नभई आकार वा बनौटमा फरक देखापर्नु ।
– स्तन सुन्निएर कडा भई दुख्न थाल्नु ।
– स्तनको मुन्टाबाट रगत अथवा पिप आउनु ।
– स्तनको मुन्टा सिधा बाहिर नफर्की दायाबायाँ वा घुमेर भित्र फर्कनु ।
– स्तनमा गिर्खा नदेखिएपनि काखीमा गिर्खा देखापर्नु ।

शङ्का लागे के गर्ने ?

बीस वर्षभन्दा माथिका प्रत्येक महिलाले स्तन क्यान्सर भए नभएको जाँच गर्नु जरुरी छ । महिनावारी नियमित भइराखेका महिलाले महिनावारी रोकिएको पाँच दिनपछि मात्र यो जाँच गर्नुपर्छ । किनकि महिनावारी भएको बेलामा स्तन अलिक सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ । सोका कारण स्तनमा भएको केही परिवर्तन थाहा पाउन मुश्किल हुन्छ ।

अरु क्यान्सरसरह स्तन क्यान्सर पनि सुरुमै उपचार गरे निको हुनसक्छ । सुरुमा उपचार गर्नका लागि स्तन क्यान्सरलाई सुरुको अवस्थामै पत्ता लगाउन सक्नुपर्छ । स्तनमा भएका गिर्खालाई सुरुमै थाहा पाउनसक्नुपर्छ । गिर्खा जति सानो भयो उपचारको परिणाम त्यति नै राम्रो हुने सम्भावना हुन्छ ।

स्रोत : नेपाल अर्बुद रोग निवारण संस्था